परीक्षणबिनै क्‍वारेन्टाइनबाट घर

केही जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुलाई परीक्षणै नगरी घर पठाइएको छ भने केहीमा आरडीटी किटबाट परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्दै पठाउन थालिएको छ

वैशाख ३, २०७७

प्रदेश ब्युरो

काठमाडौँ — प्रदेश ५ का विभिन्न स्थानका क्वारेन्टाइनबाट स्वास्थ्य परीक्षण नै नगराई धमाधम घर पठाउन थालिएको छ । क्वारेन्टाइन अवधि पूरा गरेर परीक्षणबिना नै गाउँ पुगेकाहरु भने अहिले पनि कोरोनाको त्रासमै छन् । गाउँपालिकाको क्वारेन्टाइनमा १५ दिन बसेर घर फर्केका गुल्मीको मालिका–६ अर्जैका लक्ष्मण अधिकारीले परीक्षण नभएकाले अहिले पनि डर रहेको बताए । उनी भारतको दिल्लीबाट चैत ११ गते घर पुगेका थिए ।

‘मेरो त होम क्वारेन्टाइन पनि सकियो,’ उनले फोनमा भने, ‘तर पनि मन हलुंगो भएको छैन ।’ परीक्षण गर्न पाए ढुक्क हुने भए पनि गाउँमा सुविधा नभएको र सहरमा जान साधन नभएको उनले बताए । उनलाई मालिका गाउँपालिकाको क्वारेन्टाइनमा १५ दिन राखेर चैत २६ गते छोडिएको थियो । एक साता होम क्वारेन्टाइनमा बस्न भनिएको थियो । त्यो पनि मंगलबार नै पूरा भएको उनले बताए ।

अर्जै स्वास्थ केन्द्रका प्रमुख खिमराज पोखरेलले भने गाउँमा ज्वरो, रुघा, खोकीका लक्षण देखिए मात्र परीक्षण गर्ने गरेको बताए । ‘सोमबार किट आएको छ,’ उनले भने, ‘अब क्वारेन्टाइनमा बसेकाको पनि परीक्षण गर्ने कि भन्ने छलफल हुँदै छ तर टुंगो लागेको छैन ।’

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको दुर्गादत्त माविस्थित क्वारेन्टाइनमा सुरुमा ५४ जना थिए । तीमध्ये २९ जना परीक्षण नगरी घर फर्केका छन् । घर फर्कनेमा रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, बाँके र बर्दियाका थिए । उनीहरूलाई पनि स्थानीय तहसँग समन्वय गरेर मात्र पठाइएको क्वारेन्टाइनमा व्यवस्थापन सहयोग गरिरहेको स्थानीय नवज्योति क्लबका अध्यक्ष दिपेश कँडेलले बताए । अहिले २१ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो चार दिनमा १३ जनाको परीक्षण गरिएको र नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको क्वारेन्टाइनका स्वास्थ्य इन्चार्ज केशव भट्टराईले बताए । ‘पहिला परीक्षणको व्यवस्था थिएन, १४ दिन पुगेपछि सबै घर गए,’ उनले भने, ‘अहिले बल्ल आरडीटी सुरु भएकाले परीक्षण गरेर नेगेटिभ आएकालाई मात्र घर पठाउने गरेका छौं ।’ १३ मध्ये १० जनाको आरडीटी र तीन जनाको पीसीआर परीक्षण गरिएको उनले बताए । क्वारेन्टाइनबाट तीन जनालाई बुटवल कोरोना अस्थायी अस्पतालमा रिफर गरिएको छ । पीपीई अभावमा एकपटकमा पाँच जनाको टोली बनाएर परीक्षण गर्ने गरेकाले तीन दिनको फरकमा परीक्षण गर्ने गरिएको उनले बताए ।

रूपन्देहीकै शुद्धोधनमा रहेको क्वारेन्टाइनबाट पनि १५ जना घर फर्केका छन् । तीमध्ये पाँच जना परीक्षण गरेर र १० जना परीक्षणबिनै घर फर्केका हुन् । त्यहाँ रहेका अधिकांश भारतबाट फर्केका नेपाली थिए । त्यस्तै गुल्मीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १० जना पनि १५ दिनको बसाइ पूरा गरेर घर फर्केका छन् । उनीहरू सबै जना चैत २६ गते नै घर फर्केको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्तराज भुसालले बताए । ‘सोमबार बल्ल किट आएको छ,’ उनले भने, ‘त्यसभन्दा पहिला नै १५ दिन पुगेपछि राख्न सकिएन ।’ घरमै निगरानीमा रहने गरी फिर्ता पठाइएको उनले बताए ।

प्रदेशभरमा अहिलेसम्म ८ सय ८५ जनाको आरडीटी किट्सबाट परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि ती सबै घर फर्केका छन् । प्रदेशका ३ सय १७ क्वारेन्टाइनमा आइतबारसम्म २ हजार २६ जना थिए । त्यो संख्या सोमबारसम्ममा घटेर १ हजार ८ सय ४२ मा झरेको छ । मंगलबारसम्म थप २ सय ४० बढीको आरडीटी परीक्षण गरिएको प्रदेशका जनस्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए । ‘जोखिम कम देखिने अवस्थामा मात्र क्वारेन्टाइनबाट छोड्ने गरेका छौं,’ उनले भने, ‘स्थानीय सरकारको प्रत्यक्ष निगरानीमा उनीहरूलाई थप एक साता होम क्वारेन्टाइनमै राखिएको हो ।’ त्यसरी गएकाबाट ठूलो जोखिम नरहेको उनले बताए । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबारसम्ममा प्रदेशका सबै जिल्लाबाट दुई सय जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेसन बेडमा १२ जनाको उपचार भइरहेको छ ।

आरडीटीप्रति अविश्वास

पाल्पाको रामपुरका कपिल रिजाल भारतको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका हुन् । उनी एक रात बगनासकाली गाउँपालिकाको ग्राम्य मावि गाप्तुङमा बसे । त्यसपछि १६ दिनसम्म रामपुर नगरपालिकाले निर्माण गरेको बालकल्याण प्राविमा बसेका हुन् । केही दिनअघि आरडीटी किटमार्फतको परीक्षणमा नेगेटिभ देखियो । परीक्षणमा नेगेटिभ देखिएपछि नगर प्रमुख रमणबहादुर थापाले क्वारेन्टाइनमा बसेका ९ जनालाई घर जान अनुमति दिँदा रिजाल पनि गए । तर उनी ढुक्क भने छैनन् । ‘आरडीटी किटका विषयमा उठेका प्रश्नले गर्दा हामी पनि ढुक्क छैनौं,’ उनले भने, ‘यसको विश्वसनीयतामा प्रश्न जन्मेको छ ।’ उनले एक सातासम्म परिवारसँग लसपस नगरेको बताए । आफैं पनि जोगिएर बस्नुको विकल्प नरहेको उनले बताए ।

रामपुरकै बलराम सुनार पनि १६ दिन क्वारेन्टाइनमा बसेर घर गए । तर, उनी अझै पनि ढुक्क भने छैनन् । महाराष्ट्र मुम्बईबाट गौरीफन्टा नाका हुँदै उनी नेपाल भित्रिएका हुन् । धनगढीबाट प्रदेश सरकारले बस व्यवस्थापन गरी तानसेनको बर्तुङ ल्याएर छाडेका थिए । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत परीक्षणमा कोभिड–१९ को नतिजा नेगेटिभ देखिएपछि उनी घर जान पाएका हुन् । तर पनि उनलाई घर गएर साता दिन अलग्गै बस्नुपर्ने भन्ने जानकारी छ । ‘म मेरो परिवार, आफैं र समाजलाई सुरक्षित राख्का लागि अझै एक साता घरमा पनि सबैसँग लसपस गर्दिनँ,’ घर जाने बेलामा उनले भने, ‘जसले गर्दा कोरोना भाइरसबाट जोगाउन सकूँ भन्ने लाग्छ ।’ रामपुरका नगर प्रमुख थापाले सबैलाई एक सातासम्म परिवारसँग सँगै नबस्न आग्रह गरेको बताए ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले आरडीटी किटका बारेमा बाहिर आएका समाचारका कारण क्वारेन्टाइनमा बसेर घर फर्केकाहरू अझै त्रसित छन् । ‘जुन हिसाबले घर जान भनिएको छ,’ उनले भने, ‘तर त्यसपछि पनि एक सातासम्म अलग्गै बस्न आग्रह गर्दै आइएको छ ।’ स्वास्थ्यकर्मी तथा पूर्वखोलाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले आरडीटी किटले नेगेटिभ देखाए पनि क्वारेन्टाइनबाट घर गएकाहरूका विषयमा जानकारी लिने गरेको बताए । उनले जसबाट उनीहरू परिवारसँग अलग्गै बस्न भनिएको बताए ।

स्वास्थ्य कार्यालयका प्रयोगशाला शाखा प्रमुख मधुसूदन भट्टराईले क्वारेन्टाइनमा बस्नेलाई घरमा जान भने पनि उनीहरूलाई अलग्गै बस्न आग्रह गरेको बताए । ‘क्वारेन्टाइनमा बसेकालाई घरमा पठाउन गरिएको परीक्षणमा नेगेटिभ देखिएको छ,’ उनले भने, ‘तर विश्वास गरिहाल्न नहुने र एक सातासम्म अलग नै बस्ने भनेका छौं ।’ जिल्लामा आरडीटी किटमार्फत ४३ जनाको परीक्षण गरिएको थियो । रैनादेवी छहराका १०, रिब्दीकोटकाा ३, रामपुरका ९ र पूर्वखोलाका २१ जनाको किटमार्फत परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

पहिलो चरणमा र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत क्वारेन्टाइनमा बसेका बाहेकका व्यक्तिहरूको भने नमुना नलिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । यसअघि पाल्पा अस्पतालबाट एक, मिसन अस्पतालबाट एक र लुम्बिनी मेडिकल कलेजबाट चार जनाको थ्रोट स्वाब परीक्षणमा पनि नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । चैत १ गतेपछि जिल्लामा १ हजार बढी भारतबाट भित्रिएपछि ग्रामीण क्षेत्रमा सन्त्रास फैलिएको थियो ।

सातादेखि रित्तै

रुकुम पूर्वमा ७४ जना राख्न मिल्ने गरी क्वारेन्टाइन बनाइएको छ । तीन स्थानीय तथा जिल्ला प्रहरी कार्यालयमा रहेका ती चार क्वारेन्टाइन सातायता खाली छन् । अरू तीनवटा क्वारेन्टाइन त बनेदेखि नै खाली छन् । सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी माविमा बनाएको क्वारेन्टाइन चैत २६ गते खाली भएको थियो । त्यसयता न त्यहाँ कोही छन् न अरू तीन क्वारेन्टाइनमा कोही छन् । सिस्ने गाउँपालिकाले ४०, पुथाउत्तरगंगा गाउँपालिकाले २०, भूमे गाउँपालिकाले ८ र जिल्ला प्रहरी कार्यालयले ६ बेडको क्वारेन्टाइन बनाएका छन् । सिस्ने गाउँपालिकाको क्वारेन्टाइनबाट दुईपटक गरी ३६ जना घर फर्किएका छन् । चैत २६ गते ३१ र त्यस अघि ५ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् ।

जिल्लाका सबै क्वारेन्टाइन खाली भएका छन् । क्वारेन्टाइनमा रहेकाहरू भारत तथा अन्य तेस्रो मुलुकबाट आएकाहरू १४ दिन पुगेको भन्दै क्वारेन्टाइन छाडेर घर गएका हुन् । स्थानीय तह, जिल्ला प्रशासन, प्रहरीले १४ दिन पुगेकाहरूलाई घर पठाइएको जनाएको छ । क्वारेन्टाइन सुरु भएदेखि यहाँ बसेकाहरूलाई फरकफरक समयमा घर पठाइएको हो । भारत र अन्य मुलुकबाट आएकाहरूमा कोभिड–१९ हुन सक्न भन्दै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । दुई हप्तासम्म पनि क्वारेन्टाइनमा बसेकाहरूसँग कुनै लक्षण नदेखिएपछि उनीहरूलाई घर पठाइएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले संक्रमण हुन सक्ने आशंकामा क्वारेन्टाइनमा रहेकाहरूमा दुई हप्तासम्म कुनै पनि लक्षण नदेखिएपछि घर पठाइएको बताए ।

आरडीटीपछि क्वारेन्टाइनबाट घर

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि झापाका दुई क्वारेन्टाइनमा १४ दिन बसेकालाई घर पठाउन थालिएको छ । मंगलबार बिहान १७ जनालाई विभिन्न जिल्लास्थित आ–आफ्ना घर पठाइएको भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

लकडाउनमा भारतबाट हिँडेर पूर्वी नाका काँकडभिट्टा र भद्रपुर हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको थियो । १७ जना सबैलाई भद्रपुर नगरपालिका–१०, कलवलगुडीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

घर पठाइएकामा सिरहाको धनगढी नगरपालिकाका ६, गोलबजार नगरपालिकाका दुई र बरियापट्टी गाउँपालिकाका एक जना छन् । उदयपुरको चौदण्डी नगरपालिकाका तीन, त्रियुगा नगरपालिकाका दुई र ताप्ले नगरपालिकाका एक जना छन् । खोटाङको रूपाकोट नगरपालिका र सप्तरीको महुली नगरपालिकाका एक/एक जना छन् । उनीहरूलाई बसमार्फत सप्तरी, सिरहा र उदयपुरसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत युवराज कट्टेलले बताए ।

मंगलबार साँझसम्म थप १५ जनालाई क्वारेन्टाइनबाट घर पठाउने तयारी भइरहेको उनले बताए । कलवलगुडी र झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा १४ दिन बिताएका सुर्खेतका १०, कैलालीका तीन र दैलेखका दुई जनालाई घर पठाउने तयारी गरिएको हो । उनीहरू सबैको आरडीटी परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएको श्रेष्ठले बताए । घर पठाएका सबैलाई सात दिन सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

१८८ कै रिपोर्ट नेगेटिभ, क्वारेन्टाइन खाली

सुर्खेतको खुलामञ्चस्थित क्वारेन्टाइनमा रहेका पाँच जनाको थ्रोट स्वाब नमुना परीक्षण रिपोर्ट नेगेटिभ पाइएको छ । यसअघि एक सय ८३ जनाको स्वाबको परीक्षण गर्दा कोरोना नदेखिएपछि सबै आ–आफ्नो घर गइसकेका छन् ।

क्वारेन्टाइनको कमान्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले मंगलबार काठमाडौंबाट पाँच जनाको स्वाब परीक्षणको रिपोर्ट आएको बताए । उनीहरूमा कोरोना नदेखिएपछि दैलेख घर भएका उनीहरू सबैलाई पठाउने तयारी भइरहेको जनाए । सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले बनाएको चार सय बेड क्षमताको उक्त क्वारेन्टाइन अब खाली भएको छ । भारतबाट घर फर्किने क्रममा रहेका दैलेख, कालीकोट, अछाम, सुर्खेत, जाजरकोट र जुम्लाका एक सय ८८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

मस्जिदमा १२ भारतीय, सबैको स्वाब संकलन

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा १२ भारतीय भेटिएका छन् । उनीहरू लकडाउनअघि नै नेपाल आएको बताइए पनि यसबीचमै चोर बाटो हुँदै भुल्के मस्जिदमा आएको स्थानीयले दाबी गरेका छन् । उनीहरूसँगै चार नेपाली पनि छन् ।

तीन दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले मस्जिदको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मस्जिदमा भेटिएका सबैलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए । भारतीयसँगै बाहिरबाटै आएका चार नेपाली पनि मस्जिदभित्रै लुकेर बसेको पाइएको उनले जानकारी दिए ।

मस्जिदमा बस्दै आएका सबै १६ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइनेछ । उनीहरू विराटनगरबाट सप्तरी हुँदै यहाँ आएको प्रारम्भिक सोधपुछमा खुलेको प्रजिअ पहाडीको भनाइ छ ।

१५ जनाको स्वाब टेकु पठाइयो

नुवाकोटमा मंगलबार चार स्थानीय तहमा आरडीटी गरिएको छ । पञ्चकन्या, शिवपुरी, लिखु, र ककनी गाउँपालिकामा गाउँमै स्वास्थ्य टोली पठाएर आरडीटी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पहिलो चरणमा ६ वटा स्थानीय तहमा शनिबारदेखि परीक्षण थालिएको थियो । हालसम्म किस्पाङ गाउँपालिकामा १५, तादीमा १३, दुप्चेश्वरमा १०, विदुर नगरमा १४, बेलकोटगढीमा ५४ र तारकेश्वरमा ७९ जनाको आरडिटी गरिएको छ । ‘परीक्षणमा कसैमा संक्रमण भएको पाइएन,’ स्वास्थ्य कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले भने ।

कार्यालयले जिल्लामा एक सय ८५ जनाको परीक्षण गरेको जनाएको छ । त्यसमध्ये १५ जनाको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशाला पठाइएको छ । बुधबार सूर्यगढी र म्यागङ गाउँपालिकामा परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

-घनश्याम गौतम (रूपन्देही), माधव अर्याल (पाल्पा), हरि गौतम (रुकुमपूर्व), अर्जुन राजवंशी (बिर्तामोड), कलेन्द्र सेजुवाल (सुर्खेत), डिल्लीराम खतिवडा (उदयपुर), कृष्ण थापा (नुवाकोट) र भवानी भट्ट (कञ्चनपुर)

प्रदेश

Link copied successfully