साउदी अरबमा २४ घण्टे कर्फ्यु जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबमा कोरोना भाइरसको संक्रमण बढेपछि सोमवार रातिदेखि २४ घण्टे कर्फ्यु जारी गरिएको छ । साउदीमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ५ सय २३ पुगिसकेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको प्रमुख प्रान्त रियाद, ताबुक, दमाम, दहरान, हाफुफ, जेद्दा, तैफ, कतिफ र अलखोवरमा अर्को सुचना जारी नभएसम्मको लागि २४ घण्टे कर्फ्यु लगाइएको हो । मक्का र मदिनामा भने गत बिहीबारदेखि नै लागू गरिएको थियो ।


साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बिहान ६ बजेदेखि ३ बजेभित्र भने खाद्यान्‍न र औषधि खरिद गर्न भने खुल्ला रहेको वताए । मेडिकल, खाद्यान्‍न आपूर्ति, ग्याँस स्टेसन, बैंकिङ, मर्मतसम्भार, प्लम्बर, बिजुली बत्ती, एसी मेकानिक, पानी र फोहोर पानी बोक्ने ट्याङ्कर चालकलाई भने लागू हुँदैन ।


दूतावासले खाद्यान्य र औषधी खरिद गर्नको लागि बाहिर निस्कदा अनिवार्य रुपमा साउदी परिचय पत्र बोक्न नेपाली समुदायलाई आग्रह गरेको छ ।


साउदीमा कार्यरत नेपाली कामदारले पुरै लकडाउन वा कर्फ्यु जारी नगर्दा आफूहरु जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । सोमबारसम्म उनीहरु असुरक्षित रुपमा कम्पनीहरुले काममै लगाइरहेको थियो । ‘मैले दैनिक झन्डै २५० वटा गाडी धुनुपर्दथ्यो । टाढा टाढाबाट आएका गाडीभित्रको फोहोर, प्रयोग गरिएका पन्जा र मास्कहरु गाडीबाट निकाल्नु पर्दथ्यो । यो कर्फ्युले हामीजस्ता कामदारलाई ठूलो राहत दिएको छ’, नरेन्द्र खड्काले भने,‘बल्ल सुरक्षित भएको महसुस गरेका छौं ।’


साउदीमा सोमबारसम्म ४ जना नेपाली संक्रमित भएका छन् ।


सोमबार पनि साउदीमा थप १३८ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरुमध्ये हालसम्म ५२१ जना निको भएका छन् । ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो एकसाता साउदीमा देखिएको संक्रमितको सख्या

चैत २४ : १३८

चैत २३ : ३४६

चैत २२ : १४०

चैत २१ : १५४

चैत २० : १६५

चैत १९ : १५७

चैत १८ : ११०

चैत १७ : १५४

प्रकाशित : चैत्र २५, २०७६ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘सेल्फ’ प्रशिक्षणमा रम्दै राष्ट्रिय फुटबलर

सुवास बिडारी

मकवानपुर — फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर देशका चर्चित फुटबलरमा पनि परिरहेको छ ।

मकवानपुरबाट राष्ट्रिय टोलीमा रहेका खेलाडी अन्जन विष्ट, रन्जन विष्ट, सुनील बल र एलन न्यौपाने हुन् । रन्जन र अन्जन दाजुभाइ हुन् । कोरोनाका कारण अहिले विष्ट दाजुभाइ र सुनील हाल गृहनगर हेटौंडामै छन् भने एलन एक महिनाअगाडि मात्र अस्ट्रेलियातर्फ लागेका थिए । विभिन्न उमेर समूहमा नेपालको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रेका विंगर तथा च्यासलका कप्तान अमिर श्रेष्ठ र मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक अशोक बराल पनि हेटौंडामै छन् ।

मनाङको अग्रपंक्ति सम्हालिरहेका विष्ट दाजुभाइ आफूलाई फिट राख्नका लागि हेटौंडा–१० स्थित घर नजिकै रहेको वनविज्ञान अध्ययन संस्थान (फरेस्ट्री) मैदानमा बेलुकी समयमा प्रशिक्षण गरिरहेका छन् । ‘क्लबमा हुँदा समूहमा रहेर प्रशिक्षकको निर्देशन अनुसार प्रशिक्षण गरिन्थ्यो । अहिले एक्लै आफूलाई फिट राख्नका लागि प्रशिक्षण गरिरहेको छु,’ अन्जनले बेलुकी समय प्रशिक्षणमा बिताए पनि बिहान र दिउँसो घरमै बसिरहेको बताए । गायनमा सौखिन उनी गिटार बजाएर दिन काटिरहेको बताउँछन् ।

रन्जन भने बिहान र दिउँसो घरमै बसिरहेको र बेलुकाको समयमा ‘सेल्फ’ प्रशिक्षण गरिरहेको बताउँछन् । ए डिभिजन लिग र मोफसलमा भएका विभिन्न नकआउट फुटबल प्रतियोगितापछि घरमा आएर परिवारसँग बस्दा आफूलाई फिट महसुस गरेको उनले सुनाए । भने, ‘लिगलगत्तै विभिन्न जिल्लामा भएको नकआउट फुटबलको व्यस्तताबाट राहत मिलेको छ ।’ उनले फुटबलप्रेमी एवं सबैलाई कोरोनाबाट बच्नका लागि सुरक्षित घरमै बस्न आफ्नो फेसबुक पेजमार्फत् आग्रह गरिरहेको बताए ।

नेपालले आफ्नै भूमिमा १३ औं सागमा फुटबलको स्वर्ण पदक जित्दा महत्त्वपूर्ण भूमिका खेलेका सुनील अहिले हेटौंडा–१४ स्थित आफ्नै घरमा छन् । ‘घर नजिकैको चौरमा बिहान र बेलुका पसिना बगाइरहेको छु । यो समयमा कहाँ जानु । घरमै बसेर दिन बितिरहेको छ,’ उनले लिगमा च्यासलबाट खेल्दा सोचेजस्तो नतिजा नआए पनि अझै आफ्नो खेललाई कसरी तिखार्न सकिन्छ भनेर भरपूर सोच्ने मौका लकडाउनले दिएको बताए । ‘अन्य क्लबमा जानेबारे अहिल्यै सोचेको छैन,’ थ्रीस्टार छाडेर लिगअघि च्यासलमा आबद्ध उनले भने ।

‘ए’ डिभिजन लिगमा विपक्षी खेलाडीविरुद्ध अभद्र व्यवहार गरेपछि कारबाही भोगेका अशोक बराल पनि अहिले फरेस्ट्रीमै अभ्यास गरिरहेकै भेटिन्छन् । मनाङले धरानमा भएको बुढासुब्बा गोल्डकप र पोखराको आहा–रारा गोल्डकप जित्दा उत्कृष्ट गोलरक्षक घोषित अशोक आफूलाई फिट राख्न बिहान र बेलुका नै प्रशिक्षण गरिरहेको बताउँछन् । यस्तै अमिर श्रेष्ठ पनि हेटौंडा–९ स्थित पशुपतिनगरमा रहेको औद्योगिक क्षेत्रको मैदानमा नियमित प्रशिक्षण गरिरहेका छन् । ‘घर नजिकैको जुनियर भाइ र म दैनिक प्रशिक्षण गरिरहेका छौं,’ अमिरले लकडाउनको दिनदेखि नै घरबाट मैदानबाहेक अन्यत्र नगएको सुनाए ।

संकटा क्लबसँग आबद्ध मकवानपुरे गोलरक्षक रोहित कार्की र बिग्रेड ब्वाइजका डिफेन्डर एन्जल महर्जनलगायतका खेलाडी पनि अहिले घरमै छन् । जिल्ला फुटबल संघ मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठ आफूसँग नियमित रूपमा प्रशिक्षण गर्ने करिब ४० भन्दा बढी खेलाडीलाई लकडाउनको घोषणा भएसँगै घरमै बसेर सामान्य अभ्यास गर्न आग्रह गरिएको बताउँछन् ।

प्रकाशित : चैत्र २५, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×