स्थानीयमा कोरोना संक्रमण देखिएसँगै जोखिममा छौं : प्रधानमन्त्री

चैत्र २५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको  दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन् ।

'बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेका छौं । यसबाट हामी थप जोखिममा छौं भन्ने देखाएको छ,' प्रधानमन्त्रीले भने । 

'विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ । तत्काल क्वारेन्टाइनमा जानुस् । तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ,' उनले भने । संक्रमणको जोखिमलाई न्यून गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको उनको भनाइ थियो । भारतबाट आएर सीमानामा रहेका २ हजार १४७ नेपालीलाई भारतमा नै राखिएको प्रधानमन्त्रीको भनाइ थियो । त्यस्तै भारतीय ७ भन्दा बढी नागरिकलाई नेपालमा नै व्यवस्थापन गरिएको उनले सुनाए ।

कतिपय अनुसन्धान गर्ने संस्थाले नेपालले चालेका कदम विकसित मुलुकभन्दा प्रभावकारी रहेको भनेर प्रशंसा गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाविरुद्धका सबै कामको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

स्थानीय तह र प्रदेश सरकारको भूमिका पनि यसबेला प्रभावकारी देखिएको प्रधानमन्त्रीको भनाइ थियो ।

चिकित्सक, सुरक्षाकर्मीको प्रभावकारी भूमिका रहेको भन्दै प्रधानमन्त्रीले अझै जोखिमयुक्त क्षेत्रमा काम गर्नेको भूमिका अहम रहने बताए ।

लकडाउनप्रधानमन्‍त्रीको सम्बोधनकोरोना भाइरसकोभिड–१९ संक्रमण रोकथाम समिति

कान्तिपुर

Link copied successfully