कोशी अस्पतालमा स्वाबको नमुना परीक्षण सुरु

चैत्र २८, २०७६

मोरङ — विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षण सुरु गरिएको छ । परीक्षण सुरु गर्नुअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालको ल्याबको निरीक्षण गरेका थिए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले अस्पतालस्थित पिसिआर ल्याबको स्तरोन्नति लगायतको सम्पूर्ण तयारी सकिएको बताइन् । उनले भनिन्, ‘आजैबाट नमुना परीक्षण सुरु गर्छौं ।’ दैनिक दुई सय जनाको स्वाबको नमुना परीक्षण गर्ने लक्ष्य रहेको उनले बताइन् ।


संघीय सरकारले कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षणका लागि विज्ञसहितको आवश्यक उपकरणलगायतका सामग्री बिहीबार हेलिकप्टरबाट विराटनगर पठाएको थियो । 


विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस्ट तथा कोरोना परीक्षण विज्ञ समूहका बलराम गौतमले बताए । उनले नमुना परीक्षण सुरु भएसँगै थप सामग्री संघीय सरकारले पठाउने बताए ।


प्रदेश १ स्थित १४ वटै जिल्लामा कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षण संकलन गरेर कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर परीक्षण गरिने मन्त्री घिमिरेले बताए ।


यसअघि प्रदेश १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै स्वाबको नमुना परीक्षण हुँदै आएको थियो ।


यसैबीच, प्रदेश १ मा रहेका ५ वटा क्वारेन्टाइनबाट एकसाथ शुक्रबारदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्टसमेत सुरु गरिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलसोत क्वारेन्टाइनबाट र्‍यापिड टेस्ट सुरु गरिएको मन्त्री घिमिरेले बताए ।


कोरोना भाइरसका शंकास्पद बिरामीको रगत लिएर र्‍यापिड डाइग्नोस्टिक किटमार्फत परीक्षण सुरु गरिएको र शनिबारसम्म १४ वटै जिल्लामा आवश्यक सामग्री पठाएर र्‍यापिड टेस्ट एकसाथ गरिने घिमिरेले बताए ।


एक जनाको र्‍यापिड टेस्टका लागि ४५ मिनेट समय लाग्ने भएकाले दैनिक एक ठाउँमा एक सय जनाको परीक्षण गर्ने लक्ष्य रहेको पनि मन्त्री घिमिरेले बताए ।

कोरोना भाइरस

Link copied successfully