कोरोना प्रकोप : निको हुनेको संख्या ३ लाख ३० हजारभन्दा बढी 

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुने र संक्रमितको संख्या लगातार बढिरहँदा निको हुनेको संख्या पनि बढिरहेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार दिउँसोसम्म कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३ लाख ३० हजारभन्दा बढी निको भएका छन् । 

कोरोना प्रकोप : निको हुनेको संख्या ३ लाख ३० हजारभन्दा बढी 

जोन होप्किन्स विश्वविद्यालयले कोरोना भाइरसबाट संक्रमित भएर पनि ठीक हुनेहरुको संख्या अझ धेरै हुन सक्ने बताएको छ । धेरैलाई कोरोना भाइरसको संक्रमण भएको थाहै नभइ निको भएको पनि हुन सक्ने विश्वविद्यालयले जनाएको छ । बिहीबार दिउँसोसम्मको तथ्या‌ंकअनुसार विश्‍वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ लाख ८७ हजार ८ सय ८७ रहेको छ । त्यस्तै कोरोना स‌ंक्रमणबाट ८८ हजार ६ सय ३० जनाको मृत्यु भएको छ ।


कोरोना भाइरस संक्रमणपछि निको हुनेको संख्या सबैभन्दा बढी चीनमा रहेको छ । बिहीबार दिउँसोसम्म चीनमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या ७७ हजार ६ सय ४९ रहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३९ रहेको छ ।


चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये निको हुनेको संख्या स्पेनमा धेरै छ । बिहीबार दिउँसोसम्म स्पेनमा संक्रमणपछि निको हुनेको संख्या ४८ हजार २१ रहेको छ । त्यस्तै जर्मनीमा पनि कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या बढिरहेको छ । बिहीबार दिउँसोसम्म जर्मनीमा निको हुनेको संख्या ४६ हजार ३ सय रहेको छ । जर्मनीमा बिहीबार दिउँसोसम्म करिब एक लाख १३ हजारमा संक्रमण पुष्टि भएको छ भने २ हजार ३ सय ४९ को मृत्यु भएको छ ।


त्यस्तै इरानमा २९ हजार ८ सय १२ निको भएका छन् । कोरोना भाइरस संक्रमणपछि इरानमा २९ हजार ८ सय १२, इटालीमा २६ हजार ४ सय ९१, अमेरिकामा २४ हजार एक सय २५, फ्रान्समा २१ हजार ४ सय ६१ र स्विजरल्यान्डमा ९ हजार ८ सय जना निको भएका छन् ।


त्यस्तै दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइरहेका भन्दा निको भएर घर फर्कनको संख्या धेरै रहेको छ । दक्षिण कोरियामा अहिलेसम्म संक्रमण पुष्टि भएका १० हजार ४ सय २३ मध्ये ६ हजार ९ सय ७३ जना निको भएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४ रहेको छ ।


अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । तर पनि बिरामी आफ्नै शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताका आधारमा निको भइरहेका छन् ।

कोरोना भाइरस संक्रमणको विश्वभरको अपडेट थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस्

https://covid19.ekantipur.com/

प्रकाशित : चैत्र २७, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?