कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या १० हजार नाघ्यो

३ लाख ६८ हजारभन्दा बढी संक्रमित

चैत्र २५, २०७६

एजेन्सी

वासिंङ्टन — अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण निरन्तर तीव्र गतिमा बढिरहेको छ ।  जोन होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८६ पुगेको छ ।

अमेरिकामा सोमबार मात्रै एक हजार ३ सय ४३ को मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित भएका छन् । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार एक सय ९६ पुगेको छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । संक्रमितमध्ये निको हुनेको संख्या भने करिब २० हजार रहेको जोन होप्किन्स विश्‍वविद्यालयले जनाएको छ।

त्यस्तै मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट इटालीमा १६ हजार ५ सय २३, स्पेनमा १३ हजार ३ सय ४१, बेलायतमा ५ हजार ३ सय ८५, फ्रान्समा ८ हजार ९ सय २६, जर्मनीमा एक हजार ८ सय १०, इरानमा ३ हजार ७ सय ३९ र चीनमा ३ हजार ३ सय ३५ को मृत्यु भएको छ । 

मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ८ सयभन्दा बढी छ । त्यस्तै १३ लाखभन्दा बढी संक्रमित हुँदा करिब २ लाख ७७ हजार निको भएका छन् । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully