सिड्नी — अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित सबै नेपाली निको भएका छन् । सिड्नीका ४ र मेलबर्नका ३ जना नेपालीमा भाइरसको संक्रमण देखिएको थियो ।
क्यानबेरास्थित नेपाली दूतावासका अनुसार दुई साता पहिले संक्रमण देखिएपछि घरैमा सेल्फ आइसोलेसनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको हो । ‘यो अत्यन्तै खुसीको कुरा हो, कोरोना भाइरस देखिएका सबै नेपालीहरु निको भएर आफ्नो दैनिकीमा फर्किसक्नुभएको छ,’ अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालले कान्तिपुरलाई भने ।
यसपहिले तास्मानियामा एक नेपाली बिद्यार्थीमा भाइरसको संक्रमण देखिएको भए पनि उनी निको भएर घर फर्किसकेका छन् । करिब १ लाख २० हजार नेपाली बसोबास गर्ने अस्ट्रेलियामा कुनै पनि नेपाली संक्रमणमा नपर्नु खुसीको खबर भएको दूतावासको भनाइ छ ।
दूतावासका अधिकारीले यहाँ रहेका नेपालीले सरकारले लागू गरेको सबै नियमलाई पालना गरेका कारणसमेत संक्रमण नभएको दाबी गरेको छ । राजदूत दहालले आफूले भाइरसको संक्रमण भएका नेपालीका बारेमा सम्बन्धित अवैतनिक दूतावास, एनआरएनलगायतका संस्थासँग समन्वय गरेर दैनिक रूपमा जानकारी लिने गरेको दाबी गरे ।
‘अस्ट्रेलियाले भाइरस संक्रमण नियन्त्रणका लागि चालेका कदम प्रभावकारी भइरहेकाले समेत भविष्यमा संक्रमण हुने सम्भावना कम छ,’ उनले भने, ‘तर सबै नेपालीले सरकारले जारी गरेका नियम तथा सुझावलाई पालना गर्न आवश्यक छ ।’
यसैबीच, दूतावासले अस्ट्रेलियामा रहेका नेपाली पत्रकारसँग समस्यामा रहेका विद्यार्थीलाई केकस्ता सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरेको छ । भिडियोमार्फत गरिएको छलफलमा विद्यार्थीका समस्यालाई दीर्घकालीन समाधानको उपाय निकाल्नुपर्ने निष्कर्ष निकालिएको छ ।
यहाँ अध्ययनरत करिब ५४ हजार नेपाली विद्यार्थी सबै समस्यामा नरहेको बताउँदै प्राथमिकताका आधारमा समस्यामा रहेका विद्यार्थीलाई सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो । पत्रकारको संस्था एन्जाका अध्यक्ष हेमन्त काफ्लेले दूतावासले सही सूचना समयमै उपलब्ध गराउनुपर्ने र विद्यार्थीहरुको शुल्क, घरभाडालगायतका समस्यालाई कूटनैतिक रूपमा दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए ।
अस्ट्रेलियामा अहिलेसम्म यस भाइरसका कारण ५४ जनाले ज्यान गुमाइसकेका छन् भने ६ हजार २ सयभन्दा बढी संक्रमित छन् । नयाँ संक्रमितको संख्या तुलनात्मक रूपमा कम हुँदै गएको भए पनि संक्रमणका कारण मृत्यु हुनेको संख्या भने बढिरहेको छ । शुक्रबार मात्र यहाँ कोभिड–१९ का कारण ३ जनाको मृत्यु भएको छ ।
