कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लकडाउन प्रभावकारी बनाउन सम्पूर्ण राष्ट्रसेवकलाई सरकारको ‘सर्कुलर’

बलराम बानियाँ

काठमाडौँ — सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि घोषित देशव्यापी ‘लकडाउन’ लाई प्रभावकारी बनाउनका लागि बिदामा रहेका आफ्ना सम्पूर्ण निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी गरेको छ ।

लकडाउन प्रभावकारी बनाउन सम्पूर्ण राष्ट्रसेवकलाई सरकारको ‘सर्कुलर’

सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई बिहीबार सर्कुलर जारी गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता अपनाउन निर्देशन दिएको हो ।


संक्रमण फैलन नदिन सरकारद्वारा घोषित लकडाउन अपेक्षाकृत रूपमा प्रभावकारी नभएको जनगुनासो आइरहेकाले सरकारले आफ्ना सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई लकडाउन सफल बनाउनका लागि क्रियाशील हुन सर्कुलर जारी गरेको स‌ंघीय मामिला मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए ।


लकडाउनसँगै अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कर्मचारीलाई सरकारले बिदा दिएको छ । सरकारले लकडाउनलाई प्रभावकारी बनाउन तिनै बिदामा रहेका कर्मचारीलाई आ–आफ्नो घर वा डेरा रहेको स्थानमा क्रियाशील हुन निर्देश गरेको हो ।


९ बुँदे निर्देशनमा सरकारले कर्मचारीहरूलाई आफू बसेको स्थानमा सामाजिक दुरी कायम गर्न लगाउनु पर्ने र विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय र स्थानीय प्रशासनसित समन्वय गरी क्वारेन्टाइनमा राख्ने जिम्मा दिएको छ ।


कोरोना भाइरस संक्रमणसित मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई अस्पताल पुर्‍याउन, दैनिक उपभोग्य वस्तुको अभाव र कालो बजारी हुन नदिन तथा भएको पाइएमा वाणिज्य तथा आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालयलाई तत्काल सूचित गर्नसमेत कर्मचारीहरूलाई सर्कुलर जारी गरिएको छ ।


सरकारले दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने बजार, किराना पसल तथा तरकारी तथा फलफूल बजारमा सामाजिक दुरीको नियम पालना भए/नभएको अनुगमन गर्न, नभएको पाइएमा पालना गराउनसमेत कर्मचारीलाई निर्देशन दिएको छ ।


सरकारले कर्मचारीहरूलाई आ–आफ्नो घर या डेरा रहेको स्थानमा कुनै पनि व्यक्तिलाई अनावश्यक रूपमा बाहिर निस्कन नदिन, अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न लगाउनसमेत निर्देश गरेको छ । आफू बसेको वडा कार्यालयमा हुने अति विपन्न नागरिकको लगत संकलन र राहत वितरण कार्यमा सहयोग र समन्वय गनसमेत कर्मचारीहरूलाई सर्कुलरमा निर्देशन दिइएको छ ।

प्रकाशित : चैत्र २७, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?