धादिङ — लकडाउनको मौका छोपेर तस्करहरुले त्रिपुरासुन्दरी–३ कुभिण्डेस्थित माता जलेश्वरी सामुदायिक वनको खयर सखाप पारेका छन् । सामुदायिक वनकै पदाधिकारीहरुको मिलोमतोमा करिब २ सय खयरका रुखहरु काटेर ओसार्न थालेपछि स्थानीयवासीहरु आक्रोशित भएका हुन् ।
तस्करले काटेका खयर कब्जामा लिएर स्थानीय वन उपभोक्ताहरुले वन डिभिजन कार्यालयलाई खबर गरेका थिए ।सल्यानटार सबडिभिजनको सिफारिसमा गत माघ महिनामै त्रिपुरासुन्दरीका वडा नम्बर १ , २ र ३ का निजी वनमा पर्ने १ सय ८५ रुख काट्न स्थानीय रणवहादुर दाहाल, शिव गुभाजुलगायत १५ जनाले संयुक्त निवेदन दिएका थिए ।
उक्त निवेदनअनुसार डिभिजन वन कार्यालयले मंसिर २२ गतेदेखि पुस १० गते स्वीकृति दिई पुस १७ गते दिएको छोडपुर्जीअनुसार एक सय ७४ रुख कटानी गरी बुटवल निवासी ठेकेदार गुप्तबहादर सारुले १ हजार ९ सय ३ वर्गफिट काठ ढुवानी गरिसकेका थिए । अनुमति लिएका बाँकी ११ रुख काट्ने नाममा लकडाउनकै मौका पारेर वन समितिकै अध्यक्ष श्याम बानियाँ र सचिव गणेशबहादुर अधिकारीसमेतको मिलोमतोमा अनुमति नै नलिएको सामुदायिक वनमा २७ वटा खयरका रुख काटेर ढुवानी गर्ने तयारीमा रहेको बेला स्थानीय उपभोक्ताले कब्जामा लिएका हुन् । वन समितिका सचिव गणेशबहादुर अधिकारी पटक–पटक काठ तस्करीका विवादमा मुछिएका व्यक्ति हुन् ।
स्थानीय उपभोक्तको उजुरीपछि रुखकटानी भएको सामुदायिक वनको अनुगमन र खयरकाठ नियन्त्रणमा लिन गएका सहायक वन अधिकृत एकलाल नेपालीले ११ सय टुक्रा पारेका गिँड (अन्दाजी ६ सय वर्गफिट) अवैध कटानी भई ढुवानी गर्ने तयारीमा रहेको बताए । सहायक वन अधिकृत नेपालीका अनुसार वन समितिका अध्यक्ष बानियाँ र सचिव अधिकारीको प्रारम्भिक बयान लिइएको र ठेकेदार गुप्तबहादुर सारुसँग सम्पर्क हुन नसके पनि अनावश्यक मुद्दा प्रक्रियामा जाने बताए ।
कटानी गरिएका खयरका गिँड बोक्ने क्रममा गत फागुन ८ गते भारतबाट फर्केका इन्द्र कँडेललाई अन्य २२ जना काठ बोक्ने मजदुरहरुले कोरोना सल्केको आरोप लगाएर विवाद चर्किएपछि खयरतस्करी हुँदै गरेको पोल खुलेको थियो ।
वडा ३ का अध्यक्ष लोकेन्द्र थापाकै रोहवरमा खयर बरामद गरिएको र खयर कटानीमा संलग्न ठेकेदार सारु, वन समितिका पदाधिकारीउपर छानबिन हुने जिल्लास्थित डिभिजन वन प्रमुख जीवनाथ पौडेल बताएका छन् ।
