विराटनगर — हावाहुरीले मोरङको मिक्लाजुङस्थित क्वारेन्टाइन केन्द्रमा क्षति पुगेको छ । सोमबार बिहान आएको हावाहुरीले मिक्लाजुङ गाउँपालिका ४ हात्तीमारास्थित सेनाको सूर्यदल गणमा राखिएको क्वारेन्टाइनमा क्षति पुगेको हो ।
मोरङ प्रहरीका प्रवक्ता नायब उपरीक्षक मानबहादुर राईका अनुसार हुरीले क्वारेन्टाइनमा बनाइएका ४० वटा पाल उडाएर क्षति पुगेको छ । हुरीका कारण बिजुली र इन्टरनेट अवरुद्ध भएको छ । यसैगरी खानेपानीका फिल्टरहरु पनि क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी टाँडीबाट सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पठाएर बुझ्ने र त्यहाँको अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
