भट्टराईको प्रश्‍नः बडे नेताको विलासी रहनसहन र चुनावी खर्च कसरी चल्छ ?

वैशाख २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीलगायतका विभिन्‍न पार्टीका ठूला नेताहरूले आफ्‍नो विलासी जीवन र चुनावी खर्चको स्रोत पनि सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणाप्रति लक्षित गर्दै भट्टराईले ठूला नेताहरूले विलासी रहनसहन र चुनावी खर्च कसरी चल्छ भन्ने कुरा बताउँदा राम्रो हुने बताएका हुन् ।

सामाजिक सञ्‍जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्रीलगायत कतिपय बडे नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ, त्यो पनि बताउँदा राम्रो होला कि?’

सोमबार प्रधानमन्त्री ओलीले कोरोना महामारी नरोकिएसम्मका लागि आफूले पाउने पारिश्रमिक कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गरेका थिए ।

त्यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफ्नो २ महिनाको तलब कोभिड–१९ प्रधानमन्त्री राहत कोष र बाँकी १० महिनाको तलब विपन्न केन्द्रित कार्यक्रममा सहयोग गर्ने घोषण गरेका थिए ।

कान्तिपुर

Link copied successfully