कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निजामुद्दिन भेलाका सहभागीमा कोरोना संक्रमण : २० भन्दा बढी नेपालीको रिपोर्ट आउन बाँकी

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा सोमबार साँझ निजामुद्दिन मस्जिदमा हालै सम्पन्न धार्मिक भेला (मरकज) मा सहभागीमध्ये सोमबार नै कम्तीमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भारतभर त्रास सिर्जना गरेको छ ।

निजामुद्दिन भेलाका सहभागीमा कोरोना संक्रमण : २० भन्दा बढी नेपालीको रिपोर्ट आउन बाँकी

दिल्लीमा सोमबार पुष्टि भएका २५ केसमध्ये २४ जना उक्त भेलामा सहभागी भएको पाइएपछि त्रास बढेको हो । उक्त भेलामा नेपाली नागरिक सहभागी भएको पुष्टि भए पनि संख्या भने यकिन हुन सकेको छैन । त्यसबाहेक निजामुद्दिनस्थित मदरसामा केही नेपालीहरु विद्यार्थीहरु समेत अध्ययनरत थिए । दिल्लीस्थित नेपाली दूतावासले भेलामा सहभागीहरुको संख्या बीसभन्दा बढी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ ।

‘अहिले हामीलाई २० जनाको सूची प्राप्त भएको छ तर, यो संख्या बढ्ने सम्भावना छ’ दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले बताए । नेपालीहरुको स्वास्थ्य परीक्षणको विवरण भने प्राप्त हुन बाँकी नै रहेको छ । रेग्मीका अनुसार नेपालीहरुको स्वास्थ्य परीक्षण गरिएको तर, रिपोर्ट भने आइनसकेको बताए ।

५ देखि १३ मार्चसम्म चलेको उक्त भेलामा सहभागी करीब दुई हजारभन्दा बढी सहभागी थिए । जसमध्ये एक हजार ५ सयभन्दा बढी २४ मार्चअघि नै आ–आफ्नो गन्तव्यतर्फ गइसकेका छन् । तर देशव्यापी लकडाउनका कारण एक हजारभन्दा बढी त्यहीँ रोकिएका थिए । उक्त भेलामा १९ जना नेपालीहरु पनि सहभागी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको नेपाल फर्किसकेको वा दिल्लीमै रहेको भन्ने खुल्न सकेको छैन ।

केन्द्र र दिल्ली सरकारले उक्त भेलाका सहभागीहरुको खोजी सुरु गरेको जनाएका छन् । त्यसैगरी तेलंगनामा ६ र जम्मू–कश्मीरमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएकाहरु पनि सोही भेलामा सहभागी भएको खुलेको छ । साथै महाराष्ट्रमा मृत्यु भएका एक व्यक्ति पनि भेलामा सहभागी भएको हुन सक्ने बताइएको छ ।

इस्लाम धर्मावलम्बीहरुमध्येको सुन्नी सम्प्रदायअन्तर्गतको सामाजिक संगठन तकलीबी जमातले उक्त भेला आयोजना गरेको थियो । जमातको मुख्यालय निजामुद्दिनमा बर्सेनि यस्तो भेला आयोजना हुँदै आएको छ । उक्त भेला बेंगलवाली मस्जिदमा हुने गर्छ । यो अन्तर्राष्ट्रिय केन्द्र पनि हो तकलीबी मरकजको । जसमा भारतका मात्र नभएर अन्य मुलुक मुसलमानहरु पनि सहभागी हुने गर्छन् । उनीहरु चार–पाँच दिन बसेर फर्किन्छन् ।

मार्चको दोस्रो साता पनि यस्तै किसिमको भेला आयोजना गरिएको थियो । जसमा ३ हजार ५ सय भन्दा बढी सहभागी थिए । र, नेपाललगायत इन्डोनेसिया, थाइल्याण्डबाट उपस्थिति थियो । २४ मार्चमा भारत सरकारले लकडाउन लागू गरेपछि तीमध्ये हजारभन्दा बढी त्यहीँ रोकिएका थिए ।

दिल्लीको निजामुद्दिन क्षेत्रका कोरोना संक्रमणको आशंका गरिएकालाई जवाहरलाल नेहरु रंगशालामा बनाइएको क्‍वारेन्टाइनमा लगिँदै

भेलामा सहभागी विभिन्न राज्य पुगेकाहरुमा संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले त्यहाँ रहेका सबैलाई बाहिर निकालेको छ । जसमध्ये ३ सयभन्दा बढीलाई कोरोनाको आंशकामा विभिन्न अस्पतालमा भर्ना गरिएको छ भने बाँकीलाई विभिन्न स्थानमा क्वारन्टोइनमा राखिएको छ ।यस घटनापछि कोरोना संक्रमितको संख्या बढ्ने सक्‍ने भन्दै दिल्लीको जवाहरलाल नेहरु रंगशालालाई नै क्‍वारेन्टाइन बनाइएको छ ।

यसैबीच प्रशासनले २४ मार्चमा दिल्ली छाड्नेहरुको सूची मागेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यसदिन दिल्ली छाड्नेहरुमध्ये करिब ९ सयको पहिचान भइसकेको छ । भेलामा सहभागीहरु भारतका विभिन्न १८ राज्यमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले स्थानीय प्रशासनलाई उद्धृत गर्दै जनाएका छन् ।

त्यसैगरी आन्ध्र प्रदेश, कश्मीर, तमिलनाडु र उत्तर प्रदेशमा देखिएका संक्रमित केसमा पनि मरकजमा सहभागी भएकाहरुको सम्पर्कमा रहेको आशंका गरिएको छ । त्यसो त २० मार्चमा तेलगंनामा पहिचान भएका संक्रमितहरुमध्ये इन्डोनेसियाका १० जना नागरिक पनि सोही भेलामा सहभागी भएको खुलेको थियो ।

दिल्ली प्रहरीले भने २३ र २८ मार्चमा मस्जिद समितिलाई मरकज खाली गराउन आदेश दिए पनि पालना नगरेको आरोप लगाएको छ । भेला आयोजकले भने २३ मार्चमै १५ सयभन्दा बढी आ–आफ्नो राज्यमा फर्केको जनाएको छ । र, परिस्थितिका बारेमा स्थानीय प्रहरीलाई नियमित रुपमा जानकारी गराएको र मस्जिद परिसरलाई चाँडोभन्दा चाँडो खाली गराउन गाडीको पास उपलब्ध गराइदिन प्रशासनसमक्ष आग्रह गरेको समेत दाबी गरेको छ ।

भेलासम्बद्ध मौलाना युसुफले भने सरकारको लकडाउन आदेशको पूर्ण पालना गरेको दाबी गरेका छन् । उनले मरकजमा स्वदेशी र विदेशी सदस्य (तबलिगी) पहिलेदेखि नै त्यहाँ रहेको दाबी गरेका छन् । लकडाउन सुरु हुनुअघि नै मरकज परिसर खाली गराउने प्रयास गरिएको तर लकडाउनका कारण सम्भव नभएको समेत उनले प्रस्ट पारेका छन् ।

आफूहरुले २४ मार्चमै स्थानीय प्रहरीलाई परिस्थितिका बारेमा जानकारी गराएको समेत उनले जनाएका छन् । त्यसपछि स्थानीय प्रशासन र प्रहरीका अधिकारीहरुले मरकजको निरीक्षण गरेको समेत मौलानाको दाबी छ । तर, दिल्ली सरकारले भने १६ मार्चमै पचास जनाभन्दा बढी भेला नगर्न जारी गरिएको आदेशको मस्जिदले बेवास्ता गरको जनाएको छ ।

त्यसैगरी २१ दिने लकडाउनको पनि उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले मौलानाविरुद्ध एफआईआर दायर गर्ने तयारी गरेको बुझिएको छ । यो घटना बाहिर आएपछि स्थानीय प्रशासनले निजामुद्दिन मस्जिद क्षेत्रलाई नियन्त्रणमा लिएर आसपासको क्षेत्रमा थप कडाइ गरिएको छ । र, आसपासको क्षेत्रमा मानिसहरुको आउजाउ रोक्न ड्रोनबाट निगरानी सुरु गरिएको छ ।

यसैबीच भारतीय सञ्चारमाध्यमहरुले भारतीय गृहमन्त्रालयलाई उद्धृत गर्दै पर्यटक भिसामा आएर भेलामा सहभागी भएको भन्दै भारत सरकारले तीनसय जनाभन्दा बढी विदेशीलाई कालो सूचीमा राख्ने निर्णय भएको जनाएका छन् । उक्त भेलामा नेपालबाहेक मलेसियाका २०, अफगानिस्तानका एक, म्यानमारका ३३, किर्गिस्तानका २८, इन्डोनेसियाका ७२, थाइल्याण्डका ७, श्रीलंकाका ३४, बंगलादेशका १९ र अन्य देशका तीन सयभन्दा बढी सहभागी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : चैत्र १८, २०७६ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?