३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोना नियन्त्रणमा सघाउन शिक्षा मन्त्रालयको छुट्टै समिति 

गोविन्द पोखरेल

काठमाडौँ — कोरोना भाइरस राेग (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि छुट्टै तयारी अघि बढाएको छ । मन्त्रालयले दुई दिनअघि विज्ञहरूसहितको समिति नै बनाएर अध्ययन–अनुसन्धान थालेको हो । पूर्वविज्ञानमन्त्री गणेश साह संयोजक रहेको उक्त समिति २८ सदस्यीय छ । 

कोरोना नियन्त्रणमा सघाउन शिक्षा मन्त्रालयको छुट्टै समिति 

विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा संयोजक रहेको शिक्षण विधि तथा विकल्प उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने जिम्मा दिइएको उनले बताए ।


कोरोनासम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमितिमा नास्टका प्राज्ञ दिनेशराज भुजू छन् । यो उपसमितिले जनमानसमा दिइने कोभिड–१९ सम्बन्धी सूचना तथा पूर्वतयारीसम्बन्धमा प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।


त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी नेतृत्वको ‘डाइग्नोस्टिक एन्ड रेस्पोन्स’उपसमितिले कोरोना परीक्षण, र्‍यापिड टेस्ट, डाइग्नोस्टिक सेवा, प्रयोगशालाको सुविधा, परीक्षणको गुणस्तरलगायत विषयमा अध्ययन प्रतिवेदन तयार पार्नेछ ।


कोरोनासम्बन्धी वैज्ञानिक अनुसन्धान, तथ्यांक, प्रोटोकललगायत विषयमा अनुसन्धान गर्न नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको नेतृत्वमा अनुसन्धान उपसमिति बनाइएको छ ।


युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको नेतृत्वमा प्रविधि विकास तथा नवप्रवर्तन उपसमिति छ । यसले क्वारेन्टाइन सेवा, पीपीई डिजाइन र उत्पादन, सेनिटाइजर र साबुनको उत्पादन, मास्क, औषधि, एप्स निर्माण, रोबटिक्सजस्ता विषयमा अनुसन्धान प्रतिवेदन तयार पार्ने जनाइएको छ ।


यस्तै, मन्त्रालयका विज्ञान सचिव सञ्‍जय शर्माको संयोजकत्वमा नीति तथा वित्त उपसिमिति बनाइएको छ । यसले बजेट, नीतिगत सुधार, संस्थाहरूबीचको समन्वय, अनुसन्धानमा वैदेशिक संलग्नता र प्राथमिकता निर्धारणसम्बन्धी काम गर्नेछ ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको सक्रियतामा गठित समितिले एक सातादेखि ‘स्काइप’मा नियमित भिडियो संवाद गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए । उपसमितिहरूले मन्त्रालयलाई तत्काल र भविष्यमा गर्नुपर्ने कामबारे सुझाव दिने संयोजक साहले जानकारी दिए ।


विशेषज्ञ, विभिन्न विश्वविद्यालय र अनुसन्धान निकायका प्रतिनिधिसँग मिलेर कार्ययोजना बनाउने काम भइरहेको समिति सदस्य भुजूले बताए । उनका अनुसार उपसमितिले पेस गरेका सुझावलाई कोभिड–१९ संकट नियन्त्रणका लागि कार्यान्वयनमा लगिनेछ ।

प्रकाशित : चैत्र २७, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?