कोरोना महामारीका बेला अस्पताल नजाने ५ चिकित्सक कारबाहीमा 

चैत्र २६, २०७६

अमृता अनमोल, सन्जु पौडेल

बुटवल — कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कारबाही गरेको छ । बिनासूचना अनुपस्थित भएका लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकलाई मन्त्रालयले सेवाबाट हटाएको हो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो ।

करार सेवामा नियुक्त उनीहरू अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका थिए । सामाजिक विकासमन्त्री सुदर्शन बरालले अन्य अस्पतालमा पनि अनुगमन र निगरानी बढाएकाले बिनाकारण सेवामा हाजिर नहुने चिकित्सकलाई कारबाही गर्ने बताए ।

‘महामारीका बेला पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘सुत्केरी, काजक्रिया र बिरामीबाहेकका बिदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक/ कर्मचारीलाई सेवाबाट हटाउने वा कारबाही गर्ने निर्णय गरेका छौं ।’

लकडाउनकोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully