२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

फोनबाटै उपचार !

चोटपटक र दीर्घरोगका बिरामीलाई फोनकै भरमा औषधि प्रेस्क्राइब गर्दा जोखिम हुने चिकित्सक बताउँछन्।
फातिमा बानु

काठमाडौँ — लकडाउनका कारण आकस्मिकबाहेक अन्य बिरामी हेर्न छाडेपछि अधिकांश सरकारी अस्पतालले फोन नम्बर सार्वजनिक गरेका छन्। चिकित्सक संघ र अन्य चिकित्सकहरु स्वयंसेवकका रुपमा फोनबाटै बिरामी परामर्शमा जुटे पनि सबै बिरामीका लागि यो व्यावहारिक छैन।

फोनबाटै उपचार !

चोटपटक र दीर्घरोगका बिरामीलाई फोनकै भरमा औषधि प्रेस्क्राइब गर्दा जोखिम हुने ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले बताए। ‘शल्यक्रिया गरेर घर फर्किएका बिरामीका लागि फोन परामर्श केही हदसम्म सहज छ,’ उनले भने, ‘छतबाट वा भीरबाट लडेका घाइतेको खास समस्या फोनबाटै पत्ता लाग्दैन या गलत उपचार हुने सम्भावना धेरै रहन्छ।’

यस्ता खालका बिरामी अस्पताल आउन खोजे बाटोमा सुरक्षाकर्मीले रोक्न नहुने उनको भनाइ छ। अस्पतालमा अहिले दैनिक ४० वटासम्म फोन आउँछन्। सानातिना चोटपटक भएर फोन गर्ने बिरामीलाई चिकित्सकले प्राथमिक उपचार गर्न फोनबाटै सिकाइरहेका छन्। मल्हम लगाउने, ब्यान्डेज कस्ने तरिका या दुखाइ कम गर्ने औषधि खान सुझाइरहेका छन्। लडेर हात बांगिएका, धेरै रगत बगेका या कडा औषधि चलाउनुपर्नेलाई भने अस्पताल नै बोलाइने गरेको डा. पौडेलले बताए। घाइतेको मात्रै उपचार हुने अस्पतालमा नियमित सेवा सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ।

आकस्मिकबाहेक अन्य सेवा बन्द भएको अवस्थामा पनि ट्रमाको ३० बेडको आकस्मिक कक्षमा आइतबारसम्म २२ बिरामी थिए। एक सय बिरामी भर्ना भएर उपचार लिइरहेका छन्। ‘एम्बुलेन्सले बिरामी बोक्न मान्दैन भन्छन्, हामीसँग पनि २ वटा मात्रै एम्बुलेन्स छ,' डा. पौडेलले भने, 'यस्तो संकटका बेला घाइते बिरामी नै मर्कामा परे।’

वीर अस्पतालका ओपीडी र नियमित शल्यक्रिया सेवा बन्द छन्। फोनबाटै बिरामी हेर्नु भन्दै अस्पतालले २५ वटा सिम किनेर ड्युटी चिकित्सकलाई दिएको छ। बिरामीले २४ घन्टै विशेषज्ञबाट फोन सेवा पाउने सुविधा भएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए। ‘सामान्य रुघा लाग्यो, पेट या टाउको दुख्यो भने औषधि किनेर खानुस् भनेका छौं,’ उनले भने, ‘कडा एन्टिबायोटिक या सुगर प्रेसर जस्ता दीर्घरोगका बिरामीलाई फोनको भरमा औषधि किनेर खानुस् भन्दा जटिलता पैदा हुन सक्छ।’

अस्पतालमा भीड गरेर जोखिम बढाउनुभन्दा गाह्रो परेमात्रै अस्पताल आउन भनिएको छ। कडारोगीलाई औषधि दिनुभन्दा पहिले विभिन्न जाँच गर्नुपर्ने भएकाले फोनबाट उपचार सम्भव नहुने उनले बताए।

अन्य रोगका बिरामीको तुलनामा फोनमार्फत मानसिक रोगका बिरामी हेर्न भने सहज हुने चिकित्सक बताउँछन्। मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार फोनबाट रोग पहिचान गर्न सजिलो हुने भए पनि बिरामीलाई औषधि पाउन गाह्रो छ। मानसिक रोगका कुनै पनि औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना बेच्न पाइँदैन। त्यसो हुँदा बिरामी अस्पताल नै आउनुपर्ने बाध्यता छ।

‘पुराना बिरामीले औषधि किनेर लगेका हुन्छन्। समस्या थपघट हुँदा फोनबाट औषधि मिलाएर खान सिकाउन सकिन्छ,’ उनले भने, ‘तनाव बढ्यो, निद्रा लागेन भनेर फोन गर्नुहुन्छ, हामीले घरमै बसेर गर्न मिल्ने थेरापी सिकाइदिने गरेका छौं।’

विशेषगरी आँखाको उपचार फोनमार्फत जटिल हुने चिकित्सकहरुको अनुभव छ। आँखा संवेदनशील भएकाले सूक्ष्म तरिकाले हेरेर मात्रै समस्या पहिचान गर्न सकिने तिलगंगा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. बेन लिम्बुले बताए।

‘शल्यक्रिया गरेर घर फर्केका बिरामी टाँका काट्न अस्पताल आउन पाएका छैनन्,’ उनले भने, ‘आँखाको क्यान्सरका बिरामीको केमोथेरापी औषधि छुटेको छ।’ कतिपय बिरामीलाई फोनबाटै केमोथेरापी औषधि बनाउन सिकाएको उनले बताए।

फोनबाट उपचार सम्भव नहुँदा चिकित्सकले भाइबरमा भिडियो कलमार्फत आँखा जाँच गरिरहेका छन्। फोटो मागेर समस्या पत्ता लगाउने प्रयास गरिरहेका छन्। आँखाका धेरै समस्या मायक्रोस्कोपबाट हेर्दा मात्रै पत्ता लाग्ने भएकाले फोटो हेरेर गरिने डायग्नोसिस गलत हुन सक्ने डा. लिम्बुले बताए।

‘फोटो हेरेर या भिडियोबाटै गरिएको २० प्रतिशत डायग्नोसिस गलत हुन्छ,’ उनले भने, ‘गलत औषधि उपचार भएर बिरामीको आँखै जाने जोखिम पनि छ।’ जोखिम कम गर्न चिकित्सकले सकभर कडा औषधि किन्न प्रोत्साहन नगरेको उनले बताए। फोनबाट आँखाको उपचार कसरी गर्ने भन्ने सरकारले निर्देशिका छैन। चिकित्सकले भारतको निर्देशिकाअनुसार उपचार गरिरहेका छन्।

कान्ति बाल अस्पतालका चिकित्सकले पनि अहिले फोनबाटै उपचार गरिरहेका छन्। बच्चालाई ज्वरो आएको, सुत्न नमानेको, पखाला लागेको जस्ता समस्याबारे फोन आउने गरेको छ। क्यान्सरको बिरामी भए रगत चढाउन मिल्छ मिल्दैन भनेर जिज्ञासा राख्नेहरु पनि छन्। घरमै बसेर जीवनजल, सिटामोल खान या पुराना बिरामीलाई औषधि नियमित गर्न सुझाइएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताए।

‘बच्चाले समस्या भन्न जान्दैन। चिकित्सकले मुटुको चाल र अन्य लक्षण प्रत्यक्ष हेरेपछि मात्रै वास्तविक समस्या थाहा हुन्छ,’ उनले भने, ‘फोनबाट त प्राथमिक उपचार गर्नसम्म सिकाउन सकिएको छ।’


प्रकाशित : चैत्र १७, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?