अलपत्र परेकाहरु बारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

वैशाख ५, २०७७

मातृका दाहाल

काठमाडौँ — सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ।

यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । समितिमा सहभागी एक मन्त्रीले अलपत्र परेका सर्वसाधारणका लागि विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्‍याइदिनेमध्ये एक निर्णय गर्न लागिएको जानकारी दिए । 

समितिमा छलफल भएपछि समितिका सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीसँगको छलफलपछि निर्णय सार्वजनिक गरिने बताइएको छ । 

लकडाउन लम्बिएपछि उपत्यकासहित देशभर रोजगारीका क्रममा रहेका मजदुर तथा ज्यालादारी काम ठप्प भएपछि घरतर्फ निस्किएका उनीहरुलाई प्रशासनले रोकेपछि अलपत्र परेका छन् । 

‘घर जान निस्किएका सर्वसाधारणलाई एकपटकका लागि गन्‍तव्यसम्म पुर्‍याइदिने वा अलपत्र परेकै स्थान आसपास दैनिक गुजाराको व्यवस्था गर्नेमध्ये एक विकल्पमा निर्णय हुन्छ,’ ती मन्त्रीले भने, ‘सरकार समस्या समाधान गर्नेतिरै छ ।’

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully