देश फर्कन हारगुहार गर्दै माल्दिभ्सका नेपाली

भन्छन्, ‘हामी आफ्नै खर्चमा आउँछौं, मात्र अनुमति दिइयोस् ।’ 

वैशाख ८, २०७७

देवेन्द्र भट्टराई

काठमाडौँ — कोरोना सन्त्रासका माझ माल्दिभ्समा कार्यरत सरोज चापागाई दुई दिनयता देश फर्कन हारगुहार मागिरहेका छन् । तर सुनुवाइ शून्य छ । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालदेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसम्म गुनासो गरिसके । आफ्नै खर्चमा आउन तयार रहेका उनले प्रवेश अनुमति मात्र चाहेका छन् । तर, सबैबाट ‘कुरा गरौंला’ भन्ने जवाफबाहेक केही पाएका छैनन् । 

‘म परराष्ट्र सचिवसँग कुरा गर्नेछु भनेर पूर्वप्रधानमन्त्रीले भन्नुभएको छ, आस गरिबसेका छौं,’ चापागाईंले भने, ‘यहाँबाट श्रीलंकन एयरले चार्टरमा काठमाडौं लगिदिने भनेको छ, परेको खर्च र सेवासर्त हामी बेहोर्नेछौं ।’ उनका अनुसार काठमाडौंसम्मको ५ घण्टाको फ्लाइट श्रीलंकन एयरले ४ सय ५० डलरमा लगिदिने भएको छ ।

यसअघि माल्दिभ्सबाट भुटान, इन्डोनेसिया, दक्षिण अफ्रिका, थाइल्यान्डले नागरिक फिर्ता लगिसके । भारतले पनि यही साता लैजान पहल गरिरहेको छ । ‘आश्चर्य त यहाँ छ, नेपालमा रहेका आफ्ना १८ नागरिक ल्याउन माल्दिभ्सले काठमाडौंमा जहाज पठाइसक्यो, भुटानले पनि २ नागरिक लैजान आइतबार जहाज पठायो,’ चापागाईं भन्छन्, ‘अहिले कम्तीमा ३ हजार नेपाली श्रमजीवी आफ्नै खर्चमा माल्दिभ्सबाट काठमाडौं फर्कन चाहन्छन्, यो कुराको सुनुवाइ किन नभएको हो ?’

राजधानी मालेनजिकै एक रिसोर्टमा ‘स्पिड बोट’मा काम गर्ने चापागाईंका अनुसार अहिलेसम्म त्यहाँ कार्यरत नेपालीलाई खान–बस्नको समस्या आइहालेको छैन । तर, सप्लाईमा ल्याइएका र मासिक २/३ सय डलर मात्रै कमाइ हुने ३ हजारभन्दा बढीको अवस्था दिनहुँ खस्कँदै छ । माल्दिभ्स मामला हेर्ने श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले आइतबारबाट त्यहाँका नेपालीलाई अनलाइनबाट ‘इमर्जेन्सी रजिस्ट्रेसन फर्म’ भर्ने व्यवस्था मिलाएको छ । तर त्यो उद्धार समन्वयका लागि नभई ‘लगत राख्ने’ उपाय मात्र हुन सक्ने भन्दै उनीहरू आश्वस्त हुन सकेका छैनन् ।

श्रीलंकामा नेपाली राजदूत नभएकाले माल्दिभ्समा कूटनीतिक तहबाट आफ्ना नागरिकको सेवासुविधा वा उद्धारबारे कुराकानीसमेत हुन सकिरहेको छैन । ‘हामीलाई पनि थाहा छ, नेपाल सरकारले आफैं उद्धार गर्न सक्दैन होला,’ राजधानी मालेबाट ४५ मिनेट हवाई उडानमा पुगिने मानाफारु टापुको रिसोर्टमा काम गर्ने मनोज पौडेल भन्छन्, ‘हामी आफैं घरफिर्ती खर्च गर्न तयार छौं, उता गएर जति लामो भए पनि क्वारेन्टाइनमा बस्न तयार छौं । उडान अनुमति मात्रै दिए हामी घर फर्कन सक्थ्यौं ।’

उनका अनुसार माल्दिभ्समा सुविधासम्पन्न १५० भन्दा बढी रिसोर्ट छन् । तिनमा काम गर्नेसँगै केही डक्टर र हाउसमेड  गरी १० हजारजति नेपाली त्यहाँ छन् । ‘भारत, माल्दिभ्स, साइप्रस, बंगलादेशलगायत मुलुकमा रहेका नेपाली विद्यार्थी र मजदुरको आवाज किन सुनुवाइमा नपरेको हो, बुझ्न सकिरहेको छैन,’ अन्तर्राष्ट्रिय आवागमनका अध्येता केशव बस्याल भन्छन्, ‘जबकि भुटान र माल्दिभ्सले आफ्ना केही नागरिक घर फिर्ता लैजान पहल गरिरहेका छन्, हामी भने पहल पनि गर्न नसक्ने अवस्थामा पुगेका हौं र ?’ जम्मा २ नागरिक लैजान भुटान सरकारले ध्वजावाहक विमान काठमाडौं पठाएपछि एउटा राज्यको सरोकार र उपस्थितिबारे संसारभर हारगुहार मागिरहेका नेपालीको ध्यानाकर्षण बढेको उनको धारणा छ ।

अरू बेला रेमिट्यान्स र बाहिरी विश्वका नेपालीबारे सरोकार राख्ने सरकारले अहिले विदेशमा दुई दर्जनभन्दा बढी नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा पनि ‘नेपालीको मृत्यु शून्य’ ठानिरहनु अनौठो रहेको बस्यालले बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समितिका अनुसार अहिलेसम्म बेलायतमा १७, अमेरिकामा ८, यूएईमा २ र आयरल्यान्डमा एक नेपालीको कोरोनाले निधन भइसकेको छ ।

— Baburam Bhattarai (@brb1954) April 20, 2020

यसैबीच पूर्वप्रधानमन्त्री भट्टराईले माल्दिभ्सका नेपालीबारे चासो देखाउँदै उनीहरूलाई देश फर्काउन पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘माल्दिभ्सका करिब २५ सय नेपालीमध्ये केही आफैं प्लेन चार्टर गरेर स्वदेश फर्कन र सबै स्वास्थ्य प्रोटोकल पालना गर्न तयार छन् भन्ने सूचना प्राप्त भएको छ । दूतावासको च्यानल ढिलो भयो भन्ने छ,’ उनले ट्विट गरेका छन्, ‘भुटानले समेत आफ्नो नागरिक लगेको छ भने हामीले किन नहुने ? सरकारको ध्यान पुगोस् ।’

यी पनि पढ्नुहाेस्ः

लकडाउनकोरोना भाइरस

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully