चिकित्सक र स्वास्थ्यकर्मी जोखिम मोलेर उपचारमा संलग्न
सल्यान — जिल्ला अस्पताल सल्यानमा संक्रमणबाट जोगिन प्रयोग हुने एन–९५ मास्कको अभाव भएको छ । एन–९५ मास्क नहुँदा अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी जोखिम मोलेर बिरामीको उपचार गर्न बाध्य छन् ।
जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च भए पनि एन–९५ मास्क नहुँदा अन्य बिरामीको समेत उपचारमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. अर्जुन बुढामगरले बताए । उनका अनुसार जिल्ला अस्पतालमा करिब ३५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । ‘माथिल्ला निकायले उपलब्ध गराएनन्, अस्पतालले आफै खरिद गर्न खोज्दा पाइएन,’ उनले भने, ‘सबैलाई तत्कालका लागि सर्जिकल मास्क प्रयोग गर्न आग्रह गरिएको छ ।’
अस्पतालमा दैनिक ७० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । सजिर्कल मास्क लगाउँदा मुखको भाग पूर्ण रुपमा नढाकिने भएकाले स्वास्थ्यकर्मीले जोखिम मोल्नुपरेको अस्पतालका डा. प्रदीप शर्माले बताए । उनका अनुसार अस्पतालमा भर्ना भएका बिरामीको लागि पनि एन–९५ मास्क आवश्यक छ ।
