लकडाउनमा कतै सडक मर्मत, कतै कालोपत्र

लकडाउनकै बेला कान्ति लोकपथ दुई किमि पिच

वैशाख ३, २०७७

विमल खतिवडा

काठमाडौँ — लकडाउनले जनजीवन ठप्प पारे पनि सडक कालोपत्रे र मर्मतको काम भने छिटफुट चलिरहेको छ । कतै भने पक्की पुल ढलानको काम जारी छ । लकडाउनयता मात्र कान्ति लोकपथ दुई किमि कालोपत्रे भइसकेको आयोजनाले जानकारी दिएको छ । अहिले लोकपथमा पहाड कटिङ र कालोपत्रेको काम जारी छ ।

ललितपुरतर्फ कटिङ र मकवानपुरतर्फ कालोपत्रेको काम भइरहेको कान्ति लोकपथ सडक योजनाका योजना प्रमुख ज्ञानेन्द्र झाले बताए । ‘काम सुरु गरेका ९ दिनमध्ये दुई दिन काम भएन । त्यही भएर धेरै काम भएको छैन,’ उनले भने, ‘जति कामदार छन्, उनीहरूले सामाजिक दूरी कायम राख्दै काम गरिरहेका छन् ।’

ललितपुरको माझखोला नजिक कटिङ र मकवानपुरको बगुवा खोला नजिक कालोपत्रेको काम भइरहेको छ । बगुवा खोला दुई जिल्लाको सीमा क्षेत्र हो । दैनिक साढे ३ सय मिटर कालोपत्रे हुने गरेको झाले बताए । ‘ललितपुरको २८ किमिमध्ये १७ किमि खण्डमा कटिङको काम भइरहेको छ,’ उनले भने ।

७९ किमि सडकमध्ये मकवानपुरतर्फ ५१ किमि पर्छ । यसमा अहिलेसम्म ३६ किमि मकवानपुर र ललितपुरतर्फ १६ किमि कालोपत्रे भइसकेको छ । ‘आयोजनाको म्याद ०७७ फागुनसम्म छ,’ झाले भने, ‘अबको अवस्था कस्तो हुन्छ, सडक समयमै सकिने, नसकिने भन्ने त्यसले निर्धारण गर्छ ।’ कालोपत्रेमा २० जना कामदार खटिएका छन् । कटिङमा ५ वटा मेसिन र २० जना कामदार खटिने गरेको उनले बताए । उनका अनुसार लोकपथको काम अहिलेसम्म ८० प्रतिशत सकिएको छ ।

झापामा पनि सडक मर्मतको काम भइरहेको छ । बिर्तामोड–भद्रपुर सडकमा मेसिनबाट ४ दशमलव ७ किमिमा काम भइरहेको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए । ‘रोलर लगाएर सडक चिल्लो बनाउने काम भएको छ,’ उनले भने, ‘यस्तो बेलामा धेरै भीड गर्न भएन, त्यसैले कम जनशक्ति प्रयोग गरेर मेसिनमार्फत काम गरिरहेका छौं ।’ लकडाउनको समय सदुपयोग गर्दै सडकमा स्वास्थ्यकर्मी नै राखेर काम भइरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

त्रिभुवन राजपथका विभिन्न खण्डमा मर्मतको काम पनि जारी छ । लामा तथा ठूला खाल्डा पुर्ने र कालोपत्रे गर्ने काम भइरहेको छ । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डमा खाल्डाखुल्डी टाल्ने काम जारी छ । मुगु जाने नाग्मा–गमगढी सडक पहाड कटिङ गरेर फराकिलो पार्ने काम भइरहेको छ । कोसी राजमार्गअन्तर्गत वसन्तपुर–मुडे–चैनपुर कालोपत्रे गर्ने काम जारी छ । ‘पुराना सडकमा नयाँ पिच गर्ने काम भइरहेको छ,’ शर्माले भने, ‘कतैकतै सडक चौडा गर्ने काम पनि जारी छ ।’

महेन्द्र राजमार्गको लम्की–अत्तरिया सडकखण्डमा पनि मर्मतको काम अघि बढाइएको छ । ‘फिल्डमा भएका कामदार जो घर फर्किएनन्, तिनैलाई काममा लगाएका हौं,’ उनले भने, ‘करिब ४ हजार कामदार अहिले फिल्डमा छन् ।’ सामाजिक दूरी कायम गर्दै काममा खटिनेलाई मास्क अनिवार्य गरिएको उनले बताए ।

बर्खाअघि नै नगरी नहुने पुलको काम पनि जारी राखिएको छ । ‘ढलान गर्ने अवस्थामा पुगेका पुलमा टेका लगाइएको छ, बर्खा सुरु भएपछि बाढीले टेका बगाउने खतरा छ,’ शर्माले भने, ‘खोला घटेर काम अघि बढाउन माघ–फागुन कुर्नुपर्छ । अहिले काम सक्न पाए आउँदो बर्खामा पुल सञ्चालनमा आउने थिए ।’

यस अवधिमा एक दर्जनभन्दा बढी पुलमा काम भइरहेको उनले जानकारी दिए । बर्खापछि भए काम ढिलो हुने भएकाले निर्माणको अन्तिम चरणमा रहेका पुलको काम सक्न खोजेको शर्माले जानकारी दिए । त्यस्ता पुल ६२ वटा रहेकाले स्थानीय प्रशासनसँग समन्वय गरेर काम अघि बढाइएको उनको भनाइ छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully