वीरेन्द्रनगर — दैलेखका भरत थापा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित चिल्ड्रेन्स प्याराडाइज माविमा कक्षा ९ मा पढ्छन् । कोरोना भाइरसको संभावित सक्रमणबाट बच्न नेपालमा ‘लकडाउन’ भएपछि उनी परीक्षा सकेर घर गए । लामो समय विद्यालय बन्द हुने भएपछि उनलाई घर बसिरहन पट्यार लागिरहेको थियो । तर, उनी अध्ययनरत विद्यालयले घरमै बसेर पनि आफ्नो पढाइलाई निरन्तरता दिन सक्ने व्यवस्था मिलाएपछि उनी दंग छन् ।
‘स्कुल कहिले खुल्ने भन्ने थाहा छैन,’ थापा भन्छन्, ‘पछि हामीलाई एकैचोटि पढाईको भार नहोस् भनेर नै स्कुलले हाम्रो खाली समयलाई पनि सदुपयोग गरिदिएको छ ।’ विद्यार्थीलाई मंगलबारदेखि अनलाइनबाटै पढाइरहेको विद्यालयका प्रवन्ध सञ्चालक यदुप्रसाद ज्ञावलीले बताए।
यो प्रविधिमा ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड प्रयोग गर्ने गरिएको छ । यसमा विद्यार्थीका अभिभावकको सहायतामा एप्स डाउनलोड गरिन्छ । त्यसपछि शिक्षकले एप्सको नेटवर्कमा आवद्ध हुनको लागि आइडी नम्बर दिन्छन् । सोही आइडी नम्बरबाट आ–आफ्नो घरमा रहेका शिक्षक र विद्यार्थी जोडिने गर्छन् । अनलाइनमार्फत एउटा कक्षा ४० मिनेटससम्म चल्ने गर्छ । प्रत्येक विषय पढाउँदा विद्यार्थीलाई फरक–फरक आइडी दिने गरिन्छ । बिहान ९ बजेदेखि ११ बजेसम्म दुईवटा र दिउँसो ३ बजेदेखि तीनवटा विषय पढाउने गरिएको ज्ञवालीले जनाए । यो प्रविधिमा शिक्षकले व्याख्यान विधिबाट पढाउने गर्छन् । यद्यपि विद्यार्थीलाई कुनै कुरा सोध्न मन लागेमा हात उठाएर सोध्न मिल्छ ।
प्याराडाइजकी अभिभावक विमला डाँगीले लामो बन्दको काराण पढ्ने बानी बिर्सिइरहेका बेला यसले विद्यार्थीलाई व्यस्त बनाएको बताइन् । ‘प्रविधिको दुरुपयोग हुँदा कहिलेकाहिँ बालबालिकालाई नकारात्मक असर पर्ने गरेको छ,’ उनले भनिन्, ‘तर यो प्रविधि निकै फलदायी भएको छ ।’ अनलाइन पढाइ प्रभावकारी भएपछि विद्यालयले आइतबारदेखि कक्षा ८ बाट ९ मा जाने विद्यार्थीलाई पनि पढाउन सुरु गर्ने योजना बनाएको छ ।
