भित्रिए धेरै, क्वारेन्टाइनमा थोरै- समाचार - कान्तिपुर समाचार

भित्रिए धेरै, क्वारेन्टाइनमा थोरै

भारतबाट फर्किएका हजारौंको स्वास्थ्य जाँच र लगत संकलन नगरी तथा क्वारेन्टाइनमा नराखी घर पठाइएको छ । यसले स्थानीयमा संक्रमण फैलने त्रास छ ।
प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तहहरूका अनुसार फागुन अन्तिम सातायता ५ हजार ६ सय ४९ जना भारतलगायत अन्य देशबाट कञ्चनपुर आएका छन् । उक्त तथ्यांकअनुसार तेस्रो मुलुकबाट आउनेको संख्या भने सय जनाको हाराहारीमा मात्र छ । कोरोना भाइरसको संक्रमण बढेपछि कञ्चनपुर भित्रिएकाहरूको संख्या ५५ सयभन्दा बढी भए पनि हाल क्वारेन्टाइनमा भने २ सय ३१ जना मात्रै छन् ।




‘लकडाउनको अवधिपछि आएकालाई मात्रै क्वारेन्टाइनमा राखिएको हो,’ स्वास्थ्य कार्यालय कञ्चलपुरका प्रमुख शिवराज सुनारले भने, ‘भारतमा पनि लकडाउनपछि नै संक्रमण बढेको छ ।’ उनका अनुसार उक्त अवधिमा आएका ३४ जनाको स्वाब परीक्षण गरिएकोमा एक जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको हो । नगरपालिकातर्फ भीमदत्तमा १ हजार १६, महाकालीमा ८ सय ५०, कृष्णपुरमा ८ सय ६१, वेदकोटमा ७ सय ६८, शुक्लाफाँटामा ७ सय ४९, पुनर्वासमा ७ सय ३० र बेलौरीमा २ सय ७२ जना भित्रिएका छन् । यसैगरी, बेलडाँडी गाउँपालिकामा २ सय ५८ र लालझाडी गाउँपालिकामा १ सय ३४ जना आएका छन् ।


जिल्लाका हरेक स्थानीय तहले चैत दोस्रो सातादेखि मात्र भारत तथा तेस्रो मुलुकबाट आएकाहरूको तथ्यांकलगायत अन्य विवरण संकलनको काम सुरु गरेका हुन् । त्यस क्रममा स्वास्थ्य जाँच पनि गरिएको थियो । संक्रमणका लक्षण देखिएकाहरूलाई क्वारेन्टाइनमा राखिएको हो । ‘हामीहरूले अहिले पनि निरन्तर फलोअप गरिरहेका छौं, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली हरेकको घरदैलोमा पुगेको छ,’ कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले दाबी गरे, ‘लकडाउनको अवधिमा आएका सबैलाई क्वारेन्टाइनमा राखेका छौं ।’ भारतबाट अहिले पनि आउने क्रम जारी छ ।


अहिले जिल्लाका सबै स्थानीय तहमा १ सय १५ जना क्वारेन्टाइनमा छन् । यसबाहेक दुवैतर्फ लकडाउनपछि सीमा क्षेत्रमा अलपत्र ९३ जनालाई महेन्द्रनगरको वैजनाथ माविमा र २३ जनालाई वेदकोटको सुन्दरपुरस्थित कृषि पाइलट फर्म क्वारेन्टाइनमा राखिएको छ । कृषि फर्ममा राखिएकामध्ये १३ जनाको स्वाब परीक्षण गरिएकोमा एक जनाबाहेक अरूमा संक्रमण नदेखिएको नगरपालिकाले जनाएको छ ।


भारत उत्तराखण्डको लोहाघाटबाट आएका वेदकोट क्षेत्रकै एक जनामा संक्रमण पुष्टि भएपछि यस क्षेत्रमा त्रास छ । भारतबाट आएकाहरूबाट संक्रमणको जोखिम बढेको भन्दै उनीहरूलाई झनै निगरानीमा राख्नुपर्ने स्थानीयले माग गरेका छन् । संक्रमितको सम्पर्कमा आएका सबैको कन्ट्रयाक्ट ट्ेरसिङ भइसकेको र सबैलाई प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणसँगै स्वाब संकलन पनि भइसकेको नगरपालिकाले जनाएको छ ।


कञ्चनपुरमा मात्रै होइन सुदूरपश्चिममा पनि भारतबाट फर्किएकाहरूबाट निकै जोखिम बढाएको छ । उनीहरूलाई क्वारेन्टाइनमा नराखी सोझै घर पठाएका कारण सर्वसाधारण त्रसित बनेका हुन् । फागुन २३ पछि मात्रै गड्डाचौकी र गौरीफण्टा नाकाबाट डेढ लाख बढी नेपाली भारतबाट फर्किएका छन् ।


सीमापारिको क्वारेन्टाइनमा १४ जना नेपाली


कपिलवस्तुसँग सीमा जोडिएको भारतीय बजार बढनीमा १४ जना नेपाली क्वारेन्टाइनमा छन् । संक्रमणको त्रासका कारण नेपाल–भारत दुवैतिर लकडाउनपछि सीमामा अलपत्र परेकाहरूलाई भारतीय अधिकारीले गान्धी आदर्श इन्टर कलेजको क्वारेन्टाइनमा राखेका हुन् । उनीहरूलाई आवश्यक व्यवस्थापन सिद्धार्थनगर जिल्लाको बढनी नगर पञ्चायतले गरेको छ ।

भारतको जयपुरबाट आएका दाडको लक्ष्मीपुरका दुई परिवारका ६ जना, कपिलवस्तुको वनकट्टी, इमिलिया र महाराजगन्जका ८ जना क्वारेन्टाइनमा छन् ।


क्वारेन्टाइन २ सय ८६, बस्ने ६ जना मात्रै


गोरखा नगरपालिका–१०, टक्सारस्थित बहिरा आवासीय माविको ५० बेडको क्वारेन्टाइन स्थल रित्तो छ । ‘शंकास्पद अवस्थाका केही देखिए राख्नका लागि क्वारेन्टाइन तयार छ,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मी भन्छन्, ‘हाम्रो आशय कोही पनि बस्न नपरिदिए हुन्थ्यो भन्ने हो ।’ ११ वटै स्थानीय तहले क्वारेन्टाइन स्थल तोकेका छन् । तर, विदेशबाट फर्किएकाहरू बसेका छैनन् ।

धार्चे गाउँपालिकामा दुई जना, सहिद लखन गाउँपालिकामा तीन र बारपाक सुलिकोट गाउँपालिकामा एक गरी ६ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएकाहरू मेलापात तथा गाउँमा आफन्त र छिमेकी भेटघाटमा निक्लँदा गाउँमा त्रास छ ।


जिल्ला प्रशासनका अनुसार कोरोना त्रासपछि भारतलगायत तेस्रो मुलुकबाट फर्किएकाको संख्या ३ सय ९६ छ । त्यसमा २ सय ६८ जना भारतबाट फर्किएकाहरू छन् । पछिल्लो एक महिनामा ३ सय ६८ जना विदेशबाट आएको प्रशासनका अधिकृत हर्क रोकाले बताए । १४ दिनको अवधिमा १ सय ५१ जना विदेशबाट फर्किएका छन् ।


‘सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएका थियौं,’ उनले भने, ‘केही १४ दिन होम क्वारेन्टाइनमा बसिसकेका छन्, स्वास्थ्य अवस्था सामान्य छ । अब १ सय ५१ जना मात्र होम क्वारेन्टाइनमा छन् ।’


कतै समय थप, कतै घर फर्कंदै


डोटीमा क्वारेन्टाइनमा रहेकालाई थप सात दिन राखिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार उनीहरूलाई थप एक साता राखिने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।


यहाँ चैत ११ बाट क्वारेन्टाइनमा राख्न थालिएको हो । जसअनुसार क्वारेन्टाइनको बसाइ मंगलबार १४ दिन पुग्ने भए पनि उनीहरूमा लक्षण देखिनसक्ने भन्दै संघीय सरकारले थप राख्नुपर्ने निर्देशन दिएको उनले जनाए । आइतबार मात्रै प्रदेशवासीका नाममा सम्बोधन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि क्वारेन्टाइन बसाइको सीमा २१ दिन हुने घोषणा गरेका थिए ।


मंगलबारै नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको स्वास्थ्यकर्मीको टोली हेलिकप्टरबाट क्वारेन्टाइनमा बसेकाहरूको थ्रोट स्वाब संकलनका लागि आउने जानकारी दिइएको थियो । तर, स्वास्थ्य सामग्री र उपकरणको अभावले स्वास्थ्यकर्मीको टोली आउन नसकेको उनले जानकारी दिए ।


उनका अनुसार उक्त टोलीले डोटीका पाँच स्थानमा पुगी क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गर्ने योजना थियो । ‘परीक्षणका लागि आवश्यक किट र अन्य सामग्री उपलब्ध नभएपछि हेलिकप्टर आउने कुरा रद्द भयो,’ उनले भने, ‘अब कहिले हुन्छ अहिल्यै भन्न सकिने अवस्था छैन ।’


जिल्लामा चैत ११ बाट हालसम्म ३ सय ५ जना क्वारेन्टाइनमा बसेका छन् । त्यसअघिदेखि नै तथ्यांक संकलन गरेको स्वास्थ्य कार्यालयले भने ५ सय ५७ जना क्वारेन्टाइनमा रहेको दाबी गरेको छ । संक्रमणको लक्षण देखिएको भन्दै सोमबार एक जनालाई डोटी अस्पतालमा भर्ना गरिएको छ । उनको मंगलबार थ्रोट स्वाब संकलन गरी धनगढी पठाउने तयारी भइरहेको छ । यसअघि अस्पतालको आइसोलेसनमा भर्ना भएका तीन जनाको रिपोर्ट भने ‘नेगेटिभ’ देखिएको थियो ।


४ जना घर फर्किए


बैतडीमा क्वारेन्टाइनमा बसेका चार जना घर फर्किएका छन् । आइतबार पञ्चेश्वर गाउँपालिकास्थित क्वारेन्टाइनबाट दुई जना र सोमबार पाटनबाट दुई जना घर फर्किएका सम्बन्धित पालिकाले जनाएका छन् । १४ दिन पुगेपछि उनीहरूलाई घर पठाइएको हो ।


भारतबाट फर्केका उनीहरूमा १४ दिन क्वारेन्टाइन बस्दा संक्रमणको लक्षण नदेखिएको र पालिकाका स्वास्थ्यकर्मीको निगरानीमै बसेकाले घर पठाइएको स्वास्थ्य कार्यालयमा सूचना अधिकारी भुवन जोशीले बताए । उनका अनुसार जिल्लामा अहिले ४ सय ९७ पुरुष र एक महिला गरी ४ सय ९८ जना क्वारेन्टाइनमा छन् । लकडाउनपछि जिल्लामा बाहिरबाट फर्केकाहरूको संख्या ५ सय ७१ रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । उनीहरू भने क्वारेन्टाइनमा बसेका छैनन् । गौरीफन्टा नाकाबाट आएका एक युवामा कोरोना देखिएपछि उक्त दिन त्यहाँबाट आएकाहरूको भने खोजी जारी छ । पछिल्लो चरणमा ७२ जना आएको प्रहरीसँग रेकर्ड भए पनि सबै क्वारेन्टाइनका बसेका छन्/छैनन् भन्ने खोजी भइरहेको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए ।


भवानी भट्ट (कञ्चनपुर), मनोज पौडेल (कपिलवस्तु), हरिराम उप्रेती (गोरखा), मोहन शाही (डोटी) र तृप्ति शाही (बैतडी) को रिपोर्ट

प्रकाशित : चैत्र २६, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानमा लकडाउन हटेपछिकाे दृश्य

एजेन्सी

बेइजिङ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल(इपिसेन्टर) मानिएको चीनको वुहानमा बुधबारदेखि लकडाउन हटाइएको छ ।

डिसेम्बरको अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । कोरोना भाइरसको संक्रमण अन्यत्र फैलिन नदिनका लागि भन्दै चीनले गत जनवरी २३ मा वुहानलाई लकडाउन गरिएको थियो । बुधबारदेखि वुहानका नागरिक चीनको अन्य ठाउँ जान पाउने भएका छन् । वुहानका रेल्वे अधिकारीहरुका अनुसार बुधबार मात्रै ५५ हजारभन्दा बढी यात्रु रेलमार्फत वुहानबाट यात्रा गर्दैछन् ।

तस्बिर : सिन्‍ह्‍वा
७६ दिनपछि वुहानको सीमा खुलाइए पनि केही प्रतिबन्ध भने कायमै हुने चिनियाँ अधिकारीले जनाएका छन् ।
कोरोना संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्यतर्फ गएको छ । इपिसेन्टर नै मानिएको वुहानमा लकडाउन हटाइएपछि चीनको जनजीवन पूर्ववत् अवस्थामा फर्किएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । याङ्त्सी नदीको किनारमा रहेको औद्योगिक हब मानिने वुहानमा मात्रै कोरोना भाइरसको संक्रमणबाट २ हजार ५ सयको मृत्यु भएको थियो ।

तस्बिर : सिन्‍ह्वा
त्यस्तै वुहानमा मात्रै ५० हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पुष्टि भएकोमध्ये ७७ प्रतिशत संक्रमण वुहानमा मात्रै भएको थियो । कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै चीनले करिब २ महिनासम्म वुहानका व्यावसायिक प्रतिष्ठान, यातायातका साधन बन्द गर्नुका साथै स्थानीयलाई तरकारी किन्नका लागि पसलसम्म जान पनि दिइएको थिएन ।

वुहानको दैनिकी सामान्य बनेपछिको दृश्य तस्बिर : सिन्‍ह्‍वा
अहिले विश्वका २ सयभन्दा बढी देशमा कोरोना संक्रमण फैलिइसकेको छ भने करिब १४ लाख व्यक्ति संक्रमित भएका छन् भने ८२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक फोटो खिचाउँदै स्वास्थ्यकर्मीहरु तस्बिर : रोयटर्स

वुहानबाट हान्‍कौ रेल्वे स्टेसनका लागि छुट्‍न लागेको रेलबाट बाहिर चियाउँदै एक प्रहरी तस्बिर : रोयटर्स

प्रकाशित : चैत्र २६, २०७६ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×