वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसबाट कुनै पनि देशमा एकै पटक दुई हजारभन्दा बढीको मृत्यु भएको यो पहिलो पटक हो ।
जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार अमेरिकामा शुक्रबार मात्रै २ हजार एक सय ८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ६९ पुगेको छ । त्यस्तै संक्रमितको संख्या करिब ५ लाख एक हजार रहेको छ भने तीमध्ये करिब २९ हजार निको भएका छन् । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा हुने देखिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा बढी १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु भएकामध्ये करिब आधा न्युयोर्क राज्यमा मात्रै भएको छ ।
अमेरिकी अनुसन्धानकर्ताहरुले शुक्रबार कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या उच्च हुने र त्यसपछि बिस्तारै घट्दै जाने बताएका थिए । उनीहरुले मे १ सम्ममा दैनिक ९ सय ७० जनाको मृत्यु हुने बताएका थिए ।
योसँगै कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार शनिबार बिहानसम्म कोरोना संक्रमणबाट एक लाख २ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ । त्यस्तै करिब १७ लाख संक्रमित हुँदा तीमध्ये करिब ३ लाख ७७ हजार भने निको भएका छन् ।
सम्बन्धित समाचार
