कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनासम्बन्धी अनुसन्धान गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयमा पीसीआरसम्बन्धी र मेडिकल बायोलोजीमा विद्यावारिधि गर्ने एक दर्जनभन्दा बढी जनशक्ति छ।
गोविन्द पोखरेल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ सम्बन्धी अनुसन्धान गर्ने भएको छ। उपकुलपति धर्मकान्त बाँस्कोटाले अनुसन्धानका लागि विश्वविद्यालयले प्रस्ताव तयार गरिरहेको कान्तिपुरलाई जानकारी दिए।

कोरोनासम्बन्धी अनुसन्धान गर्ने त्रिविको तयारी

नेपाल र अन्य मुलुकबीचको कोरोना भाइरोलोजीका विषयमा अध्ययन गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ। 'अनुसन्धानका लागि चाहिने बजेट त्रिविसँग नभएपछि स्रोत जुटाउने काम भइरहको छ,' उपकुलपति बाँस्कोटाले भने।


सरकारले आवश्यक ठाने कोभिड–१९ को परीक्षणमा त्रिविसँग भएका प्रयोगशाला प्रयोग गर्न सकिने उनले बताए। त्रिविसँग कोरोना परीक्षणका लागि चाहिने ३ वटा आरटी–पीसीआर मेसिन छन्। तत्कालै 'हाई लेभल रिसर्च' गर्न नसकिए पनि कोरोनाले पार्ने सामाजिक, आर्थिकलगायत अन्य क्षेत्रको अनुसन्धानमा जुट्ने विश्वविद्यालयको तयारी छ।

उपकुलपति बाँस्कोटाले यसअघि नै छिमेकी मुलुक र पश्चिमी मुलुकमा फैलिएको कोरोना भाइरसको तुलनात्मक अध्ययन गरी भविष्यमा यसका लागि स्थिर विधि पत्ता लगाउन विश्वविद्यालयका सम्बन्धित केन्द्रीय विभागहरुलाई निर्देशन दिएका थिए । माइक्रो बायोलोजी, बायोटेक्नोलोजी र भौतिकशास्त्र विभागलाई अनुसन्धानको जिम्मा दिइएको र रसायनशास्त्र विभागलगायत यसैमा समेटिने उनको भनाइ छ।

नेपालको अर्थतन्त्रमा पुर्‍याउने प्रभावसम्बन्धी अनुसन्धानको जिम्मा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सीईडीए) लाई, नेपालको सामाजिक तथा मानवीय क्षेत्रमा पुर्‍याउने प्रभावसम्बन्धीको अनुसन्धान नेपाल र एसियाली अनुसन्धान केन्द्र (सीएनएस) लाई दिने निर्णय त्रिविले गरिसकेको छ। यस्तै त्रिविले अवरुद्ध कक्षाहरु अनलाइनबाटै सञ्चालन गर्ने तयारी थालेको छ।

कोभिड-१९ सम्बन्धी विश्वविद्यालयले पुर्‍याउन सक्ने सहयोगबारे त्रिवि पदाधिकारी र विभागीय प्रमुखहरुसँग छलफलसमेत भइरहेको उनले जानकारी दिए। त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा रामप्रसाद खतिवडाले त्रिविले यसअघि पनि मलेरिया, डेंगु, कालाजारजस्ता सरुवा रोगको अनुसन्धान गरिसकेकाले कोरोनासम्बन्धी अनुसन्धान गर्न पनि सक्षम रहेको बताए। उनले त्रिविका ल्याबबाट पनि कोभिड–१९को परीक्षण गर्न सरकारलाई आग्रह गरे। ‘हाम्रा विभागका दुई ल्याबमा तत्काल कोरोना परीक्षण गर्न सकिन्छ,’ डीन खतिवडाले भने, ‘हामीसँग ३ वटा आरटी पीसीआर र पर्याप्त जनशक्ति पनि छन्।’

यस विषयमा सरकारबाट अहिलेसम्म कुनै जानकारी नआए पनि अनुसन्धानको काम भने अगाडि बढाउन थालेएको त्रिविको जनाएको छ। ‘देशभर ९ वटा पोजिटिभ केसमात्रै देखिएका छन्,’ डीन खतिवडाले भने, ‘९ वटामात्रै स्याम्पल भएकाले तत्कालै उच्चस्तरको अनुसन्धान भने सम्भव हुँदैन।’


परीक्षणका क्रममा त्रिविका प्रयोगशालाहरुमा उच्च स्वास्थ्य सामग्री उपकरण, मास्क तथा पीपीई भने सरकारले उपलब्ध गराउनुपर्ने त्रिविको माग छ। यस्तै, कोभिड–१९को सन्दर्भमा धेरैभन्दा धेरै परीक्षण गर्नपर्ने र राज्यले विश्वविद्यालयको विज्ञ तथा अनुसन्धाकर्ताहरुलाई पनि प्रयोग गर्न सक्ने उनले बताए।


त्रिविमा पीसीआरसम्बन्धी र मेडिकल बायोलोजीमा विद्यावारिधि गर्ने एक दर्जनभन्दा बढी जनशक्ति छ। बायो टेक्नोलोजी र माइक्रो बायोलोजी विभागमा मात्रै करिब दुई सय जनशक्ति छ।

प्रकाशित : चैत्र २८, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?