सांसद यादवलाई क्‍वारेन्टाइनमा राख्‍न गृह मन्त्रालयको निर्देशन 

चैत्र २७, २०७६

मातृका दाहाल

काठमाडौँ — गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन । यससम्बन्धी निर्देशिका र नीतिविपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइयो,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ । यसमा ठूलो वा सानो भन्ने हुँदैन । नियमअनुसार सबै क्वारेन्टाइनमा बस्नैपर्छ ।’

सीमाबाट आवतजावतलाई थप कडाइ गर्न पनि निर्देशन दिइसकिएको सहप्रवक्ता अधिकारीले बताए । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully