बिहान र साँझमा माछामासु पसल खुला

वैशाख २, २०७७

अमृता अनमोल

बुटवल — लकडाउनले माछामासु व्यवसाय प्रभावित भएपछि रुपन्देहीमा तरकारी पसल सरह माछामासु पसल खोल्न थालिएको छ ।

 

आफ्ना उत्पादन सिधै किसानलाई बेच्न तथा स्वदेशी माछामासुको ग्यारेन्टी गर्ने व्यवसायीलाई बिहान साँझको समयमा पसल खोल्न दिइएको हो । त्यसका लागि कुनै नगरपालिकाले औपचारिक निर्णय गरेका छन् । केहीले आपसी समझदारीमा खोलेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहान ६ देखि ८ बजेसम्म तथा साँझ ३ देखि ५ बजेसम्म माछामासुका पसल खोल्ने समय दिएको छ । लकडाउनबाट किसानले भोग्नुपरेको समस्या समाधान गर्न बिहान साँझ माछामासुका पसल खोल्ने निर्णय गरेको कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए । नगरपालिकाले यसअघि त्यही समयमा दूधको खरिद—बिक्रीका लागि समय तोकेको थियो । अत्यावश्यक सामान एवं तरकारीको खरिद—बिक्रीको लागि दिउँसो १२ देखि २ बजेको समय तोकिएको छ।

बुटवल उपमहानगरले तरकारी, फलफूल, दूध तथा अत्यावश्यक सामाग्री बिक्रीका लागि बिहान ६ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म तोकेको छ । व्यवसायीहरुले माछामासु  पसल समेत त्यही समयमा खोलेका छन् । मूल्यमा व्यवसायीले मनपरी वृद्धि गरेपछि बुटवल उपमहानगरले हरेक वस्तुको मूल्यसूची सार्वजनीक गरेको छ ।

उक्त मूल्यसूची भन्दा धेरै रकम लिएमा कारबाही गर्ने उपमहानगरप्रमुख शिवराज सुवेदीले बताए । जिल्लाको सैनामैना, कन्चन, देवदह लगायतका स्थानीय तहले पनि किसानका पशुपन्छीजन्य उत्पादन बेच्न समय दिएका छन् । 

 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully