मुलुकका ११ स्थानमा किटबाट नमुना परीक्षण
काठमाडौँ — सरकारका लागि अहिले मुख्य चुनौती कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षणको दायरा बढाउने र लकडाउनको पूर्ण पालना गराउनु हो । यसैले कोभिड–१९ को स्थिति विश्लेषण गरिरहेको स्वास्थ्यलगायतका अन्य मन्त्रालय र निकायहरुको यसैमा जोड दिइरहेका छन् ।
मुलुकमा संक्रमणको दिशा र दशा तय गर्न अहिले यही दुई उपाय प्रमुख रहेको निर्क्यौलमा स्वास्थ्यलगायतका क्षेत्रका पदाधिकारीहरु देखिन्छन् । ‘परीक्षणको दायरा बढाउने र लकडाउन कुनै पनि हालतमा अझ अनिवार्य पालना हुनुपर्यो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा भन्छन्, ‘हामी कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने यसैले तय गर्नेछ ।’
स्वास्थ्य सेवा विभाग र त्यसका अन्य महाशाखाहरु एवं स्वास्थ्य मन्त्रालयअन्तर्गतको अन्य विभाग महाशाखाहरुसँग दिनहुँ ८ बजे बैठक गरेर कोरोना संक्रमणविरुद्घको अभियान सञ्चालनमा छ । यति मात्र नभई स्वास्थ्य सचिवको संयोजकत्वमा ‘आईसीएस’ कमान्ड छ । ‘सीसीएमसी’ मा समेत चार कार्य समूह छ । त्यसको नेतृत्वसमेत स्वास्थ्य मन्त्रालयले नै गरिरहेको डा.देवकोटा बताउँछन् । परीक्षणको दायरा बढाउने सरकारको मुख्य नीतिअन्तर्गत अहिले मुलुकमा दिनहुँ अधिकतम ५ सयभन्दा बढी नमुनाको परीक्षण भइरहेको औंल्याउँदै उनी भन्छन्, ‘संक्रमण बाहिर छ वा छैन भन्ने थाहा पाउनुपर्यो, त्यसको लागि हामी देशभरी परीक्षण गरिरहेका छौं ।’
यसै क्रममा शुक्रबार २४ घण्टामा उपत्यकामा ४ सय १ र उपत्यकाबाहिर २ सय २९ वटा गरी जम्मा ६ सय ३० वटा परीक्षण भएका छन् । मुलुकमा शुक्रबारसम्म ३ हजार ५ सय २४ वटा नमुनाको कोभिड–१९ परीक्षण भएका छन् । यस्तै शुक्रबार मात्रै परीक्षणका क्रममा रहेको नमुनाको संख्या ८ सय वटाभन्दा बढी छ ।
देशभरका ११ ठाउँमा पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट नमुना परीक्षण गर्ने प्रयोगशाला सञ्चालित छ । यसअन्तर्गत राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधामको जनकपुर प्रादेशिक अस्पताल, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित प्रादेशिक अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल, हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, धुलिखेलको काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल, भैरहवाको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र, चितवनको भरतपुर कोभिड–१९ डाग्नोस्टिक प्रयोगशाला र विराटनगरको कोसी अञ्चल अस्पतालमा परीक्षण भइरहेको छ ।
हालसम्म संक्रमण पुष्टि भएका ९ जनाको पहिचान टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको हो । संक्रमण पाइएकामध्ये एक जना उपचारपछि निको भइसकेका छन् । बाँकी रहेका ८ मध्ये २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा, ४ जना सेतीमा र २ जना बाग्लुङमा उपचाररत छन् । डा. देवकोटाका अनुसार सबै जनाको स्वास्थ्यस्थिति सामान्य छ ।
राजधानीमा कोभिड–१९ उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बल गरी तीन अस्पताल छ । यस्तै सातवटै प्रदेशमा रहेका क्वारेन्टाइनमा २९ हजार ३ सय ८४ शय्या र ३ हजार २ सय १४ आइसोलेसन शय्या छन् । यस्तै काठमाडौंको परिमाणबाहेक पनि सातवटै प्रदेश गरी करिब ९ हजार १ सयवटा पीपीई गाउन मौज्दात पनि छ । मुलुकभरिको विभिन्न ठाउँमा शुक्रबारसम्म ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन् भने उपत्यकामा १५ जना र उपत्यकाबाहिर १ सय १० जना गरी जम्मा १ सय २५ जना आइसोलेसनमा छन् ।
प्रत्येक प्रदेशमा कोभिड–१९ परीक्षण गर्न ५ हजारको दरले द्रूत परीक्षण किट वितरण गरिएको छ । डा.देवकोटाका अनुसार यसरी वितरित किटबाट कैलालीमा ३ सय ३९ र कञ्चनपुरमा १ सय ३७ नमुना परीक्षण भएकोमा सबै ४ सय ७६ परिणामको नतिजा नेगेटिभ आएको छ । यस्तै कपिलवस्तुमा भएको २१ र बाग्लुङमा भएको १९ नमुना परीक्षण प्रतिवेदनमा पनि सबैको नतिजा निगेटिभ देखिएको छ । अन्य जिल्लामा समेत नमुना संकलन गर्ने काम जारी रहेको उनी बताउँछन् ।
सरकारले कोभिड–१९ नियन्त्रण, रोकथामका लागि स्वास्थ्य सेवाबाहिर रहेका, सेवा निवृत्त चिकित्सक स्वास्थ्यकर्मीलाई स्वेछिक रूपमा आउन आह्वानसमेत गरेको छ । यति मात्र नभई छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई परिचालन गर्ने निर्णय पनि गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय नभएको डा.देवकोटाले प्रस्ट पारेका छन् । स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (एचईओसी) का अनुसार मुलुकभर सबै ठाउँमा संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित बनाउन सबै जिल्ला तहको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)’ स्थापना भएर काम सुरु भइसकेको छ ।
परीक्षणको दायरा बढाइँदै
संक्रमणको अवस्था पहिचान र दर बढ्न नदिन सरकारले परीक्षणको दायरा बढाउँदै लैजाने भएको छ । टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताललाई कोरोना बिरामीको मात्रै उपचार हुने अस्पतालका रूपमा तोक्नुका साथै सातै प्रदेशमा कोरोना उपचारका लागि २५ हब अस्पताल छुट्याएको छ । हाल ती अस्पतालमा संक्रमित र शंकास्पद बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) गठन भएको छ । आईसीएसले कोरोना रोकथामका लागि भएका सबै ‘अपडेट’ स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकाल समक्ष रिपोर्ट पेस गर्छ । प्रवक्ता डा. देवकोटाका अनुसार तोकिएका अस्पतालबाट परीक्षणको दायरा बढाउँदै लैजाँदा सरकारले संक्रमणविरुद्ध नीति तय गर्न सजिलो हुनेछ । हाल देशभर ३० हजार बढी स्वास्थ्यकर्मी परिचालित छन् ।
कोरोना उपचार थप गर्ने मुख्य अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौं
सशस्त्र प्रहरी बलको अस्पताल, बलम्बु काठमाडौं
कोरोना विशेष अस्थायी अस्पताल, बेलझुन्डी दाङ
कोरोना विशेष अस्थायी अस्पताल, बुटवल, रुपन्देही
प्रखर सुशील कोइराला क्यान्सर अस्पताल, नेपालगन्ज
कोरोना विशेष अस्थायी अस्पताल, भरतपुर, चितवन
कोरोना उपचार हुने हब अस्पतालहरू
१) कोसी अञ्चल अस्पताल, विराटनगर
२) मेची अञ्चल अस्पताल, भद्रपुर, झापा
३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान, धरान
४) जनकपुर प्रदेश अस्पताल, जनकपुर, धनुषा
५) गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज
६) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, पर्सा
७) भारतपुर अस्पताल, चितवन
८) धुलिखेल अस्पताल, काभ्रे
९) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर
१०) सिभिल अस्पताल मीनभवन, काठमाडौं
११) श्री वीरेन्द्र अस्पताल, छाउनी, काठमाडौं
१२) वीर अस्पताल, काठमाडौं
१३) भक्तपुर अस्पताल, भक्तपुर
१४) त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
१५) महाकाली अञ्चल अस्पताल, कञ्चनपुर
१६) सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल, डडेल्धुरा
१७) सेती प्रदेश अस्पताल धनगढी
१८) कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेत
१९) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
२०) भेरी अञ्चल अस्पताल, नेपालगन्ज
२१) राप्ती उपक्षेत्रीय अस्पताल, घोराही दाङ
२२) राप्ती अञ्चल अस्पताल, तुलसीपुर, दाङ
२३) लुम्बिनी अस्पताल, बुटवल
२४) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
२५) धौलागिरि अञ्चल अस्पताल, बागलुङ
