लकडाउनले रगत पाउनै मुस्किल !

बुनु थारु

काठमाडौँ — कञ्चनपुरकी ३७ वर्षीया लक्ष्मीदेवी चौधरी मिर्गौलापीडित हुन् । उनलाई समयसमयमा रगत आवश्यक परिरहन्छ । सुरुमा भारतमा डायलसिस गराउँदै आएकी उनी हाल काठमाडौंको सुमेरु अस्पतालमा गराउँछिन् । उनकी भतिजी उर्मिला भन्छिन्, ‘लकडाउनले गर्दा रगत खोज्न निकै समस्या भयो । उहाँको ब्लड ग्रुप एबी पोजिटिभ हो । यो पाउन झन् गाह्रो रहेछ ।’

लकडाउनले रगत पाउनै मुस्किल !
डायलसिस गराउन जान एम्बुलेन्सपनिनपाइने र अघिल्लाेचाेटि ३ दिन कुरेर मात्ररगतपाइएको उनी सुनाउँछिन् ।

काठमाडौंका सुविन्द्र प्रधानका दाइलाई रगत संक्रमणको रोग छ । ए पोजिटिभ ब्लड ग्रुप रहेका उनलाई केही दिनअघि रगत चाहियो । तर लकडाउनमा रक्तदान गर्ने व्यक्ति भेट्नै हम्मे पर्याे । एक साथीले फेसबुकमा स्ट्याटस राखिदिएपछि जसाेतसाे रगत जुट्याे ।सुविन्द्र भन्छन्, ‘खै लकडाउनको असर होला, दातालाई पनि आवतजावतमा समस्या छ । गाह्रो भइरहेछ ।’

रगतका समूहमध्ये ‘ओ’ र ‘ए’ सहज रूपमा पाउन सकिन्छ भने ‘बी’ र ‘एबी’ कम मात्रामा पाइन्छ । नेगेटिभ रगत झनै कम पाइन्छ । त्यसैले यस्ता बिरामी याे बेला अझ मर्कामा परेका छन् ।

...

सरकारले कोरोना भाइरस राेग (कोभिड–१९) को रोकथामका लागि चैत ११ देखि लागू गरेको लकडाउन दुईपटक थपेर वैशाख ३ सम्म लम्ब्याएको छ । लकडाउनले विभिन्न क्षेत्रमा असर त गरेको छ नै, रगत खोजीमा रहेकाहरूलाई पनि दुःख दिइरहेको छ ।

रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत अवस्थामा रगत आवश्यक हुने गर्छ । त्यसका साथै ल्युकेमिया, हेमोफिलिया, थालेसेमियाका रोगीलाई पटकपटक रगतको आवश्यकता पर्छ ।

देशभर तथा विशेष गरी राजधानीमा ठूला दुर्घटना तथा विपत्तिमा रगतको अभाव हुने गर्छ । कोरोनाको महामारीमा अस्पतालले पनि अत्यावश्यकबाहेक तत्कालका लागि स्वास्थ्य–उपचारमा कटौती गरेका छन् ।

रगत संकलन गरी वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीका सूचना अधिकृत दिव्यराज पौडेल भने रगत संकलन कम भए पनि गाह्रो स्थिति आइनसकेको बताउँछन् । ‘राजधानीमा अरू बेला दैनिक ३०० देखि ४०० युनिट हाराहारीमा रगत आवश्यक हुन्छ । देशभर भन्नुपर्दा ७०० देखि ८०० युनिट आवश्यक हुन्छ । लकडाउनको प्रभावले अहिले १० देखि २० प्रतिशत मात्र रगतको माग छ,’ उनले भने ।

उनका अनुसार प्रसूति र पुराना बिरामीलाई रगतको आवश्यकता बढी छ । इच्छुक दाताले ११३० मा फोन गरेर नाम टिपाउन सक्नेछन् । रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी भक्तपुरले स्वयंसेवी रक्तदाताबाट टोलटोलमै पुगेर संकलन र व्यवस्थापनमा सहयोग गरिरहेको उनले जनाए ।

बाहिर आउन नसक्ने दाताका लागि प्राविधिक घरमै पुगेर रगत लिने व्यवस्थासमेत मिलाइएकाे सोसाइटीले जनाएकाे छ ।

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) की निर्देशक डा. मनिता राजकर्णिकार लकडाउनपछि रगतको माग र आपूर्ति दुवै घटेको बताउँछिन् । उनका अनुसार रगतको व्यवस्थापनमा केही समस्या देखिए पनि गाह्रो स्थिति आइपरेको छैन ।

उनका अनुसार अहिले दिनमा ५० युनिट मात्रै रगत गइरहेको छ । भिडभाड गर्न नमिल्ने भएकाले पहिलेजस्ताे रक्तदान शिविर गरिएका छैनन् । अस्पताल आफैंले पनि व्यवस्थापन गरिरहेका छन् । ठूलै दुर्घटनामा केही गाह्रो हुन सक्ने भए पनि अहिले दैनिक रूपमा रगत व्यवस्थापन भइरहेकाे उनले बताइन् ।

कोरोनाको भयले धेरैजसाे दाता बाहिर जान त्यति सहज मान्दैनन् । तर स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् । नजिकको स्वास्थ्य संस्था तथा अस्पतालका रक्तसञ्चार इकाइमा गएर रगत दान गर्न सकिने उनको सुझाव छ ।

...

अस्पतालहरू अहिलेको अवस्थामा रगत व्यवस्थापन गर्न गाह्रो भइरहेको बताउँछन् । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलका अनुसार अरू बेलाभन्दा अहिले बिरामीलाई रगतको जोहो गर्न अप्ठेरो छ । ‘अहिलेसम्म रगत नभएर शल्यक्रिया नै रोक्नुपरेको अवस्था आएको छैन । तर अरू बेलाभन्दा बिरामीलाई दौडधुपचाहिँ भएको छ,’ उनले भने ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार रगतको माग नै ४० प्रतिशले घटेकाले खासै समस्या छैन । इमरजेन्सीबाहेक अरू शल्यक्रिया नगरिएकाले अभाव नभएको हो । अस्पतालमा रहेको ब्लड बैंकबाटै व्यवस्थापन भइरहेको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार क्यान्सरका बालबालिकालाई धेरै रगतको आवश्यकता पर्छ । उनीहरूलाई आफन्त तथा अस्पतालकै स्टाफबाट रगतको व्यवस्था भइरहेको छ । ब्लड बैंकमै कम संकलन र लकडाउनले गर्दा अरू बेलाभन्दा बिरामीलाई अप्ठ्यारो सिर्जना भएको पौडेल बताउँछन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य भने बजारमा सुनिएजसरी रगतको असाध्यै अभाव नभएको बताउँछन् ।

‘हामी रक्तदाताले यसमा सहयोग गरेका छौं । होम क्वारेन्टाइनमा बसेका दाताहरूबाट नै अहिले रगत व्यवस्थापन भइरहेको छ,’ उनी भन्छन्, ‘रगतको अभाव छैन । लकडाउनले गर्दा इलेक्टिभ सर्जरीहरू अहिले बन्द छन्, त्यसैले रगतको माग कम छ ।’

रगत दिन इच्छुक तर बाहिर आउन नमान्नेलाई घरमै प्राविधिक पठाउने व्यवस्था गरिएकाे समाजले जनाएकाे छ । अध्यक्ष कर्माचार्य भन्छन्, ‘आवश्यकताअनुसार रक्तदाता समाजले गाह्रो परेकालाई सहयोग गरेको छ तर सुरक्षाका हिसाबले रक्तदातालाई गाह्रो भने छ ।’

प्रकाशित : चैत्र २६, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?