भीआईपीका सुरक्षाकर्मी सीमामा किन नखटाउने ?

विशिष्टको सुरक्षामा सशस्त्रका मात्रै ५ सय ५५ जना परिचालन
भारतमा बढ्दो संक्रमणका कारण सीमा क्षेत्र सबैभन्दा बढी संवेदनशील छ । अनावश्यक सुरक्षा र सुविधा कटौती त्यस क्षेत्रमा परिचालन गर्नुपर्छ ।– शशि श्रेष्ठ, राज्यव्यवस्था समिति सभापति
कुलचन्द्र न्यौपाने

काठमाडौँ — निगरानी फिलतो हुँदा लकडाउनमा पनि सीमा क्षेत्रबाट मानिस लुकीछिपी भित्रिरहेका छन् । यस्तो बेला जतिसक्दो बढी सुरक्षाकर्मी सीमामा परिचालन गर्नुपर्ने देखिएको छ । तर केही सुरक्षाकर्मीलाई मापदण्डविपरीत ‘भीआईपी’ को व्यक्तिगत सुरक्षामा खटाइएको छ ।

संकटका बेला त्यस्ता सुरक्षाकर्मीलाई फिर्ता गरी सीमा क्षेत्रमा खटाउनुपर्ने आवाज पूर्वप्रशासक, राजनीतिक दलका नेता तथा नागरिक समाजबाट उठिरहेको छ ।

भीआईपी सुरक्षाका नाममा राजनीतिक दलका नेता तथा अवकाश प्राप्त प्रहरी अधिकृतका परिवारमा सशस्त्र प्रहरी बलबाट मात्रै ५ सय ५५ सुरक्षाकर्मी खटाइएको छ । तीमध्ये अधिकतरले मापदण्डविपरीत राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा पीएसओ, चालक र सहयोगीका रूपमा सुरक्षाकर्मी लिएका छन् ।

राज्य व्यवस्था समितिकी सभापतिसमेत रहेकी नेकपा नेतृ शशि श्रेष्ठले सुरक्षाकर्मीको दुरुपयोग रोकेर उनीहरूलाई सीमा सुरक्षामा खटाउनुपर्ने बताइन् । उनले राज्य व्यवस्था समितिबाटै सरकारलाई निर्देशन दिनसमेत चाहेकी थिइन् ।

लकडाउन लगत्तैदेखि समितिको बैठक राख्न धेरै प्रयत्न गरिन् । नसकेपछि अनलाइनबाटै बैठक राख्ने योजना अघि सारिन् । समितिका सदस्यहरूलाई जोड्न भाइबर ग्रुप तयार पारिन् । तर भाइबर ग्रुपमा आधा सदस्य पनि नजोडिएपछि अनलाइन बैठक राख्ने प्रयत्न सफल हुन सकेन । ‘भीआईपी सुरक्षा र स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयका विषयमा छलफल गराउने र सरकारलाई सुझाव दिने योजना मेरो थियो,’ उनले भनिन्, ‘तर सम्भव हुन सकेन ।’

अनावश्यक भीआईपी सुरक्षा कटौती गरेर सीमा क्षेत्र रक्षाका लागि खटाउनुपर्ने आफ्नो धारणा धेरैअघिदेखि रहेको र त्यसअनुसार गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखसँग पटकपटक छलफलसमेत भएको उनले खुलाइन् । ‘भारतमा बढ्दो संक्रमणका कारण सीमा क्षेत्र सबैभन्दा बढी संवेदनशील भएको छ । उच्च जोखिम भएको त्यस क्षेत्रमा थप सुरक्षा बल पठाउन आवश्यक छ,’ उनले थपिन्, ‘सरकारले तत्काल निर्णय गरेर अनावश्यक सुरक्षा र सुविधा कटौती गरेर जनताको सुरक्षामा परिचालन गर्नुपर्छ ।’

दीर्घकालीन रूपमा यस्तो दुरुपयोग रोक्न सुरक्षा खतराको वास्तविकता अध्ययन हुनुपर्ने उनको भनाइ छ । भीआईपीका नाममा अनावश्यक रूपमा दिइएका पछुवा गाडी फिर्ता लिएर स्वास्थ्य क्षेत्रमा लगाउनुपर्ने पनि उनले बताइन् ।

कसलाई कति सुरक्षाकर्मी ?

विशिष्ट व्यक्तिका नाममा सशस्त्र प्रहरीबाट सबैभन्दा बढी सुरक्षाकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा खटिएका छन् । पछुवा गाडीसहित उनको सुरक्षाका लागि सशस्त्र प्रहरीका ४६ सुरक्षाकर्मी छन् । दोस्रो नम्बरमा कांग्रेस सभापति शेरबहादुर देउवा पर्छन् । उनको निवासमा पनि पछुवासहित सशस्त्रका २१ प्रहरी खटाइएका छन् ।

पूर्वप्रधानमन्त्रीमा माधवकुमार नेपाल निवासमा पछुवासहित १५ सुरक्षाकर्मी छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पछुवा लिएका छैनन् । उनको सुरक्षाका लागि ८ जना सशस्त्र प्रहरी खटिएका छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछुवासहित १४, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पछुवासहित ९ सुरक्षाकर्मी लिएका छन् ।

एकपटक उपप्रधानमन्त्री भएका सबैजसोले पछुवा सहितको सुरक्षाकर्मी राखेका छन् । कांग्रेस नेताहरू रामचन्द्र पाडेल निवासमा १३, कृष्णप्रसाद सिटौला निवासमा १२, गोपालमान श्रेष्ठ निवासमा ७, प्रकाशमान सिंह निवासमा १२, विमलेन्द्र निधि निवासमा ९, विजय गच्छदार निवासमा १२ पछुवासहितका सुरक्षाकर्मी खटिएका छन् ।

नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ निवासमा ११, वामदेव गौतम निवासमा १३, भीम रावल निवासमा १४, पूर्वगृहमन्त्री जनार्दन शर्माको निवासमा १२ पछुवासहितका सुरक्षाकर्मी छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापाले पछुवासहित १२ सुरक्षाकर्मी लिएका छन् । पूर्वउपप्रधानमन्त्रीको हैसियतमा कम सुविधा लिनेमा कांग्रेस नेतृ सुजाता कोइराला पर्छिन् । उनले सशस्त्रका एक चालक मात्रै लिएकी छन् ।

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भइसके पनि उनको निवासको सुरक्षाका लागि सशस्त्रका २ जना र एउटा गाडी खटाइएको छ । त्रिशूलीमा गाडी पल्टेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको निवासमा पनि ३ सुरक्षाकर्मी खटाइएका छन् । पूर्वराजपरिवारको सुरक्षाका लागि ७१ सुरक्षाकर्मी परिचालित छ । सप्रवल नेपाल पूर्वराजपरिवार क्लोज प्रोटेक्सन सुरक्षा बेसका लागि ५७ र सप्रवल ज्ञानेन्द्र शाह निवास सुरक्षा बेस नागार्जुनका लागि गाडी सहित १४ सुरक्षाकर्मी खटाइएका हुन् ।

यस्तो सुविधा लिनेहरूमा पार्टीका कायकर्ता, पूर्वमन्त्री, पूर्वमहान्यायाधिवक्तासमेत छन् । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिमा गृहमन्त्रीलाई १०, पूर्वगृहमन्त्रीलाई २ सुरक्षाकर्मी दिने व्यवस्था छ । पहुँचका आधारमा मापदण्डविपरीत सुरक्षाकर्मी लिने प्रचलन रोगजस्तै बनेको छ ।

सशस्त्र प्रहरीमा पूर्वअधिकृतहरूका लागि १ सय ३० सुरक्षाकर्मी खटिएका छन् । कार्यविधिमा अवकाश प्राप्त महानिरीक्षकका लागि बडीगार्ड, परिचर र सवारी चालक गरी ३ जना लिन पाउने व्यवस्था छ । अतिरिक्त महानिरीक्षकका लागि सवारी चालक र परिचर १ गरी दुई जना चार वर्षका लागि, नायब महानिरीक्षकका लागि सवारी चालक वा परिचर एक जना ३ वर्षका लागि लिन पाउने व्यवस्था छ । तर, सबैजसो अवकाश प्राप्त अधिकृतले तोकिएको मापदण्ड भन्दा बढी सुरक्षाकर्मी लिएका छन् । एकपटक लिइसकेपछि आजीवन कायम राख्ने रोग प्रहरीभित्रै समेत देखिएको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले सोमबार नै भीआईपी निवासमा खटिएका अनावश्यक सुरक्षाकर्मी कटौतीका लागि निर्देशन दिएका छन् । तर, उनको निर्देशनअनुसार त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता होलान् त ? राज्य व्यवस्था समितिमा रहेका कांग्रेस नेता दिलेन्द्र बडुले राज्य स्रोतको अनावश्यक खर्चलाई कटौती गरेर संक्रमणका लागि परिचालन गर्नुपर्ने बताए । ‘भीआईपीको सुरक्षा र सुविधा मात्रै होइन, निर्वाचन क्षेत्रका लागि सांसदलाई छुट्याइने बजेटसमेत कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा परिचालन गर्नुपर्छ,’ बडुले भने, ‘आज (मंगलबार) भएको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यिनै सुझाव मैले दिएको छु ।’

पूर्वगृहसचिव मोदराज डोटेलले विशिष्ट व्यक्तिका नाममा बीसौं वर्षदेखि सुविधा लिने प्रचलन गलत भएको बताए । ‘कसलाई कति सुरक्षा चाहिएको हो, अध्ययन गरेर आवश्यकताअनुसार दिनुपर्छ, तर एउटै व्यक्ति बीसौं वर्षसम्म खतरामा हुँदैन,’ उनले भने, ‘यही मौकामा यस्ता दुरुपोग रोक्नुपर्छ । अहिले सुरक्षाकर्मी निवासमा होइन, सडकमा चाहिएको छ । निवासबाट तिनलाई सडकमा ल्याउनुपर्छ ।’

प्रकाशित : वैशाख ३, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

‘गरिबीले गाउँबाट धकेल्यो, महामारीले थुनेर राख्यो’

मजदुरी गरेर कमाएको पैसा रित्तियो । फेरि कमाउनलाई काम ठप्प छ । गाउँ फर्कन मन छ तर उपाय छैन ।
बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान साढे ११ बजे मन्त्रिपरिषद् बैठक बसिरहेका बेला ललितपुर बालकुमारीस्थित अस्थायी बासबाट शारदा बस्नेत फोनमा छोरीलाई भन्दै थिइन्, ‘सरकारले बाटो खोलिदियो भने भोलि नै हिँड्छौं ।’

१० मिनेटजति छोराछोरीसँग कुरा गर्दा उनले सन्चोबिसन्चो, खानपान सबै सोधिन्, छोराछोरीले उनीसँग माग राखे । ‘३ गतेदेखि खुल्छ भन्ने सुनेका रैछन्, खुसी भएका थिए,’ शारदाले भनिन्, ‘छोरोले भलिबल र नयाँ कपडा ल्याइदिनु भन्यो, छोरीले कापी र कलम एक–एक दर्जन ल्याइदिनु भनेकी छ ।’

जाजरकोट भेरी नगरपालिकाकी ३६ वर्षीया शारदा साना दु:खले काठमाडौं छिरेकी होइनन् । चुलिँदै गएको ऋणको भारीले घचेटेपछि शारदा श्रीमान् लालबहादुर बस्नेतको साथ लागेर गत माघ २० गते मजदुरीका लागि काठमाडौं आएकी थिइन् । उनका लागि मजदुरी र काठमाडौं यात्रा दुवै पहिलो पटक हो । नत्र त श्रीमान्ले स्कुल पढाउने र उनले घरको स्याहारसुसार गर्ने दिनचर्या थियो । ‘हाम्रो खुसी गाउँलेले देख्न सकेनन्, बैराग लागेर गाउँ छाडेर आयौं,’ शारदाले भनिन्, ‘श्रीमान्‌लाई सहयोग गरुँला भनेर आएँ, नत्र सानासाना छोराछोरी छाडेर किन आउँथें होला र ! अहिले यहाँ फेरि यस्तो भयो ।’

गाउँमा रहेका छोराछोरीसँग फोनमा कुरा गर्दै शारदा बस्नेत, यही फोनसंवादमा उनलाई छोरालेे भलिबल र छोराले कापीकलम ल्याइदिन भनेका थिए ।

पढाइमा अब्बल लालबहादुरले १२ कक्षा पास गरेदेखि सात वर्षसम्म स्थानीय नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अंग्रेजी, विज्ञान र गणित पढाए तर तलब पाएनन् । उनी निजी स्रोतका शिक्षक थिए । ऋणपान गरेरै घर चल्यो । तलब आएपछि ऋण तिर्छ भन्ने विश्वासमा गाउँलेले पनि भरथेग गरेका थिए । ‘तर स्कुलमा धेरै राजनीति भयो, पढाएको पैसा पाइएन,’ यो जोडीले भन्यो, ‘त्यही भएर कामको खोजीमा काठमाडौं आइपुग्यौं ।’

ललितपुरको बालकुमारी पुलनिर ढल बनाउने काममा लागेका लालबहादुरले दिनको ७ सय ज्याला बुझ्थे भने शारदाले ६ सय । चैतभरि काम गरेर नयाँ वर्ष मनाउन घरमै जाने तयारीमा थिए उनीहरू । ‘यता अलिअलि कमाइ भएको थियो, लगेर नतिरी नहुने ठाउँमा तिरौंला भन्ने सोचेका थियौं,’ शारदाले भनिन्, ‘त्यसपछि छोराछोरी भेटेर अर्काे पटक इन्डिया जाने भनेको, कमाएको पैसा सकियो, घर जान पनि पाइएन ।’

उनीहरू अहिले माघ २० गते काठमाडौं टेक्दा जुन हालतमा थिए, ठ्याक्कै त्यहीँ पुगेका छन् । २२ दिनसम्म त्यही पैसा निकाल्दै खाँदै गर्दा उनीहरूले तीन महिनामा कमाएको पैसा सकिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै शारदा र लालबहादुरजस्ता २२ हजारभन्दा बढी मजदुर काम गर्दै आएका थिए । तीमध्ये कतिपय हिँडेरै बाहिरिइसकेका छन् । काठमाडौंमा रहेका मजदुरहरू पनि बाहिर जान खुट्टा उचालेर बसेका थिए । तर मंगलबारको मन्त्रिपरिषद् बैठकले लकडाउन झन कडा बनाउने र अत्यावश्यक कामबाहेक कसैलाई पनि हिँडडुल गर्न नदिने निर्णय गरेपछि उनीहरूको काठमाडौं बसाइ थप अनिश्चित भएको छ । ‘तर मन उडेर घरै पुग्छ,’ सुनसरीका विष्णु चौधरीले भने, ‘भोलि (बुधबार) पनि खुलेन भने हिँडेरै जाने हो ।’

यो गर्मीमा मधेसको यात्रा हिँडेरै तय गर्न कठिन छ । तर विष्णुसहित उनको समूहका साथीहरू हिँडेरै जान लागेका छन् । उनी पनि चैत अन्तिम साता कमाएको पैसा श्रीमती र छोरीका लागि केही कोसेली बोकेर घर फर्किने योजनामा थिए । ‘कमाएको पैसा खानेकुरा किनेर खाँदा सकिन लागिसक्यो,’ उनले भने, ‘साहुले दिनभरि टहरा कुरेर बसेको ज्याला दिँदैन, २२ दिनसम्म काम नहुँदा गाउँमा श्रीमती र बालबच्चा पनि भोकभोकै हुने अवस्था आयो ।’

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत चैत २७ गते काठमाडौंमा अड्किएर अप्ठ्यारोमा परेकाहशलाई दुई दिनका लागि गाउँ फर्किन दिने निर्णय गरेको खबर बाहिरिएपछि यिनीहरूको मन पनि एकछिनका लागि खुसीले चंगा भएको थियो । सरकारको अपरिपक्व निर्णय डेढ घण्टा पनि नटिकेजस्तै मजदुरहरूको खुसी पनि छिनमै छिनियो । त्यसपछि उनीहरू मंगलबार फेरि के निर्णय आउँछ भनेर पर्खाईमा थिए । किनभने वैशाख ३ सम्म अवस्था हेरेर लकडाउन केही खुकुलो बनाउने कि भन्ने सरकारको तयारीबारेको खबर उनीहरूको कानमा पनि परेको थियो । तर मंगलबार फेरि एकै पटक १२ दिनसम्म लकडाउन थप्ने र त्यसलाई झन् कडा बनाउने निर्णय भएको खबर उनीहरूको कानमा ठोक्कियो ।

‘अस्ति नै हिँडेका साथीहरूलाई त पुलिसले ठाउँठाउँमै पक्रिँदै सोधपुछ गर्दै गरेको छ रे, हामीलाई त झन् के जान देला र !’ बाह्रबर्दिया नगरपालिका बर्दियाका शेरबहादुर बुढाले संशय व्यक्त गरे । घरबाट दिनदिनै कहिले आउने भनेर फोन आउने गरेको उनले सुनाए । ‘हामीलाई पनि के थाहा हुन्छ र ?’ बुढाले भने, ‘सरकारले पठाइदिए त परिवार भेट्न पाइन्थ्यो ।’

उनीजस्तै मजदुरीका लागि पहिलो पटक काठमाडौं आएका हुम्लाका १९ वर्षीय महेन्द्र सिंहको पहिलो यात्रा नै अत्यास लाग्दो भयो । चार महिनाअघि नेपाल प्रहरीमा भर्ना हुन सुर्खेत आएका उनी त्यहाँ नाम ननिस्किएपछि घर फर्किनुको साटो काठमाडौं आए । ‘अरू त हिँडेर गए पनि सक्लान्, गाडीमा गए पनि सक्लान्, म त एक्लै भए पनि यहीँ बस्नुपर्छ,’ सिंहले भने, ‘गाडी चलेर पनि के र ? जहाज नचलेसम्म त घरको सपना नदेखे पनि हुन्छ ।’

भौतिक दूरी टाढा भएर सिंहले हुम्ला जाने सपना नदेखेजस्तै उमेरले उकालो चढ्दै गएकाले जाजरकोट भेरी नगरपालिकाकी नन्दा बस्नेतले पनि घर फर्किने सपना देखेकी छैनन् । छोराछोरीलाई पढाउँदा लागेको ऋण तिर्ने उपाय खोज्न नन्दा पनि श्रीमान्सित काठमाडौं आएकी हुन् । तर उनले सोचेको जस्तो भएन । ‘न कमाउन सकियो, न सुख पाइयो,’ नन्दाले भनिन्, ‘रोगबाट बच्न भित्रै बस्दा भोकले लैजान्छ होला ।’ उनलाई पनि टहराका अरू मजदुरलाई जस्तै घर फर्केर जान मन लागेको छ । तर न पैसा छ, न बाटो छ । ‘गाउँ जान पाए त घाँस काटेर दिन कट्थ्यो, जौ कुटेर छाक टथ्र्याे,’ नन्दाले भनिन् ।

उसो त सरकारले आवश्यक सुरक्षा अपनाएर निमार्ण क्षेत्रका मजदुरहरूलाई काम गर्न दिने कि भनेर छलफल पनि थालेको छ । घर जान नपाएका र यहाँ पनि रोजगारी गुमेका मजदुरहरूलाई विकास आयोजनामा काम लगाउने तयारी सरकारको छ । तर सरकारले निर्णय गरेको तीन सातापछि मात्रै राहतको खाद्यान्न पाएका मजदुरलाई यो छलफल निर्णय तहमा पुगेर कार्यान्वयन हुन्छ भन्नेमा विश्वास छैन । आफैंले गरिरहेको कामलाई निरन्तरता दिन ठेकेदार नै कहाँ छन् पत्तो छैन । सरकारले लकडाउन झन् कडा बनाउने निर्णय गरिसकेपछि कान्तिपुरसँगको संवादमा शारदाले प्रतिक्रिया दिइन्, ‘अरूको हातको कुरा मान्नैपर्‍यो नि, गरिबको पीडा सुनिदिने को नै छ र ?’

प्रकाशित : वैशाख ३, २०७७ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×