भारतीय सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन देउवाको आग्रह

स्वास्थ्य सामग्री खरिदमा पारदर्शीता अपनाउन माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट सीमामा रोकिएका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न सरकारलाई आग्रह गरेका छन् । देउवाले बुधबार सरकारलाई स्वास्थ्य सामग्री खरिद पारदर्शी बनाउन पनि आग्रह गरेका छन् ।

भारतीय सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन देउवाको आग्रह

भारतबाट २ हजारभन्दा बढी नेपाली सीमामा आएका छन् । उनीहरूलाई सरकारले नेपाल प्रवेशमा रोक लगाएको छ । सर्वोच्च अदालतले मंगलबार स्वदेश आउन चाहनेलाई नरोक्न आदेश दिएको अवस्थामा देउवाले उक्त आग्रह गरेका हुन् । देउवाले सीमामा आएर अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

स्वास्थ्य सामग्री खरिदमा विवाद र अनियमितता भएको आशंकाबारे पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले स्वास्थ्य सामग्री खरिदमा पारदर्शीता अपनाउन सुझाव दिएका छन् । सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको छ ।

कोरोना भाइरस संक्रमणको आशंका लागेका सबैको परीक्षणको व्यवस्था गर्न देउवाले जोड दिएका छन् ।

सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न सबैलाई अपील गरेका छन् । त्यस्तो कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्यकर्मी र सरकारले दिएका सुझाव पालना गर्न देउवाले सबैलाई आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् । यस्तै नेपाली कांग्रेसका कार्यकर्तालाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउनसमेत उनले आग्रह गरेका छन् ।

मुलुकमा आएको संकटको सबै राजनीतिक दल, संघसंस्था एकजुट भएर सामना गर्नुपर्ने देउवाको आग्रह छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र २६, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?