२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्‍वका धेरै देशमा पीपीई अभाव, प्लास्टिक र रेनकोटको भर

व्यक्तिगत सुरक्षा कवचको अभाव भएपछि बेलायत, स्पेन, इटाली, भारतलगायत देशका अस्पतालमा जोखिम मोलेर कोरोना संक्रमितको उपचार गर्दै स्वास्थ्यकर्मी
एजेन्सीहरु

लन्डन — कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या लगातार बढ्दै गएपछि उपचारमा संलग्न विश्वका कतिपय देशका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) अभाव भएको छ ।

विश्‍वका धेरै देशमा पीपीई अभाव, प्लास्टिक र रेनकोटको भर

बेलायतका कतिपय अस्पतालले सघन उपचार कक्षका शय्याहरू थपिरहेका छन् । तर त्यसमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीका लागि भने उनीहरूले पर्याप्त ध्यान दिएका छैनन् । फलस्वरूप स्वास्थ्यकर्मीहरू जोखिम मोलेरै संक्रमितको उपचारमा संलग्न छन् ।

बेलायतका केही अस्पतालका सघन उपचार कक्षका चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले सुरक्षा साधनको अभाव झेलिरहेको बताएका छन् । बीबीसीका अनुसार केही स्वास्थ्यकर्मीले उनीहरूको अस्पतालमा उपकरण अभाव भए पनि मिडियासँग कुरा नगर्न चेतावनी दिइएको जनाएका छन् ।

बेलायतको मिडल्यान्डस्थित एक अस्पतालकी चिकित्सकले आफ्नो परिचय गोप्य राख्ने सर्तमा कोभिड–१९ ले संक्रमितले सघन उपचार कक्ष भरिएको एक अस्पतालबारे बताइन् । अस्पतालका सबै शल्यक्रियाहरू पछि सारिएका छन् भने क्यान्सर क्लिनिकसमेत रद्द गरिएको छ । उनका अनुसार अस्पतालमा आवश्यकताअनुसार कर्मचारी छैनन् र भेन्टिलेटर तथा सामान्य एन्टिबायोटिक्स्को पनि अभाव छ ।

प्रत्येक सिकिस्त बिरामीहरू दिनमा १३ घण्टासम्म हेरिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) का स्वास्थ्यकर्मीहरूले पीपीईको अभावमा रेनकोट, प्लास्टिकका फोहोर राख्ने झोला, प्लास्टिकका एप्रोन र स्की खेल्दा लगाइने चस्माको सहारा लिएका छन् ।

बेलायत हाल लकडाउनको अवस्थामा छ । अत्यावश्यक सेवामा खटिने मानिसलाई सकभर दुई मिटरको दूरी राख्न भनिएको छ । आममानिसलाई सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । तर संक्रमितको परीक्षण तथा उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी भने असुरक्षित छन् ।

जटिल अवस्थाका भाइरसको संक्रमितको उपचार हुने सघन उपचार कक्षका नर्सहरूलाई कुनै सुरक्षा प्रदान नगर्ने टोपी लगाएर काम गर्न भनिएको ती चिकित्सकको भर्ना छ । ‘त्यसकारण हामी प्लास्टिकका झोला वा एप्रनले टाउको छोप्न बाध्य छौं,’ उनी भन्छिन् ।

बेलायत सरकारले सुरक्षा सामग्री वितरण प्रणालीमा कमजोरी भएको स्वीकार गर्दै राष्ट्रिय वितरण टोलीले स्वास्थ्य उपकरणहरू सबै अस्पतालमा तत्काल पुर्‍याउने बताएको छ । एनएचएसले भने पीपीईबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । उसले गतसाता १० लाखभन्दा बढी मास्क वितरण गरिएको जनाएको छ ।

ती चिकित्सकका अुनसार त्यसरी वितरण गरिएका मास्कमा पनि प्रयोग गर्ने म्याद थपिएको थियो । जनस्वास्थ्य कार्यालयले मौज्दात रहेका कतिपय सामग्री राम्ररी परीक्षण गरी बाँडिएको जनाएको छ । तर यसमा कतिपय चिकित्सक भने विश्वस्त छैनन् ।


इन्‍डोनेसियाली चिकित्सकहरु रेनकोट लगाएर कोरोना संक्रमितको उपचारमा खटिँदै तस्बिर : रोयटर्स

हालसम्म कति स्वास्थ्यकर्मीहरू कोभिड–१९ को संक्रमणका कारण अस्पताल भर्ना भए भन्ने एनएचएससँग पनि तथ्यांक छैन । तर भाइरसका कारण ब्रिटेनमा केही स्वास्थ्यकर्मीको भने मृत्यु भइसकेको छ ।

त्यसैगरी, स्पनेको मड्रिड र बार्सिलोनाका सघन उपचार कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई पनि पीपीई अभाव छ । स्पेनमा मार्च अत्यसम्म ९ हजार ४ सय स्वास्थ्यकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन् ।

इटालीको सबैभन्दा बढी प्रभावित क्षेत्र लोम्बार्डी, राजधानी रोमका चिकित्सकले पनि पीपीई तथा सुरक्षित मास्कको अभाव भएको गुनासो गर्दै आएका जनाइएको छ । इटालीमा गत सातासम्म ६ हजार ४ सयजना स्वास्थ्यकर्मी कोभिड–१९ बाट संक्रमित भइसकेका छन् ।

भारतमा पनि अभाव

भारतमा पनि पीपीईको अभाव भएपछि कोभिड–१९ संक्रमितको उपचार संलग्न चिकित्सकले प्लास्टिक, रेनकोट तथा हेल्मेट लगाउने गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार राजधानी नयाँदिल्ली, मुम्बई, कोलकातालगायत सहरका दर्जनौं चिकित्सक सुरक्षित मास्क तथा पीपीईबिना नै कोभिड–१९ संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिएका छन् ।

कोलकाताको बेलियाघाटा आईडी अस्पतालमा कोरोना उपचारमा खटाइएका डाक्टरहरूले आफूहरूलाई प्लास्टिकका रेनकोट दिइएको जनाएका छन् । उपचारका क्रममा उनीहरूले ती रेनकोट लगाएका तस्बिरहरूसमेत सार्वजनिक भएका छन् ।

कतिपय चिकित्सकहरूले यस्तो अवस्थामा आफूहरूले काम गर्न नसक्ने बताए । एक चिकित्सकले भने, ‘हामी ज्यानको बाजी लगाएर काम गर्न सक्दैनौं ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.आसिस मन्नाले भने यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

त्यसैगरी, हरियाणाको ईएसआई अस्पतालका चिकित्सक सन्दिप गार्गले आफूसँग एन–९५ मास्क नभएकाले हेल्मेट लगाउने गरेको बताए । उनले भने, ‘मैले सर्जिकल मास्क र हेलमेट लगाउने गरेको छु । यसको भाइजरले मेरो अनुहार पनि छेक्छ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मीलाई पीपीईलगायत सुरक्षा सामग्रीको अभाव देखिएको जनाउँदै दक्षिण कोरिया र चीनबाट ल्याउने बताएका थिए । तर हालसम्म पनि त्यस्ता सामग्री भने ल्याइएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूटीओ) का अनुसार कोभिड–१९ संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकले अनिवार्य रूपमा पीपीई लगाउनुपर्छ । यसबारे आफ्नो प्रश्नमा भारतीय स्वास्थ्य मन्त्रालयले कुनै जवाफ नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

मास्क र सेनिटाइजरको पनि अभाव

कतिपय देशमा मास्क तथा सेनिटाइजरको समेत अभाव भएको छ । गत साता जर्मनीले आफ्नो देश ल्याउन लागिएका २ लाख मास्क अमेरिकाले बाटैमा कब्जा गरेको जनाएको थियो । बर्लिनस्थित एक स्थानीय सरकारले मगाएका ‘एफएफपी–२’ मास्क बैंककमा जफत गरिएको थियो । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको दाबी गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली युद्धकालीन कानुन ‘डिफेन्स प्रोडक्सन एक्ट’ लागू गर्दै मेडिकल सामग्रीको उत्पादन तथा आपूर्ति गर्ने अमेरिकी कम्पनीलाई घरेलु माग धान्न बाध्य पारेका थिए । जसका कारण अमेरिकी अधिकारीले ती मास्क बाटैबाट कब्जा गरेका हुन् ।

ट्रम्पका अनुसार अमेरिकी अधिकारीहरूले कम्तीमा करिब २ लाख ‘एन–९५’ मास्क, १ लाख ३० हजार सर्जिकल मास्क तथा ६ लाख पन्जा जफत गरिसकेका छन् । जर्मनमन्त्री गिजेलले विश्वव्यापी संकटका बेला अमेरिकाले गरेको जबरजस्ती उचित नभएको बताउँदै आएका छन् ।

त्यसैगरी, युरोपेली देशका अन्य नेताहरूले पनि मास्क तथा मेडिकल सामग्री अभाव भएको बताउने गरेका छन् । फ्रान्सको ले–दे–फ्रान्स क्षेत्रका सभापति भेलेरी पेक्रेसेंले मास्क अभाव भए पनि बढी मूल्य तिरेर खरिद गरेको जनाएका छन् । युरोपमा महामारी फैलिएसँगै मास्क तथा अत्यावश्यक मेडिकल सामग्रीको भाउ अकासिएका उनको भनाइ छ ।

डेनमार्कले गत साता चीनबाट ४ लाख मेडिकल मास्क तथा कोभिड–१९ परीक्षण किट मगाएको थियो । तर ती बीच बाटोबाटै अन्यत्र पुर्‍याइएपछि आफ्नो देशमा अभाव कायमै रहेको डेनमार्कको भनाइ छ । संक्रमण फैलिएसँगै पीपीई, मास्क, परीक्षण किट लगायतका मेडिकल सामग्री अभाव भएपछि इटाली र स्पेनले चीनसँग मगाएका थिए । तर ती गुणस्तरहीन भएपछि फिर्ता गरेका थिए ।

प्रकाशित : चैत्र २९, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?