बर्दियाका ७२ जनाकै रिपोर्ट नेगेटिभ 

चैत्र २९, २०७६

कमल पन्थी

बर्दिया — र्‍यापिड डायग्नोस्टिक टेस्ट मार्फत बर्दियाका चार पालिकामा गरिएको कोरोना भाइरस (कोभिड–१९) को नतिजा नेगेटिभ देखिएको छ । जिल्लाको गुलरिया, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउॅपालिकामा ७२ जनाको नमुना परीक्षण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले क्वारेन्टाइनमा बसेकामध्ये ७२ जनाको नमुना परीक्षण गर्दा नेगेटिभ देखिएको बताए । ‘यो जिल्लावासीका लागि खुसीको कुरा हो,’ उनले भने, ‘उनीहरुलाई सात दिन होम क्वारेन्टाइनमा बस्नेगरी फर्म भरेर जनप्रतिनिधीको रहोवरमा पठाइएको छ ।’

१४ दिन सम्म उनीहरु कवारेन्टाइनमा बसेका थिए । जिल्लामा ३ सय ९२ जनामध्ये ७२ जनाको परीक्षण गर्दा नेगेटिभ देखिएको हो । अन्यको रिर्पोट शनिबार बेलुकीसम्म आइपुग्ने भएको छ । अहिले एकजना पनि आइसोलेसनमा नभएको बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताए । 

जिल्लामा ३२ ठाउँमा क्वारेन्टाइनमा छन् । चैत १ गते यता लकडाउन अघि र पछि गरी भारतबाट झन्डै दुई हजार नेपाली नागरिक बर्दिया पसेको अनुमान स्थानीयको छ । भारतबाट यहाॅ फर्केका नेपालीका कारण स्थानीय त्रसित छन् । 

कोरोना भाइरस

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully