कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोठाबाटै कक्षा

लकडाउनमा शैक्षिक संस्थाले जुम, माइक्रोसफ्ट टिम्स, गुगल मिटलगायतबाट विद्यार्थीलाई पढाउन थालेका छन् । अनलाइनमा पनि कक्षामा जस्तै शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया सहज हुने गरेको छ
मकर श्रेष्ठ

काठमाडौँ — पाटन बाहुमुखी क्याम्पसका एसोसिएटेट प्राध्यापक देवनारायण यादवको मोबाइलमा आइतबार बिहान साढे ११ बजे आफन्तको फोन आयो । उनले आफू कक्षामा भएकाले पछि गर्छु भन्दै फोन काटे ।

कोठाबाटै कक्षा

उनी ब्यालचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) पहिलो सेमेस्टरका विद्यार्थीलाई कक्षा लिइरहेका थिए । ३६ मध्ये उनको कक्षामा ३२ जना सहभागी भए । सोमबार भने नयाँ वर्षको बिदा दिए ।

यादवले कलेजमै पुगेर कक्षा लिएका होइनन् । अनलाइनबाट पढाएका हुन् । यादवले जुम एप्समा ११ बजे कक्षा सुरु गरे । ३० जना विद्यार्थी कक्षा सुरु हुनेबित्तिकै सहभागी भए । कलेजमा उपस्थित भएजस्तै यादवले पढाइ सुरु हुुनुअघि हाजिर गरे अनि पढाइ सुरु गरे । यादवले कलेजमा जस्तै विद्यार्थीलाई पढाउन पावर प्वाइन्ट बनाएका थिए । जुन पावर प्वाइन्ट विद्यार्थीको मोबाइल, ल्यापटप र कम्प्युटरको स्क्रिनमा पनि देखिन्थ्यो । आइतबारको कक्षामा उनले पाठ ६ को डाटाबेस सिस्टम पढाए । पढाइ सुरु गरेको केही बेरपछि दुई जना विद्यार्थी थपिए । ढिला आएकै कारण उनीहरूले हाजिर गरेनन् । उनले भने, ‘बीच बीचमा साथीहरू आइरहेका छन् । हामीले के पढ्दै छौं, यही स्लाइड हेर्नु है ।’

मंसिरबाट हुनुपर्ने बीआईटीको कक्षा यस वर्ष माघबाट मात्रै सुरु गरेपछि कोर्स अधुरै थियो । कोरोना संक्रमणको हल्ला चले पनि लकडाउनको अघिल्लो दिनसम्म कलेजमा पढाइ भएको यादवले बताए । ‘लकडाउनको एक सातासम्म पढाइबारे सोचेनौं,’ उनले भने, ‘कोर्स पूरा गर्न पनि हामीले नियमित पढाइ सुरु गर्‍यौं ।’ विद्यार्थी पनि कलेजमा भन्दा बढी उत्साहित भएको उनले बताए । ‘यसरी पढ्दा पो रमाइलो लाग्यो, कलेजमा गए जस्तै बुझिरहेका छौं,’ विद्यार्थी राहुल शर्माले भने ।

कलेजमा जस्तै सामुदायिक विद्यालयमा पनि अनलाइन पढाइ सुरु गर्न थालिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकाले अनलाइनबाट पढाउन निर्देशन दिइसकेको छ । सैनामैनाको सरस्वती माध्यमिक विद्यालयमा एसईई परीक्षा रोकिएपछि अनलाइनबाट नियमित पढाइ भइरहेको गणित शिक्षक लेखनाथ पौडेलले बताए । ‘नगरपालिकाले नै अनलाइनबाट पढाउन निर्देशन दिएको छ । हामीले गणितको कक्षा चलाइरहेका छौं,’ उनले भने, ‘सुरुमा भएर होला प्रभावकारी हुन सकेको छैन ।’

भक्तपुरको अरनिको माध्यमिक विद्यालयले पनि कक्षा ११ र १२ मा अंग्रेजी र आमसञ्चार विषयको जुम एप्सबाट पढाइ सुरु गरेको छ । गाउँमा भएका विद्यार्थी पनि काठमाडौंमा रहेका शिक्षकले पठाएको कक्षामा सहभागी भइरहेको प्रधानाध्यापक लेखनाथ रिमालले बताए । ‘कक्षामा भन्दा अनलाइनबाट पढ्दा रमाइलो लाग्यो,’ १२ कक्षाकी विद्यार्थी अस्मिता ढुंगेलले भनिन् । भक्तपुर निस्टले पनि एसईई तयारीका विद्यार्थीलाई जुम एप्सबाट पढाइरहेको छ ।

लकडाउनले शैक्षिक संस्था बन्द भएपछि जुम, माइक्रोसफ्ट टिम्स, गुगल मिटलगायतबाट विद्यार्थीलाई पढाउन थालेका छन् । अनलाइनबाट पढाउँदा पनि कक्षामा जस्तै शिक्षक र विद्यार्थीले अन्तरक्रिया गर्न सकिने सुविधा रहेको विज्ञहरू बताउँछन् । ‘टिभी र रेडियोमा एकहोरो हुन्छ, अनलाइनबाट पढाउँदा नबुझेको कुरा तुरुन्तै सोध्न पाइन्छ । विद्याथीलाई बुझ्यो कि बुझेन सोध्न सकिन्छ,’ पाटन क्याम्पसका बीआईटी कोअर्डिनेटरसमेत रहेका यादवले भने, ‘लकडाउन भनेर घरमा कोचिएर बस्नु पर्दैन । नियमित पढाउन थाले हुन्छ ।’

जाउलाखेलको बेदास कलेजले आफ्नै सफ्टवेयर विकास गरेर पढाउन थालेको छ । कलेजका सीईओ कृष्णहरि पाण्डेले एम परसेप्ट क्लासरुम सफ्टवेयरको विकास गरेको बताए । ‘यही सफ्टवेयरका माध्यमबाट हामीले हाम्रा विद्यार्थीलाई लकडाउनका समयमा पनि नियमित रूपमा अध्ययन अध्यापन गराउँदै आएका छौं,’ उनले भने, ‘अडियो र भिडियो कन्फरेन्स, पठनपाठनका समयमा स्क्रिन सेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरलगायत सुविधा छन् ।’

समूहगत शिक्षा अर्थात् ग्रुप एजुकेसन प्रमोसन, ह्वाइटबोर्ड र कस्टम ह्वाइटबोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीका लागि व्यक्तिगत तथा सामूहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्ममूल्यांकन तथा सुरक्षा र गोपनीयतालगायत सुविधा रहेको उनले बताए । यसमार्फत अध्ययन गर्ने विद्यार्थीले कक्षाकोठामै बसेको अनुभव गर्ने पाण्डेले बताए । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आईडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

लकडाउनका बेला जुन प्रविधि सहज हुन्छ, त्यसको प्रयोगबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने शिक्षाविद्हरू बताउँछन् । ‘मानव सभ्यता विकासदेखि यस्ता समस्या आइरहेका छन्, अवस्थाअनुसार पढाइलाई निरन्तरता दिन सक्नुपर्छ,’ शिक्षाविद् बालचन्द्र लुइँटेलले भने, ‘सामान्य अवस्थाकै जस्तो गुणस्तर ल्याउँछु भन्ने सोचेर होइन कि पढाइलाई निरन्तरता दिन्छु भन्ने सोच्नुपर्छ ।’ सरकार र अन्य निकायले अब के गर्ने भन्ने उपयुक्त विधि अघि सार्ने संस्थागत निर्णय नगरे पनि केही शिक्षक र प्राध्यापकको पहलमा लकडाउनमा पनि भर्चुअल कक्षा सुरु भइरहेको उनले बताए ।

लकडाउन हटेपछि पनि विगतको जस्तो परीक्षा लिने, विद्यालय र कलेजमा गएर पढाउने अवस्था नहुने भएकाले भर्चुअल रिमोट टिचिङ, एफएम, टिभीबाट पढाउन सुरु गर्नुपर्ने उनले बताए । सरकारले विपत्का बेला कसरी पढाउने भन्ने विधि र तरिकाको निर्णय गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । विकसित मुलुकमा लकडाउन भएलगत्तै शिक्षा र सरोकार राख्ने मन्त्रालय मातहतका निकायले योजना बनाइसकेका छन् ।

‘वैकल्पिक माध्यमबाट कसरी पढाउने भन्ने अध्ययन गर्न समिति बनाइसकेका छौं,’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने । मन्त्रालयले खुला विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा समिति बनाएको हो ।

प्रकाशित : वैशाख ३, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?