कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी गरिन्छ कोभिड-१९ परीक्षण ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर विधि अपनाएर कोभिड–१९ भए/नभएको पत्ता लगाउने गर्छ । स्वाब संकलन गरेको २४ देखि ७२ घण्टासम्ममा नतिजा दिने गर्छ ।
गोविन्द पोखरेल

काठमाडौँ — कोभिड–१९ संक्रमण पुष्टि गर्न आशंका गरिएका बिरामीको स्वाबको नमुना सुरुवातीताका हङकङ पठाइन्थ्यो । साढे दुई महिनादेखि भने काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिँदै छ । काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न प्रयोगशालामा परीक्षण हुन थालेको छ ।

कसरी गरिन्छ कोभिड-१९ परीक्षण ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाब संकलन गरेको २४ देखि ७२ घण्टामा नतिजा दिने गरेको छ । बिहीबार मात्रै प्रयोगशालामा ५ सयभन्दा बढीको स्वाब परीक्षणका लागि ल्याइएका छन् । प्रयोगशालाकी प्रमुख डा. रुना झाले यसैका लागि ल्याबमा दिनमा १२ घण्टा आफूहरूले काम गरिरहेको सुनाइन् ।

डा. झाका अनुसार प्रयोगशालामा ल्याइएको स्वाबलाई सुरुमा ‘सर्टिङ’ गरेर विशेष ‘आईडी’ (चिन्ने संकेत) दिइन्छ । बारकोड स्टिकर टाँसेपछि फ्रिजमा राखेर नमुना प्रयोगशालामा पठाइन्छ । त्यहाँ नमुनालाई चार भागमा विभाजन गरेर राखिन्छ । एउटा नमुना बिग्रियो भने प्रयोग गर्न वा अन्य कुनै अनुसन्धानका लागि सुरक्षित राख्न यसरी विभाजन गर्ने गरिएको हो । त्यसपछि नमुनाबाट आरएनए निकालिन्छ । प्रयोगशालालाई एक लटमा आइपुगेका नमुनामा यति काम गर्न २ देखि ३ घण्टासम्म लाग्छ ।

आरएनए निकालेपछि ‘मास्टरमिक्स’ तयार गरिन्छ । यो काममा एक घण्टा समय लाग्छ । मास्टर मिक्सलाई ‘टेम्प्लेट’ सँग राखिन्छ र उक्त नमुनालाई पीसीआर (पोलिमरेज चेन रियाक्सन) गराइन्छ । पीसीआर गराएको केही घण्टापछि नतिजा आउँछ । त्यसपछि नतिजा एन्ट्री गराएर प्रमाणीकरण गराइन्छ ।

डा. झाका अनुसार नतिजाको जानकारी एसएमएसमार्फत दिइन्छ । प्रयोगशालामा स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उच्च स्वास्थ्य सुरक्षाका साथ काम गर्ने गरेको पनि डा. झाले जानकारी दिए ।

के हो पीसीआर ?

दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबाट मोलिक्युलर बायोलोजीमा विद्यावारिधि गरेका नास्टका वैज्ञानिक लक्ष्मीप्रसाद थापाका अनुसार पीसीआर एउटा डीएनएबाट त्यसका धेरै कपी बनाउने विधि हो । यो कुनै पनि जिनको काम र रोग पत्ता लगाउन प्रयोग हुन्छ ।

संकलित स्वाबको नमुनामा कोरोना भाइरसको जिन छ कि छैन भनेर पत्ता लगाउन पीसीआर विधि अपनाइएको हो । थापाका अनुसार कोभिड–१९ परीक्षणमा ‘रिर्भस ट्रान्सक्रिप्सन’ (आरटी) पीसीआर’ गरिन्छ । ‘आरएनएबाट डीएनए बनाएर पीसीआर गरिने भएकाले यसलाई आरटी पीसीआर भनिएको हो,’ थापाले भने ।

कोरोना भाइरसमा ‘ओ–आर–एफ–वान–ए’ र ‘ओ–आर–एफ–वान–बी’ जिन, ‘एस’, ‘ई’, ‘एम’, ‘एन’ प्रोटिन भएका जिनहरू पाइन्छ । ती जिनको एउटा प्राइमर बनाइन्छ । प्राइमर संक्रमित व्यक्तिको जिनसँग म्याच गराइन्छ । म्याच गराउँदा मिल्दो देखियो भने नतिजा पोजिटिभ भन्ने हुन्छ ।

क्विक टेस्टिङ किटबाट परीक्षण गर्दा बिरामी मानिसको स्वाबलाई सिधै टेस्टिङ किटमा राखिन्छ । किटमा केही निश्चित रंग बन्यो भने कलरको आधारमा कोरोना पोजिटिभ छ भन्ने पुष्टि हुन्छ । नभए नेगेटिभ ।

जीवाणुबाट एन्टिबायोटिक औषधि पत्ता लगाउने र जेनिटिङ इन्जिनियरिङ गरेर त्यसको परिमाण बढाउने काममा १६ वर्षदेखि अनुसन्धानसमेत गर्दै आएका थापाले भने, ‘पीसीआर प्रयोग गरेर लाखौं जिन भएका डीएनएको सिक्वेन्स (जिनोम) बाट एउटा जिन पहिचान गर्न सजिलो हुन्छ । यसरी कोरोनाका जिनहरूको उपस्थिति भए/नभएको बारे पनि थाहा पाउन यसले सहयोग गर्छ ।’

पीसीआर विधि

आरएनएलाई इन्जाइमको सहयोगमा डीएनएमा परिवर्तन गराइन्छ । पीसीआरमा डीएनए बनाउन डीएनए पोलिमरेज इन्जाइम प्रयोग हुन्छ । प्राइमरको पग्लने तापक्रमका आधारमा पीसीआरमा तापक्रम बनाइन्छ ।

पीसीआर गर्न प्राइमर चाहिन्छ । प्राइमर भनेको जिनको कुनै एउटा सिक्वेन्स हो । यसमा न्युकिल्योटाइडको सिक्वेन्स हुन्छ । अर्थात् परीक्षण गर्न खोजिएको जीवाणुसँग मिल्दोजुल्दो न्युकिल्योटाइडहरू हुन्छन् । न्युकिल्योडहरूको समूह नै ‘जिन’ हो ।

पीसीआरको मिक्सरमा प्राइमर, टेम्प्लेट, डबल डिस्टिल्ड वाटर र डीएनए पोलिमरेज इन्जाइम हालिन्छ । टेम्प्लेट भनेको स्वाबबाट तयार गरिएको डीएनए हो ।

पीसीआर गरिसकेपछि 'पीसआर प्रोटक्ट'लाई ‘अगरोज जेल’मा कुदाएर यूभी लाइटमा हेरिन्छ । अगरोज जेल डीएनए कुदाउन प्रयोग गरिन्छ । कुदाएर डीएनए (पीसीआर प्रोडक्ट) छ कि छैन भनेर जाँच गरिन्छ ।

पीसीआर परीक्षण कति विश्वसनीय ?

हाल नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार नै परीक्षण भइरहेको छ । परीक्षणमा सीडीसीको निर्देशिकालाई ख्याल गरिएको जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. झाले बताइन् ।

वैज्ञानिक थापाले पीसीआर परीक्षणमा त्रुटि हुने सम्भावना पनि रहेको बताए । ‘संकलित स्वाबको अवस्था र त्यसमा भाइरस पर्‍यो कि परेन भन्ने कुराले पनि परीक्षणमा असर पार्न सक्छ,’ उनले भने, ‘डीएनएको कन्सन्ट्रेसन बढी भयो भने पनि पीसीआर प्रोडक्ट पाउन गाह्रो हुन्छ । पीसीआर गर्दा डीएनएका धेरै त्यान्द्रा हुँदा पनि प्रोडक्ट पाउन गाह्रो हुन्छ ।’

उनले परीक्षणका क्रममा तयार पारिएको प्राइमर बढी ‘कन्सेन्ट्रेड’ भयो भने पनि सही नतिजा आउन नसक्ने उनले बताए । लामो समयसम्म प्राइमर राख्दा पनि समस्या आउने उनले सुनाए । ‘तापक्रमले पनि पीसीआरको नतिजामा फरक पार्छ,’ उनले भने ।

पीसीआर परीक्षणका क्रममा एक पटक पोजिटिभ देखिएको तर दोस्रो पटक नेगेटिभ भएको अवस्थामा प्रक्रिया पुन: दोहोर्‍याउन वा पुन: स्वाब संकलन गरेर परीक्षण गर्न जरुरी हुने थापाले बताए ।

अहिले नेपाल सरकारले ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीका भरमा स्वाब परीक्षण गराइरहेको छ । परीक्षण सम्बन्धित विषय विज्ञले गर्दा अझ राम्रो नतिजा आउने थापाले दाबी गरे । ‘बायो टेक्नोलोजी र माइक्रो बायोलोजी अध्ययन गरेकासँग सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुने भएकाले त्यस्ता जनशक्ति पीसीआर परीक्षणमा प्रयोग गर्नुपर्छ,’ उनले भने । जनस्वास्थ्य प्रयोगशालामा भने सम्बन्धित विज्ञले नै नतिजा रुजु गर्नेर् गरेका छन् ।

प्रकाशित : चैत्र २९, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?