विज्ञहरू भन्छन्– ‘लकडाउनमा कडाइ, परीक्षण विस्तार सँगसँगै गर्नुपर्छ ।’
काठमाडौँ — दक्षिणी सीमाबाट हुने आवतजावतमा अझै कडाइ नगरे संक्रमण डरलाग्दो हुने विज्ञहरूले औंल्याएका छन् । स्थिति जोखिममुक्त नभएसम्म नेपाल–भारत बोर्डर ‘सिल’ गर्न उनीहरूले सरकारलाई सुझाएका छन् । भारतसँग सीमा जोडिएको पर्सामा आइतबार मात्रै तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट धार्मिक भेलामा आएका ती तीन जनाको सम्पर्क भएको स्थान र समुदायको पहिचान गर्ने तयारीमा सरकार लागेको छ । ‘पछिल्लो समस्या हाम्रो दक्षिणी सीमामा देखिएको छ, अझै बोर्डरमा ओहोरदोहोर जारी छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘अब सीमा सिल गर्नुको विकल्प छैन ।’
संक्रमित तीन जना भारतीय नागरिकको कन्ट्याक्ट ट्रेसिङका लागि ईडीसीडीले तालिम प्राप्त टोलीलाई आइतबारै वीरगन्ज पठाएको छ । डा. पाण्डेका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि विशेष रूपले प्रशिक्षित उक्त टोलीले सोमबार बिहानदेखि काम थाल्नेछ ।
ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले अझै भारतबाट ओहोरदोहोर हुने क्रम जारी रहेकाले सीमामा कडाइ गर्नुपर्ने र तीनै तहका सरकार तम्तयार रहनुपर्ने बताए । ‘प्रदेश–२ मा संक्रमण देखिसकेको छ,’ उनले भने, ‘प्रदेश सरकारले मास ट्रिटमेन्टको तयारी थाल्नुपर्छ, केन्द्र सरकार रोगको सम्भावित विस्तारसँग जुध्न तम्तयार रहनुपर्छ ।’
सरकारले लकडाउनको पूर्णपालना गराउने प्रतिबद्घता व्यक्त गरिरहे पनि सीमा क्षेत्रबाट हुने अवैध आवतजावत नियन्त्रण गर्न सकेको छैन । ती भारतीय कसरी नेपाल आए, कहिले आएका हुन् र क–कससँग भेटघाट गरे भन्नेबारे स्थानीय सरकारले खोजी सुरु गरेको छ ।
सरकारले कोभिड–१९ परीक्षणको दायरा विस्तार गर्ने बताएको छ तर अझै उल्लेख्य रूपमा काम हुन सकेको छैन । हाल सरकारले पीसीआर र र्यापिड परीक्षण किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनले हरेक जिल्लामा र्यापिड परीक्षण किट पुगिसकेको समेत जनाए । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ६ सय २८ र उपत्यकाबाहिर स्थापित प्रयोगशालाहरूले १ सय ६७ गरी कुल ७ सय ९५ नमुनाको पीसीआर विधिबाट परीक्षण गरेका छन् ।
हालसम्म पीसीआर विधिबाट ५ हजार १ सय ५४ नमुना परीक्षण भएको छ । यसअन्तर्गत जनस्वास्थ्य प्रयोगशालाले ४ हजार २० र उपत्यकाबाहिरका प्रयोगशालाहरूले १ हजार १ सय ६४ नमुना परीक्षण गरेको प्रवक्ता देवकोटाले बताए । ‘परीक्षणको संख्या पहिलेभन्दा बढेको छ, अब यसको दायरासमेत विस्तार गर्नुपर्छ,’ ईडीसीडीका निर्देशक पाण्डेले भने, ‘मुलुकमा कोभिड–१९ परीक्षण रुघाखोकी, ज्वरोलगायतका बिरामीको समेत गर्नुपर्छ ।’ उनले संक्रमितलाई आइसोलेसनमा राखेर उपचार सुरु गर्नुका साथै एक जना पनि नछुट्ने गरी कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताए ।
