दिनहुँ दुई सयलाई सित्तैमा बिरयानी

प्याकेटमा तयार पारेर बाँड्ने उनी एक ठाउँ भीड भएर बस्नु हुँदैन भन्नेमा सचेत छन् । बिरयानी लिन आउने पनि प्याकेट लिएर अन्तै गएर खान्छन् ।

चैत्र २९, २०७६

काठमाडौँ — बाह्रै महिना चहलपहल हुने ठमेल यतिबेला चकमन्न छ । सातघुम्तीमा कफी विथ मेन्ज लेखिएको एउटा सटर भने यो बेला पनि दिनहुँ खुलिरहेको छ तर कफी बेच्न भने होइन ।

लकडाउनले अलपत्र परेकाहरूको भोकप्यास मेटाउन तल्लीन छन् कफी विथ मेन्जका सञ्चालक मीनहाज खान । उनको दैनिकी सुरु हुन्छ बिहान ८ बजेबाटै । लकडाउनले धेरै मान्छे फुर्सदिला भए पनि उनको व्यस्तता पहिले जस्तै छ ।

च:मतीस्थित एक गार्मेट कारखानाको एक छेउमा बिहान ९ बजेदेखि उनी बिरयानी पकाउन सुरु गर्छन् । बिरयानीका लागि आवश्यक पर्ने गाँजर, कोभी, मटरकोसा र घिउलगायतको जोहो अघिल्लो दिन नै गर्छन् । चामल स्टक नै छ ।

पाकेको बिरयानी बट्टा–बट्टामा राखेर कार्टुनमा प्याक हुन्छ । दिनभरिमा धेरै मान्छेसँग भेट हुने भएकाले मीनहाज कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन पीपीई लगाउँछन् र स्कुटरमा राखेर सातघुम्ती लान्छन् । उनीसँग स्कुटरको सवारी पास छ ।

११ बजेदेखि ४ बजेसम्म पसलमा आउनेलाई बिरयानी सर्भ गर्छन् । उनको यो दिनचर्या सुरु भएको १६ दिन भयो । सुरुमा ५० देखि ६० जनालाई उनले बिरयानी बाँडे । ‘अहिले दिनमा दुई सय जनालाई नि:शुल्क खुवाइरहेको छु,’ बिरयानी खान आएकालाई ज्वरो नाप्दै मीनहाज भन्छन्, ‘दैनिक खान आउनेहरू बढिरहेका छन् ।’

१८ दिनदेखि लकडाउन जारी भए पनि ठमेलमा अहिले पनि केही पर्यटक छन् । होटल र होस्टलमा बस्ने पर्यटकसमेत भेज बिरयानी खान कफी विथ मेन्ज आइपुग्छन् ।

मजदुरी गरेर जीवन निर्वाह गर्ने, ज्यालादारीमा काम गर्ने, सडक बालबालिका र ठेला र रिक्साचालक पनि थुपै्र छन् । उनीहरूले पनि दैनिक बिरयानी खाइरहेका छन् । मीनहाज भन्छन्, ‘बिहान ११ बजेपछि अब खाने बेला भयो भनेर मान्छे ओइरिन्छन् ।’ पसलमा भीडभाड भने हुन दिइँदैन । पसलमा बसेर खान पाइँदैन । परिस्थितिलाई बुझ्दै आउने जतिले प्याकेट लिन्छन् र आफ्नो बाटो लागिहाल्छन् । अहिलेसम्म करिब १५ सय जना जतिलाई उनले बिर्यानी बाँडेका छन् ।

किन नि:शुल्क भन्ने प्रश्नमा उनी भन्छन्, ‘विषम परिस्थिति र दु:खकष्ट आइपर्दा सहयोगको हात बढाउनुपर्छ भन्ने भावनाले यो काम गरेको हुँ । सेवा नै धर्म हो ।’ भोकाहरूलाई खाना दिँदा मनमा शान्ति मिल्ने गरेको पनि उनले सुनाए । ‘मलाई बुबाले यस्तै सिकाउनुभएको थियो,’ केही दिनअघि बितेका बुबाको भनाइ सम्झना गर्दै उनले कान्तिपुरसित भने, ‘तिमी अरूलाई सहयोग गर, ईश्वरले तिमीलाई हेर्छन् ।

उनको सहयोगी मन देखेर केही दिनअघि उनका साथी अकबर र अमीर थापाले उनलाई १३ बोरा चामल सहयोग गरेका छन् । अरू सबै खर्च उनी आफैंले व्यवस्थापन गरेका छन् । यो काममा उनलाई पत्नी र दाइ मेराजलगायतले साथ दिएका छन् । पसलमा भने उनी एक्लै बसेर सर्भ गर्छन् ।

लकडाउन अवधिभर उनले बिरयानी बाँड्ने कामलाई निरन्तरता दिने योजना बनाएका छन् । लकडाउन खुले पनि मजदुरी गरेर निर्वाह गर्ने, बेसहारा र सडक बालबालिकालाई निरन्तर बिर्यानी बाँड्ने उनले बताए । ‘खाने बानी परेकाहरू दैनिकजसो यहाँ आएर खाने गरेका छन्,’ मीनहाजले सुनाए, ‘आम्दानी गर्न नसकेर आपत् परेकाहरूलाई पछिसम्मै नि:शुल्क खाना खुवाउनेछु ।’

तस्बिर सौजन्य: मीनहाज खान

लकडाउनसीमानाकाकोरोना भाइरस

Link copied successfully