बाच्छाबाच्छीलाई गोठाटारमा व्यवस्थापन गरिँदै

वैशाख ८, २०७७

गणेश राई

काठमाडौँ — काठमाडौं उपत्यकामा गोरु नारेर हलो जोतिँदैन । उपत्यका वरपरका कृषकले दूधका निम्ति गाई पाल्ने गर्छन् । गाईले बाच्छी ब्याएमा ठिकै ठान्छन्, बाच्छा पाएमा बढीमा तीन महिना माउका साथमा राख्छन् । त्यसपछि रातिको समय पारेर आफ्नो गोठभन्दा धेरै टाढा खोला, जंगलमा लगेर छाडिदिन्छन् । तिनै बाच्छा राजधानी सहरका बेवारिसे छाडा पशु हुन् । 

त्यसरी छाडिएका पशु अकालमा मर्ने गरेको छन् । सात वर्षदेखि बागमती सफाइ तथा छाडा पशु संरक्षण अभियानमा संलग्न उत्तम पुडासैनी छाडा पशु मर्नु र मारिनुका विभिन्न कारण पहिल्याएको जनाएका छन् । ‘त्यसरी छाडा छाडिएका बाच्छा माउबाट बिछोडिएर कराउँदा कराउँदै खान नपाएर मरेको पाएका छौं,’ गाईपालकहरू आफ्नो फाइदामात्र खोज्दा सर्वसाधारणले समेत छाडा चौपायाबाट सास्ती बेहोर्नु परेको उल्लेख गर्दै उनले भने, ‘कमजोर बाच्छालाई हिंस्रक कुकुरहरूले मार्छन् । कतिपय सडकमा गाडीले किच्चिएर मारिन्छन् । खानाको खोजीमा रंगीविरंगी प्लास्टिक खान्छन् । प्लास्टिक पाचन नहुँदा एक–दुई महिनाभित्र मर्छन् ।’ 

लकडाउनको बेला काठमाडौं उपत्यकामा छाडा बाच्छाको व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । बन्दाबन्दीले गर्दा यतिखेर काठमाडौंका विभिन्न ठाउँबाट छाडा पशुहरू बटुल्ने काम भइरहेको छ । उक्त कार्यमा पशुपति क्षेत्र विकास कोष र छाडा गाईबाच्छा संरक्षण अभियानमा संलग्न संस्था जुटेका छन् । काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेको धुलिखेल र बनेपाबाट १ सय ४ वटा छाडा बाच्छा संकलन गरेको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जनाएका छन् । 

‘सडकबाट उठाइएकामध्ये ६ वटा बाच्छी छन्,’ उपत्यकाको काँठ क्षेत्रबाट सहरतिर बाच्छा छाडा छाड्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, ‘यसरी जथाभावी छाडा छोड्न नहुने र छोड्नेलाई कारबाहीका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराउन थालेका छौं ।’ पालिकाहरूले छाडा पशु चौपायालाई नियन्त्रण लिएर छुट्टै ठाउँ तथा घाँसपानीको व्यवस्थापन गर्न/गराउनु आवश्यक रहेको उनले बताए । 

पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपालका अध्यक्ष विकेश श्रेष्ठले २०४९ सालदेखि स्वयंसवेकका रूपमा निरन्तर खटिँदै आएको बताए । ‘सडकमा अलपत्र परेका गाईवस्तुको उद्धार गर्दैआएका छौं,’ उनले भने, ‘लकडाउन जारी भएपछि भोक प्यासले छटपटिरहेका पशुपन्छीहरुलाई खानपान दिँदै आएका छौं । अहिले छाडा गाईवस्तु उद्धार कार्यमा पशुपति क्षेत्र विकास कोषको अग्रसरताले सहज भएको छ ।’ त्यसरी उद्धार गरिएका बाच्छाबाच्छीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तर–पूर्वी वाग्मती नदी किनार गौचरनमा राखिएका छन् । उक्त स्थानमा यसअघि संकलन गरिएका ७० वटा बाच्छा छन् । 

गोठाटारमा गोठ

वाग्मती नदी किनार गौचरनमा ठाउँको अभाव भएपछि पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा ती बाच्छाबान्छीलाई राखिने भएको छ । त्यहाँ कोषको पाँच सय ३४ रोपनी जग्गा रहेको छ । त्यसमध्ये एक सय रोपनीमा गौशाला निर्माण थालिएको सदस्यसचिव ढकालले जनाए । सो जग्गामा अस्थायी टहरा निर्माण सुरु भएको छ । 

गते जेठ र लकडाउन सुरु भए दोस्रो सातायता संकलन गरिएका बाच्छाबाच्छीको संख्या १ सय ७४ पुगेको छ । सडकबाट उठाइएका ती बाच्छाबाच्छीलाई स्थानीय चौरमा चर्न दिने गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुअघि सो ठाउँलाई ‘गौरचन’ भनेर चिनिन्थ्यो । विमानस्थल बनेपछि सर्वसाधारणलाई गौरचनबाट बन्चित गरिएको थियो । चैतको घाम, हुरी बतास, पानीबाट जोगाउन नयाँ व्यवस्था गरिएको हो ।

‘अहिले जे जति बाच्छाबाच्छी संकलन गरिएका छन्, त्यसको स्याहार गर्ने र तिनको गोबरबाट ब्रिकेट उत्पादन गर्ने विज्ञहरुसित सल्लाह लिएका छौं,’ सदस्यसचिव ढकालले भने, ‘र आगामी दिनमा गाई फार्म सञ्चालक कृषकलाई बाच्छाबाच्छी छाडा छोड्न नदिन सम्बन्धित पालिकासित समन्वय गरी त्यसको तथ्यांक संकलन तथा नियमित अनुगमन गर्ने योजना अघि बढाएका छौं ।’

अहिले बाच्छाबाच्छीलाई दानपानी खुवाउन दैनिक २० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । ‘दैनिक एउटा बाच्छालाई एक सय रुपैयाँ बराबरको औषधि खर्च हुने गरेको छ,’ छाडा पशु संरक्षण अभियानमा संलग्न पुडासैनीले भने, ‘सुरुमा आफ्नै खल्तीबाट खर्च गर्‍यौं । अहिलेचाहिं दयालुजनहरूले आफ्नो जन्मदिन, शुभकार्यको अवसर पारेर दाना, पिठोजस्ता सामाग्री सहयोग गर्दैआउनु भएको छ ।’ ती संरक्षित पशुको स्याहार सुसारमा बिहान, दिउँसो, बेलुका आलोपालो स्वयंसेवक खटिने गरेका छन् । 

लकडाउन

गणेश

Link copied successfully