कोरोनाको त्रासभन्दा खानेपानीको पिरलो 

वैशाख २, २०७७

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–२ टाकुराकी ४० वर्षीया पूर्णिमा डाँगी एक महिनादेखि डेढ घण्टा टाढाको फिरावन मुहानबाट पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी अस्मिता खत्रीले खानेपानी समस्याका कारण लकडाउन पालना गर्न सकेकी छैनन् ।

‘अहिले कोरानाको डरभन्दा गाउँमा खानेपानीको पिरलो छ,’ डाँगीले भनिन्, ‘बिहानदेखि रातिसम्मै पानीको चिन्ता हुन्छ ।’ उनका अनुसार स्थानीयलाई घण्टौं हिँडेर फिरावन र पल्नाडाँडा मुहान गएर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता छ ।

बढ्दो गर्मीका कारण दुवै मुहान सुक्न थालेपछि गाउँमा खानेपानी अभाव बढेको उनले बताइन् । मुहान व्यवस्थित नहुँदा दूषित पानी पिउनुपर्ने बाध्यता रहेको खत्रीको गुनासो छ । उनले खानेपानी समस्याका कारण महिला र बालबालिकाले लामो समयदेखि सास्ती भोग्दै आएको सुनाइन् ।

गाउँका ३५ परिवारले लामो समयदेखि खानेपानी समस्या भोग्दै आएको स्थानीय अगुवा डम्बर डाँगीले बताए । ‘पानीको चिन्ताले कोरोनाको डर लाग्नै छाड्यो,’ उनले भने, ‘लकडाउनको समयमा पानी ल्याउन र मुहानमा कुरुवा बस्नै ठिक्क छ ।’ उनका अनुसार बिहान झिसमिसेमै मुहानमा नगए दुई/तीन घण्टा पालो कुर्नुपर्ने बाध्यता छ । दुई दशकदेखि आफूहरुले खानेपानी समस्या भोग्दै आएको उनले गुनासो पोखे ।

खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका अनुसार मुहान तल र गाउँमाथि हुँदा जिल्लाका तीन दर्जन बढी बस्तीमा हिउँदको समयमा खानेपानी समस्या छ । खानेपानी समस्याले जिल्लाका चार हजार परिवारले सास्ती भोग्दै आएको कार्यालयले जनाएको छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully