२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

महाकाली तरेर नेपाल भित्रने क्रम रोकिएन

भारतमा अलपत्र परेकाहरु निर्बाध रुपमा नेपाल भित्रिइरहँदा कोरोना संक्रमणको जोखिम अझ बढेको छ।
मनोज बडू

दार्चुला — ब्यास गाउँपालिका-४ डोकट नजिक महाकालीमा ढुंगाको साँघु तरेर भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको छ। लकडाउनका कारण भारतबाट नेपाल प्रवेश गर्ने नाका बन्द भएपछि रोकिएका नेपाली जिल्लाको उत्तरी भेगको भारतीय भूभाग हुँदै ब्यास क्षेत्रबाट नेपाल छिरिरहेका हुन्।

महाकाली तरेर नेपाल भित्रने क्रम रोकिएन

भारतले लिपुलेक जोड्ने सडक निर्माणका क्रममा फुटाएको चट्टानी ढुंगा थुप्रिएपछि महाकाली नदीमा साँघु बनेको छ। उक्त साँघुबाट केही दिनदेखि भारतमा अलपत्र परेकाहरु निर्बाध रुपमा नेपाल भित्रिरहेका हुन्। बस्तीबाट केही टाढा रहेको हुनाले स्थानीय र सुरक्षाकर्मीको निगरानी नभएको बेला उनीहरु आइरहेको ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताए।

दुई-तीन दिनदेखि भारतमा अलपत्र परेका नेपाली कामदार अवैध नाका प्रयोग गरी आएपछि शनिबारबाट प्रहरी र स्थानीयलाई निगरानीका लागि परिचालन गरिएको ओझाको भनाइ छ। बिहीबार राति ब्यास-३ का १७ जना र वडा नं ४ का दुई जना भित्रिएका थिए। त्यसअघि भित्रिएका ब्यासका ६ जना र अन्य ठाउँका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

अन्य व्यक्ति पनि रातिको समयमा महाकाली तरेको हुन सक्ने सम्भावना रहेको भन्दै शनिबारदेखि सुन्सेरा प्रहरी चौकीका हवल्दारसहित दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र एक जना स्थानीयलाई परिचालन गरेर चौबीसै घन्टा निगरानी गरिएको प्रशासकीय अधिकृत ओझाले जानकारी दिए। यसअघि भारतबाट नेपाल प्रवेश गरेका स्थानीय र बाहिरका मानिसलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म भारतका विभिन्न ठाउँबाट स्वदेश आएका २४ जना क्वारेन्टाइनमा छन्।

चार दिनअघि उक्त साँघु प्रयोग गरी बैतडी, बझाङलगायत जिल्लाका मानिस नेपाल छिरेपछि प्रहरीले दिनमा महाकाली किनारतिर सुरक्षा गस्ती पठाए पनि राति नेपाल प्रवेश गर्नेको अवस्थाबारे जानकारी छैन। उक्त साँघुबाट करिब २० जना एकैदिन नेपाल प्रवेश गरेका थिए।

नाकाबाट नेपाल प्रवेश गर्ने बढ्न थालेपछि संक्रमणको जोखिम बढाएको स्थानीय मदनसिंह कुँवरले बताए।

प्रकाशित : चैत्र २३, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?