बेइजिङ — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । जनवरीयता पहिलो पटक सोमबार कोरोना भाइरसको स्थानीय केस र कसैको पनि मृत्यु नभएको आयोगले जनाएको छ ।
सोमबार चीनमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि सबै ‘आयातित केस’ रहेको पनि आयोगले जनाएको छ ।
मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३५ रहेको छ । त्यस्तै चीनमा अहिलेसम्म ८२ हजार ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये करिब ७७ हजार निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्य हुँदै गएको छ । कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानमा पनि भोलिबाट लकडाउन हटाइँदैछ । साथै चीनका विभिन्न प्रान्तमा रहेका पर्यटकीय तथा सांस्कृतिक केन्द्रहरु पनि खुला गरिसकिएको छ ।
अमेरिकामा संक्रमण तीव्र
चीनमा कोरोना भाइरसको संक्रमण न्यून भइरहेका बेला अमेरिकामा भने तीव्र गतिमा बढिरहेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८६ पुगेको छ ।
अमेरिकामा सोमबार मात्रै एक हजार ३ सय ४३ को मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित भएका छन् । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार एक सय ९६ पुगेको छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ ।
त्यस्तै मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट इटालीमा १६ हजार ५ सय २३, स्पेनमा १३ हजार ३ सय ४१, बेलायतमा ५ हजार ३ सय ८५, फ्रान्समा ८ हजार ९ सय २६, जर्मनीमा एक हजार ८ सय १०, इरानमा ३ हजार ७ सय ३९जनाको मृत्यु भएको छ ।
मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ८ सयभन्दा बढी छ । त्यस्तै १३ लाखभन्दा बढी संक्रमित हुँदा करिब २ लाख ७७ हजार निको भएका छन् ।
