'ट्याउँट्याउँ' त कोरोनापछि गरे भइहाल्यो नि !

एक स्‍नातक विद्यार्थीको लकडाउन डायरी- २

चैत्र २७, २०७६

सिमाना पौडेल

काठमाडौँ — योभन्दा अगाडि मैले लकडाउन डायरी लेखेको थिएँ । एघार दिनसम्मको । मलाई लागिरहन्छ, मैले जे लेख्न खोजिरहेको छु । त्यो म लेख्नै सक्दिनँ । महशुसमात्रै गर्न सक्छु ।

बताउनको लागि कति कुराहरु छन् । सुनाउनको लागि कति कुराहरु छन् । तर यो समय केही बोल्नै सकिरहेको छैन । केही लेख्न सकिएको छैन । लेखिएको कुरा ठ्याक्कै महसुस गरिएकोजस्तो छैन । 


बाह्रौ दिन

फेसबुकमा ट्रोलहरु हेरिरहेको छु । ट्रोल बनाउनेहरु, कार्टुन बनाउनेहरु, चित्र कोर्नेहरु कति अद्भुत हुन्छन् । एउटा या दुईटा शब्दमा सिंगो संसार बताउन सक्छन् । शब्दको ताकत त्यसको तुलनामा सधैँ कम्ति हुन्छ । किन होला ? आइफोन हातमा हुँदैमा आइफोन खान मिल्दैनदेखि लिएर केपी ओली बिरामी भएदेखि कोरोना आयो भन्नेसम्मको कुरालाई ट्रोल बनाएर उडाएका छन् । 

मान्छेहरु भान्सादेखि गीत, संगीतसम्मै व्यस्त छन् । हामी अव्यक्त प्रतिस्पर्धामा छौँ । कसले केके बनायो ? कसको घरमा केके पाक्यो ? कसले गीत गाउन जानेको छ ? कसले नाच्न जानेको छ ? वरिपरिका साथीहरुको बारेमा थाहा नभएको कति कुरा थाहा पाउन पाइएको छ फेसबुकबाट । धन्न । फेसबुक छ । 

बहिनी किताब र्‍याकबाट किताब निकाल्दै पाना पल्टाउँदै छोड्छे । आजको दिन फेसबुक हेर्दैमा बित्यो । दिउँसो सुतियो । 

कामले चापाचाप भएकै राम्रो ।

यो कोरोना कहर कहिले सकिएला ?


तेह्रौ दिन 

बिहानदेखि बहिनीसँग बस्यो । उसले पनि अचेल दिक्क मानीसकी । निस्किम् न कतै । हामी खाना खाईवरी चोकसम्म पुग्यौँ । कति सुनसान । कति उराठलाग्दो । 

‘दिदी ! यति सुन्दर रहेछ है यो बाटो ? मान्छेहरुले रहेछ नराम्रो बनाउने ? तर मलाई यति धेरै सुनसान पनि मन परेन ।’

काठमाडौं यतिधेरै सुनसान पनि हुन्छ है ? अचम्म लागिराछ । त्यस्ता खचाखच मान्छेहरु कता गए ? गाउँमा गए कि ? होइन, होइन । कतिले कोठाभित्रै बसेर हामी बाटोमा निस्किएको देखे होलान् । कति खाना बनाएर खुवाउनमै व्यस्त होलान् । कति हामीजस्तै बाहिर निस्कने पो सोच्दै छन् कि ? अलिक पर पुगेपछि बहिनीले भनी– ‘योभन्दा उत गयो भने कोरोना लाग्छजस्तै लाग्यो । डर लाग्यो दिदी मलाई त । अब फर्किम् । कोही घरबाट बाहिर निस्केकै छैनन् ।’ 

हामी मास्क नलगाईकन सडकमा निस्कने आँट गरेका थियौं । कतै पुलिस भेटियो भने ? हो, हामी निस्कन नहुने हो । मन हो । मानेन । हामी हतारहतार फर्कियौँ । साबुनपानीले हात धोयौं । अनि कोठामा बस्यौं । 

फेसबुक खोल्छु । मलाई भनेजस्तो लाग्यो– हामी नेपालीहरु घरभित्र बस्नपर्छ भन्दा पनि नमानेर बाहिर निस्कने अनि पुलिसको भाटा खाइयो । आज फलानो ठाउँमा पुगेर आइयो भनेर लेख्नुलाई बहादुरी ठान्छम् है । हामीले हाम्रो सुरक्षा नगरे कसले गर्छ । 

अँ त, मन जे पनि भन्छ । मनको लहैलहैमा लागेर बाहिर निस्कन हुन्न । बाहिर निस्कन हुन्न भन्दै निस्कनेहरु कति होलान् ? कम्तिमा यो पढ्दै गरेको तपाईँचाहिँ आजसम्म लकडाउनमै हुनुहुन्छ । भइराख्नोस् है । 


चौधौं दिन

लकडाउन भएको दुई हप्ता भइसक्यो । अहँ अझै नखुल्ने भयो । कोरोना संक्रमित भेटिएको भेटियै छ । कोरोना परीक्षण गरे पो भेटिन्छ त ? गर्नै डराएर नभेटिएको हो भनेर फेसबुकमा उडाइरहेका छन् । अरुबेला अफिसको कामले व्यस्त पुरुषहरु लकडाउनमा झन् व्यस्त देखिएका छन् । बिहानदेखि बेलुकासम्मै मुभी हेरियो । किताब पढियो रे ! खाना पकाइयो । करेसा गोडमेल गरियो भनेर किन नलेखेका होलान् ? 

धत् ! म पनि । त्यो त महिलाको काम पो हो । विद्रोह गर्न हुन्छ त यो बेला ? कोरोनाको बेलामा ? यहीँ पढेर मेरो विवाहीत दिदीले भिनाजुसँग निहुँ खोज्नुभयो भने के होला ? माइती आउन पनि नमिल्ने ? मिलेर पनि बस्न नसकिने ? हुन्न । अहिले चुपचाप रहनुपर्छ । कम्तिमा कोरोना चुपचाप नरहुन्जेलसम्म । त्यसपछि ‘ट्याउँट्याउँ’ गरे भयो । 

कोरोना चुपचाप भयो भने पुरुषहरु अफिस कुदिहाल्छन् । उनीहरुलाई श्रीमतीको, आमाको गनगनभन्दा हाकिमकै गनगन प्यारो लाग्छ । किन होला ? 

समय नदिने मलाई ? भनेर दिक्क पार्ने श्रीमतीको अहिले फेरि गुनासो हुनपर्छ । यो बुढो कहिले अफिस जाला ? यसरी घरमा सधैं बसेर कसरी खाने हो ? यसरी बस्न पाए त रमाईलै हुन्थ्यो । तर, खान पनि पाउनुपर्‍यो । सधैं सँगै हुँदा मायाभन्दा बढी झगडै हुने रहेछ । यस्तो सोच्ने कति होलान् ? 

मेरो बिहे भएको भए म के सोच्थेँ होला ? म पनि केके सोच्छु ।

‘दिदी ! आउनु । म तपाईलाई राम्री बनाईदिन्छु ।’

ओहो ! बहिनीले युटुब हेर्दै मेकअप गर्न सिक्दै रहिछ । 

‘अब कलेज जाँदा राम्री भएर जाने हो । ब्वाइफ्रेन्ड बनाउन पर्‍यो दिदी अब । बोर भइयो ।’

दिदीको अगाडि कस्तो लाजै नमानी भन्छे । अचेलको बच्चाहरु कस्ता हुन् । 

‘ममी म ब्वाइफ्रेन्ड बनाउँछु है ?’ ऊ फोनमा बोल्दै थिइ । उसको नजिकै गएँ । ममी फोनमा हाँसिरहनुभएको सुनें । 

किन ममीलाई सुनाएकी होली ? ममीले के सोच्नुभयो होला है ? 


पन्ध्रौ दिन

‘हामी लकडाउन खुलेपछि भेट्न पर्छ है ।’ साथीहरु यस्तो भनेर म्यासेज पठाइराख्छन् । बच्चाबेलाका साथीहरुको रिक्वेस्ट एसेप्ट गरेँ । खोजीखोजीकन रिक्वेस्ट पठाएछन् । कति नबिर्सेका होलान् । 

कोरोनाले हामीलाई विगतबाट भविष्यसम्मको कल्पनामा डोर्‍याइरहेको छ । 

ग्याँस आधा दिन थालेका रहेछन् । पैसा पनि आधा तिर्न पर्ने होला त । खै ? सोधिनँ मैले । हामीलाई अझै दुई महिना दुई दिनलाई पुग्ने ग्याँस छँदै छ । 

आज राहत बाँड्दै आइरहेका थिएँ । राहतको लागि भनेर दिइने चामल प्लाष्टिकको चामल रहेछ भनेर फेसबुक लाईभमा कसैले देखाईरहेको थियो । कसैले फेसबुक लाईभबाट कविता सुनाउँछन् । कसैले देशको चिन्ता सुनाउँछन् । 

आज कान्तिपुर पढें, सरकार र अस्पतालको लापरबाहीले मान्छेको ज्यान गएकोबारेमा । सामान्य रुघाखोकी र ज्वरो आउँदा पनि अस्पतालले भर्ना नलिने अवस्था छ । यो मौसम परिवर्तनको कारणले पनि हो नि ! 

मान्छेहरु डराउँछन् । उपचार नभएपछि ज्वरोले मात्रै पनि मान्छेको ज्यान जाँदो रहेछ ।

यस्तो फेरि सुन्न नपरोस् । 

बहिनीको एघारको परीक्षा सर्‍यो । 


सोह्रौ दिन

यो लकडाउनले राम्रो भएको छ । हामीले जंकफुड खानै बिर्सियौँ । उसले फोनमा साथीहरुलाई सुनाउँदै थिइ । बिहानमात्रै उसले मलाई ‘जाम् दिदी ! हामी केक र आइसक्रिम खान’ भन्दै थिई । साथीहरुसँग बिर्से पो भन्छे । 

म आज ऊसँग उसै झर्किएँ । उसले मलाई मज्जाले झपारी । कोठाभित्र ऊ र म छौं । उहीसँग बोल्न छोडे भने कोसँग बोल्नु ? उसले डायलग मारीहाली– ‘भर्खर टिनएज लागिराछ । झर्कोफर्को गर्‍यो । फेसबुक चलाउँदै हुनुहुन्थ्यो । कसले के भन्यो ? अरुको रिस मलाई ल्याएर पोख्ने ?’ 

उसँग माफी मागें । 

उसले यो डायरी भर्दै गर्दा फेरि जिस्काई– ‘यो उमेर यस्तै हो नानु । ठूलो मान्छेको कुरा केही मनपर्दैन ।’ उसलाई मेरो डायलग सबै कण्ठस्थ भइसकेको थियो । कहिलेकाँही जिस्केर भन्थीं– ‘दिदी ! तपाई यति राम्रो हुनुहुन्छ भन्ने मलाई लागेकै थिएन ।’ 

हामीले आफ्नाहरुलाई चिन्न पाएका छौं । शुभचिन्तक पाएका छौं । भाग्यमानी ।

सबै भाग्यमानी कहाँ छन् र ? कोठाभित्रै खान पाएर आफूलाई भुलाउन पाउनेहरु मात्रै भाग्यमानी हुन् । 

कोरोनाले भन्दा पनि भोकले मरे भने उनीहरुको आत्माले झन् कति सराप्दो हो । त्यसै त सतीले सरापेको देश... ! सरकार छ । सरकारले भोकै मर्न त दिन्नँ । यस्तो बेलामा विश्वास गर्नुपर्छ ।

समाचार लेख्नेहरु आफू रुन सक्छन् । उनीहरुले हामीसम्म खबर ल्याउन सक्छन् । तर त्योबाहेक के गर्न सक्छन् र ? गर्ने त सरकारले हो । सरकारले मास्क पो लगाएको छ । हेडफोन कानमा कोचेर नाचिरहेको छैन क्यारे ? 

‘दिदी ! बत्ती निभाउनु न ।’ बत्ती ननिभाई ऊ सुत्दै सुत्दिन । 

सिमाना

Link copied successfully