कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवै जना सहमत
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीसँगको संवादमा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवैजना सहमत भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिएका छन् ।
त्यस्तै लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिन पनि आफूहरुबीच सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
त्यस्तै कोरोना संक्रमणको त्रासका बीच पनि आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज बनाउने विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको ओलीले बताएका छन् । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतका सहयोगका लागि पनि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई धन्यवाद दिएको बताएका छन् ।
आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।
— K P Sharma Oli (@kpsharmaoli) April 10, 2020
यसैबीच काेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत अघि सारेको योजनाअनुरुप स्थापना गरिने सार्क कोभिड-१९ आपत्कालीन राहत कोषमा पाकिस्तानले ३० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
