सल्यानमा ऱ्यापिड टेस्ट पुन: सुरु

वैशाख ८, २०७७

विप्लव महर्जन

सल्यान — किट अभावमा सल्यानमा स्थगित गरिएको ऱ्यापिड टेस्ट सोमबारदेखि सुचारु गरिएको छ । प्रदेश सरकार तथा स्वास्थ्य निर्देशनालयले आरडीटी किट पठाएपछि सोमबारदेखि सल्यानमा ऱ्यापिड टेस्ट सञ्चालनमा आएको हो ।

जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा ऱ्यापिड टेस्ट भए पनि ४ स्थानीय तहमा भने किट अभावमा परीक्षण स्थगित गरिएको थियो । सोमबार शारदा र बाग्चौर नगरपालिकामा परीक्षण गरिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढामगरले जानकारी दिए । प्रदेश सरकार तथा निर्देशनालयले चार सय थान आरडीटी किट पठाएको उनले जानकारी दिए ।

चैत १ गतेपछि भारत तथा विदेशबाट आएकाहरुमध्ये शारदा नगरपालिकामा एक सय सात र बाग्चौर नगरपालिकामा एक सय ५० गरी दुई सय ५७ जना छन् । मंगलबार बन्गाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकामा परीक्षण गरिने बताइएको छ ।

तर प्रदेश सरकार र स्वास्थ्य निर्देशनालय सुर्खेतले पठाएको चार सय थान किट पर्याप्त नभएकाले पुन: माग गरिएको उनले जानकारी गराए । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार भारत र विदेशबाट झन्डै नौ सय जना सल्यानमा भित्रिएका छन् । 

कोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully