कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

संसद हुँदाहुँदै कोरोनाका लागि राजनीतिक संयन्त्र आवश्यक छैन भन्‍ने सुझाव आए : मन्त्री तुम्बाहाङ्फे

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)को रोकथाम तथा नियन्त्रण गर्न छुट्टै राजनीतिक संयन्त्र आवश्यक नभएको सुझावव आएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग उक्त विषयमा समन्वय गर्न पाएको जिम्मेवारी बमोजिम तुम्बाहाङ्फेले दलका प्रतिनिधिसँग छलफल गरेकी थिइन् ।

संसद हुँदाहुँदै कोरोनाका लागि राजनीतिक संयन्त्र आवश्यक छैन भन्‍ने सुझाव आए : मन्त्री तुम्बाहाङ्फे

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र उपचारबारे संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट प्राप्त सुझाव तुम्बाहाङ्फेले कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बुझाएकी छन् ।

राजनीतिक दलका नेताहरूले कोरोना रोकथामका लागि छुट्टै राजनीतिक संयन्त्र आवश्यक नभएको सुझाव दिएको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् । 'जननिर्वाचित संसद रहेको अवस्थामा छुट्टै संयन्त्र आवश्यक छैन भन्ने राजनीतिक दलहरूको सुझाव रह्यो,' उनले भनिन् ।

राजनीतिक दलका नेताहरूले स्वास्थ्य सामग्री छिटो प्रक्रिया पुर्याएर ल्याउने र सम्बन्धित निकायमा वितरण गर्ने, तथ्यांक संकलन तथ्यगत रूपमा गर्नुपर्ने, राहत वितरण व्यवस्थित गर्नुपर्ने, तीन तहका प्रशासन संयन्त्रलाई सक्रिय बनाउनुपर्ने सुझाव दिएका तुम्बाहाङ्फेले जानकारी दिइन् ।

यसैगरी सीमा पारी भारततर्फ क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई १४ दिनपछि नेपालमा ल्याई पुनः क्वारेन्टाइनमा राख्ने वा तत्काल नेपालतर्फ ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्ने, हाल उपयोगमा नरहेका स्वास्थ्य सामग्रीलाई उपयोगमा ल्याउने, सम्भावित संक्रमणलाई दृष्टिगत गरी पर्याप्त भेन्टिलेटरको व्यवस्था गर्ने, संघ, प्रदेशका सांसदलाई आफूले प्रतिनिधित्व गरेको निर्वाचन क्षेत्रमा कोभिड– १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन तथा स्थानिय तहसँग समन्वय गरी सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारी दिन पनि सुझाव आएका पनि उनले बताइन् ।

राजनीतिक दलका नेताहरूले संक्रमित व्यक्तिलाई सेवा दिने एम्बुलेन्स चालकलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्ने, सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति वृद्धि गर्दै सक्रिय बनाउनुपर्ने, कालोबजारीलाई कडाइका साथ रोक्नुपर्ने, क्वारेन्टाइनमा राखिएकालाई अवश्यकताअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दलका प्रतिनिधिले दिएका थिए ।

मन्त्री तुम्बाहाङ्फेले नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, राजपा प्रमुख सचेतक लक्ष्मणलाल कर्णसहित नेमकिपाका सांसद प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसँग छलफल गरेकी थिइन् ।

राजनीतिक दलका प्रतिनिधिले दिएका सुझाव कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल हुने र प्राथमिकताका आधारमा मन्त्रिपरिषद्मा प्रस्ताव लगिने बताइएको छ ।

प्रकाशित : चैत्र २८, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?