कोरोना प्रकोप : मृतकको संख्या एक लाख नाघ्यो, अमेरिकामा मात्रै १८ हजारभन्दा बढीको मृत्यु

चैत्र २९, २०७६

एजेन्सी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ ।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ९४ हजारभन्दा बढी रहेको छ ।  संक्रमितमध्ये करिब ३ लाख ७६ हजार भने निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकामा मात्रै १८ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा मात्रै शनिबार बिहानसम्म १८ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या करिब ५ लाख रहेको छ भने निको हुनेको संख्या  २८ हजार ७ सय ९० रहेको छ । अमेरिकामा शुक्रबार मात्रै २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कसैको मृत्यु भएको छैन । 

त्यस्तै शनिबार बिहानसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ४९ रहेको छ  । त्यस्तै इटालीमा संक्रमितको संख्या करिब एक लाख ४७ हजार रहेको छ । संक्रमितमध्ये करिब ३० हजार निको भएका छन् । 

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १६ हजार ८, फ्रान्समा १३ हजार २ सय १५, बेलायतमा ८ हजार ९ सय ७४, इरानमा ४ हजार २ सय ३२, चीनमा ३ हजार ३ सय ४०, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, नेदरल्यान्ड्समा २ हजार ५ सय २०, ब्राजिलमा एक हजार ६८, टर्कीमा एक हजार ६ र स्विजरल्यान्डमा एक हजार २ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully