राष्ट्रिय गान गाउन प्रधानमन्‍त्री ओलीको अपिल : आलोचना र समर्थन दुवै

चैत्र ३०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ एउटा गैरसरकारी संस्थाको अनुरोध रहेको पोस्टरसहित ट्वीट गरे, ‘राष्ट्रिय गान गाऔं र राष्ट्रिय धुन बजाऔं’ ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

आफ्नो देशको राष्ट्रिय गान गाउन र राष्ट्रिय धुन बजाउन धेरैलाई आपत्ति नहुन सक्छ । तर प्रधानमन्त्री ओलीले एउटा गैरसरकारी संस्थाको अपिललाई लिएर सबैलाई किन आग्रह गरिरहेका छन्  भनेर धेरैलाई कौतुहलता पनि जागेको छ । प्रधानमन्त्रीले अपिल गरेसँगै  धेरैले ‘ग्लोबल कम्प्याक्ट नेपाल’ नामक संस्था ‘के रहेछ ?’, ‘संस्थामा को–को संलग्न रहेछन् ?’ भनेर जिज्ञासा व्यक्त गरेका छन् ।

एउटा गैरसरकारी संस्थाको अपिललाई प्रधानमन्त्रीले किन अनुमोदन गरिरहेका छन् र महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेर यस्ता कुरामा किन अल्झिरहेका छन् भनेर आलोचना भइरहेको छ । ग्लोबल कम्प्याक्ट नेपालको अपिलमा सबैले राष्ट्रिय गान बनाएर कोरोना भाइरसविरुद्धको लडाइँको अग्रपंक्तिमा रहेका डाक्टर, नर्स, सुरक्षाकर्मी, आपत्‌कालीन सेवामा खटिने, डेलिभरी स्टाफ, सफाइ कर्मचारीलगायतको समर्थन र सम्मान गरौं भनिएको छ । साथै राष्ट्रिय गान बजाइसकेपछि सबैलाई ताली बजाउन पनि अपिल गरिएको छ । 

विश्वका धेरै देशमा राष्ट्रिय गान बजाएर वा ताली बजाएर कोरोना भाइरसविरुद्धको लडाइँमा खटिएका व्यक्तिको सम्मान गरिएको छ । केही देशमा सरकार प्रमुखहरुले उर्दी जारी गरेका छन् भने केही देशमा नागरिकले स्व:स्फूर्त रुपमा । नेपालमा चाहिँ प्रधानमन्त्री ओलीले गैरसरकारी संस्थाको अपिल मान्न सबैलाई आग्रह गरेका छन् । धेरैले यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै राष्ट्रवादी पथ पछ्याएको समेत भनेका छन्, भने केहीले संकटको घडीमा राष्ट्रिय गान बजाउनु नराम्रो नभएको टिप्पणी गरेका छन् । 

कस्तो संस्था हो ग्लोबल कम्प्याक्ट नेपाल ?

ग्लोबल कम्प्याक्ट नेपालको आधिकारिक वेबसाइटमा जनाइएअनुसार यो संस्था संयुक्त राष्ट्र संघको यूएन ग्लोबल कम्प्याक्टको नेपाली नेटवर्क हो । यस संस्थाले दिगो व्यवसाय र समावेशी आर्थिक अवसरको वातावरण सिर्जना गर्न सघाउने वेबसाइटमा उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, अन्तर्राष्ट्रिय श्रम संगठन र राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी)को सहयोगमा सन् २००३ मा ग्लोबल कम्प्याक्ट नेपादको स्थापना भएको हो । यो संस्था सन् २०१५ मा दर्ता भएको पनि वेबसाइटमा उल्लेख छ । यसको सचिवालय होस्टे हैंसे संस्थाको भवन एकान्तकुनामा रहेको जानकारी पनि वेबसाइटमा रहेको छ । अहिले यस संस्थामा प्रदीपमान वैद्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति रहेको पनि वेबसाइटमा उल्लेख । 

कसले के भने ?

राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईं ओलीको पछिल्लो कदमले महामारीलाई झन बढाउने बताएका छन् । प्रधानमन्त्री ओलीले हदैसम्मको असभ्यता र अश्लीलताको हद नाघेको प्रसाईंले टिप्पणी गरेका छन् ।  

त्यस्तै नेपाल सरकारका पूर्वसचिव समेत रहेका कृष्ण ज्ञवाली लेख्छन्, ‘आग्रह नराम्रो त होइन, तर राष्ट्रिय गान सत्तासीनको आग्रहले भन्दा पनि स्वःस्फूत श्रद्धाको वशीभूत भएर गाउने हो । महामारीको रोकथाम, उपचार र तज्जन्य परिस्थितिको व्यवस्थापनमा यस्तो भावनास्त्रको प्रयोग नगरेकै वेस, यसले नागरिकमा कुनै पत्यारिलो र दिगो आधार प्रदान गर्दैन ।’

 

त्यस्तै समाजशास्त्री सुरेश ढकाल व्यंग्यात्मक शैलीमा लेख्छन्, ‘यो ताली बजाउने, शंख फुक्ने, घन्टी ठोक्ने, दियो बाल्ने, राष्ट्रिय गान गाउने आदिसँग कुनै अनुराग नभएको म कतै बैरागी त भाको होइन ? क्या निरस जिन्दगी बाचिँदै  छ भने नि !’

 

त्यस्तै लेखक तथा राजनीतिक अभियन्ता ब्रबिम कुमार लेख्छन्, ‘मजदुरः सरकार! घर फर्कन पाऊँ, खान पाउँ

नाकामा अड्केका नेपालीः सुरक्षित घर फर्कन पाउँ 

स्वास्थ्यकर्मीः गुणस्तरीय पिपिइ पाउँ

बिरामीः उपचार पाउँ

पत्रकारः स्वास्थ्य सामाग्री किन्दा घोटालाको खुलस्त जानकारी पाउँ

सबैः टेष्ट टेष्ट टेष्ट

सरकारः आउनुहोस्, राष्ट्रिय गान गाऔं !’

 

त्यस्तै पत्रकार अक्षर काका लेख्छन्, ‘प्रिय भोकले भोक मेटाउँदै सयौं कोश छिचोलिरहेका निमुखा पाइला! भोलि बिहान एकबाँस घाम आएपछि चिसो सडकको किनारमा टक्क अडिनू, भक्कानोलाई घाँटीमै दबाएर राष्ट्रिय गान गाउनू! अनि आँसुलाई आँखामै अड्याएर खाली खुट्टै नापिरहनु जीवनको काँडेदार बाटो! देश बनाउनेको चित्कार आदेश बनाउनेले कहिल्यै बुझ्दैनन!’

 

त्यस्तै स्तम्भकार तथा लेखक नरेन्द्रजंग पिटर प्रधानमन्त्री ओलीले अरु कसैको शैली पछ्याको उल्लेख गर्दै लेख्छन्, ‘म तिम्रो हुकुममा ताली बजाउन्नँ, थाली ठोक्दिनँ, अझ दीपावली त गर्दै गर्दिनँ । राष्ट्रियगानप्रति उच्च संमान छ,तर तिम्रो हुकुममा म गाउन सक्दिनँ, लेख्न सक्दिनँ । तिमी कपी गर्दा रहेछौ, स्वयं तिमी सिर्जनात्मक सोच र दूरगामी योजनाकार भने रहेनछौ ।’

 

पत्रकार समा थापाको भने यसमा अलि फरक विचार रहेको छ । ट्वीटरमा उनी लेख्छिन्, ‘भारतमा मोदीले भनेकै भरमा यता  दियो बालेर अनेकन गरेका नेपालीलाई नै हो के नयाँ वर्षमा राष्ट्रिय गान बजाउने अपिल अराष्ट्रिय लाग्ने । आफ्नो इच्छा हो भोलि ताली बजाउने,नबजाउने तर देशको प्रमले आव्हान गरिसकेकाले मेरो चाहिँ समर्थन छ।’

 

त्यस्तै डाक्टर रामेश कोइराला ट्विटरमा लेख्छन्, ‘अस्ति नै विवेकशीलले यसरी नै ताली बजाउने आह्वान गर्दा हामीहरूलाई सम्मानयोग्य ठानिएन। तर भोलि ठानिने भइयो। लु भनुम् त सर्मिसहरू, तपाईँ सम्मान गर्दै कि चाकरी गर्दै? कि सम्मान पनि मनबाट नआएर दलबाट आउँछ?’

 

त्यस्तै राजनीतिक अभियन्ता तथा लेखक केशव दाहाल लेख्छन्, ‘राष्ट्रिय गीतप्रति सम्मान छ। तर जनतालाई उत्प्रेरित गर्ने तरिका यो होइन । बरु यस्तो होस, बिहानै पीएमको सम्बोधन आओस् । प्रतिज्ञा सुन्न पाइयोस भ्रष्टलाई जेल, संसद् विकाश कोष खारेजी, प्रभाकारी राहत, शिक्षा, स्वास्थ निःशुल्क ।  सम्पूर्ण सामाजिक सुरक्षाको प्रत्याभूति । जनमन आफै हाँस्ने छ।’

 

त्यस्तै थुप्रै व्यक्तिले प्रधानमन्त्री ओली अपिलको समर्थन र आलोचना गरेका छन् ।

कान्तिपुर

Link copied successfully