सीमामा थप सुरक्षा बढाउन मुख्यमन्त्री राउतले मागे सहयोग

चैत्र ३०, २०७६

मातृका दाहाल

काठमाडौँ — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल–भारत सीमामा थप कडाइ गरिदिन गृहमन्त्री रामबहादुर थापासँग आग्रह गरेका छन् ।

वीरगन्जको एक मस्जिदमा आएका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबार गृहमन्त्री थापालाई टेलिफोन गरेर मुख्यमन्त्री राउतले भारतसँग सीमा जोडिएका नाकाबाट मानिस आवतजावत पूर्ण रुपमा निषेध हुने गरी सुरक्षा व्यवस्था कडा पार्न आग्रह गरेका हुन् ।

‘वीरगन्‍जको मस्जिदमा आएका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि प्रदेश दुईका मुख्यमन्त्रीले गृहमन्त्रीलाई फोन सम्पर्क गरी सीमा नाकाबाट मानिस आवतजावत निषेध गरिदिन आग्रह गर्नुभयो,’ गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले भने, ‘त्यसक्रममा गृहमन्त्रीले लकडाउन कार्यान्वयन र सीमा नाका सिल गर्न सबै रणनीति अवलम्‍बन गरिएको र थप तैनाथी बढाइने स्पष्ट पार्नुभयो ।’

मुख्यमन्त्री राउतले कोरोना  संक्रमण थप फैललिन नदिन सीमा नाका सिल गर्नुको विकल्प नभएको पनि बताएका थिए । संघीय सरकार अन्तर्गतका प्रशासन र प्रहरी संरचनालाई थप चुस्त रुपमा खटाउन पनि आग्रह गरेका थिए । जवाफमा गृहमन्त्री थापाले गोरेटो बाटो र खेतबारीसम्म सुरक्षा फौज तैनाथ भइसकेको र आवश्यकता परे अन्य स्थानबाट थप जनशक्ति परिचालन गरिने बताएका थिए ।

प्रदेश २ का ८ जिल्लाको भारतसँग ४ सय ६४ किमि लम्बाइ सीमा छोएको छ । खुल्ला सीमानाका कारण अनौपचारिक नाका र खेतबारीबाट आवतजावत गर्नेक्रम अझै पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन । सशस्त्र प्रहरीले २ नम्बर प्रदेशमा मात्रै सीमातर्फ ४ सय २६ चेकप्वाइन्टबाट सुरक्षाजाँच गरी आवतजावत रोकेको छ । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully