फेसबुक लाइभमार्फत परीक्षाफल प्रकाशन 

वैशाख १, २०७७

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–९, दमकडा माध्यमिक विद्यालयले लकडाउनका कारण वेबसाइट र फेसबुक लाइभमार्फत् आइतबार वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । 

वर्तमान अवस्थालाई मध्यनजर गर्दै सूचना प्रविधिको प्रयोग गरेर २०७६ सालको वार्षिक परीक्षाफल प्रकाशन गरेको हो । विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाका अनुसार विद्यालयमा रहेको कम्प्युटर प्रयोगशालालाई डिजिटल स्टुडियोका रुपमा प्रयोग गरेर परीक्षाफल प्रकाशन गरेको छ । परीक्षाफल फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो । इन्टरनेट पहुँच र फेसबुक लाइभ सम्पर्कमा नरहेका अभिभावकहरुले रेकर्ड हेरेर आफ्ना छोराछोरीलाई बधाई दिए । 


आधारभूत तह संयोजक जीवन आचार्यले कक्षा नर्सरीदेखि ५ सम्म, शिक्षक धनपति गैरेले आधारभूत तह ६ देखि ८ सम्म र माध्यमिक तह संयोजक इन्द्रराज श्रेष्ठले कक्षा ९ को परीक्षाको नतिजा सार्वजनिक गरे । शिक्षकहरुले पहिलो, दोस्रो र तेस्रो हुनेको नामसहित प्राप्तांक र उत्तीर्ण हुनेको संख्या सुनाए ।


विद्यालयले नयाँ शैक्षिक शत्र २०७७ को भर्ना पनि खुला गरेको छ । डिजिटल प्रविधिको प्रयोग गरी नतिजा प्रकाशन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए । जिल्लामै वार्षिक परीक्षाफल प्रकाशन गर्ने दमकडा माध्यमिक विद्यालय पहिलो विद्यालय बनेको उनको दाबी छ ।  

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully