(वीरेन्द्रनगर) र (सल्यान) — कोरोना भाइरस (कोभिड–१९)संक्रमणको सम्भावित जोखिम न्युनीकरण र संक्रमण पुष्टि भएमा उपचार तथा व्यवस्थापनका लागिकर्णालीका स्थानीय तह जुटेका छन् । अधिकांश स्थानीय तहमा क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ भने केहीलेआइसोलेसन वार्डसमेततयारी अवस्थामा राखेका छन् ।
स्थानीय सरकारकै सक्रियतामा गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरी विदेशबाट आएका व्यक्तिको स्वास्थ्य जाँच र तथ्यांक संकलनलाई तीब्र बनाइएको छ । सुर्खेतका नौ वटै स्थानीय तहले अहिलेसम्म एकहजार दुई सय ६५ जना भारतलगायत मुलुकबाट फर्किएको तथ्यांक संकलन गरेका छन् ।सबैभन्दा बढी चौकुने गाउँपालिकामा तीन सय ८९ नागरिक भारतबाट फर्किएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।उनका अनुसार हालसम्म सबैको स्वास्थ्यसामान्य छ ।
वीरेन्द्रनगरमा एक सय २१, पञ्चपुरीमा एक सय ३२, भेरीगंगामा ६६, गुर्भाकोटमा ७२ र लेकबेंसी नगरपालिकामा ८८ जना फर्किएको तथ्यांक छ । त्यस्तै, चिंगाडमा ८८, बराहतालमा एक सय ६८, सिम्तामा एक सय ४१ र चौकुने गाउँपालिकामा तीन सय ८९ जना घर फर्किएका सम्बन्धित स्थानीय तहले जनाएका छन् । उनीहरु सबैलाई होम क्वारेन्टाइनमा राखिएको चिंगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद देवकोटाले बताए । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्न खोजेपनि सफल नभएको उनले गुनासो पोखे । उनले भारत तथा तेस्रो मुलुकबाट घर फर्किनेहरुको संख्या अझै बढ्नसक्ने अनुमान गरे ।
सबै पालिकामा कोष, आइसोलेसन र क्वारेन्टाइन
प्रदेश राजधानीस्थित वीरेन्द्रनगर नगरपालिकालेसडक, बजार क्षेत्र तथा जिल्ला प्रहरी,स्थानीय प्रशासन तथाविभिन्न सरकारी रनिजी स्वास्थ्य संस्थामाक्लोरिनयुक्त ‘डिस–इन्फेक्टेन्ट’छर्किरहेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार वडा–वडामा‘डिस–इन्फेक्टेन्ट’छर्ने काम भइरहेको छ ।
श्रीकृष्ण संस्कृत, साधारण मावि र जन नमुना माविमा करिब एक सय वेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको उनले बताए । वीरेन्द्रनगरले प्रतिवडा ५ लाख रुपैयाँ बजेट राहतका लागि छुट्याएको छ । ‘आवश्यक परेमा विपद् व्यवस्थापन कोषबाट पनि थप रकम खर्च गर्न सकिनेछ,’ उनले भने, ‘कोषमा प्रतिवडा ३/३ लाख रुपैयाँ जम्मा गरिसकेका छौं ।’
अन्य स्थानीय तहले पनि स्वास्थ्यकर्मी, स्वयंसेविका र सुरक्षाकर्मी खटाई कोरोनाविरुद्ध प्रतिकार्य गरिरहेका छन् । गुर्भाकोट नगरपालिकामा एक करोड ३७ लाख बजेट विपद् व्यवस्थापन समितिको बैठकले तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । नगरप्रमुख हस्तबहादुर पुनले महामारीको सामना गर्न मेहेलकुनास्थित सभाहलमा २९ बेडको क्वारेन्टाइन र चारबेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको जानकारी दिए ।उनका अनुसार सहारेमा पनि १९ बेडको क्वारेन्टाइन तयार गरिएको छ ।भेरीगंगा नगरपालिकाले पनि विपद् व्यवस्थापन र वातावरण कोषबाट ५० लाख रुपैयाँ कोरोनाविरुद्धको प्रतिकार्यका लागि छुट्याएको छ । नगरपालिकामा २४ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ । नगरपालिकाले स्वास्थ्यकर्मीलाई मास्क र पीपीई पनि वितरण गरिसकेको जनाएको छ ।
सिम्ता गाउँपालिकाले पनि टोल–टोलमा ९१ वटा ‘एक्सन ग्रुप’ बनाई खटाएको छ । ‘उक्त समूहले आफ्नो टोलको रेकर्ड तयार गर्ने र साँझ सातबजेपछि फोन सम्पर्क गरीगाउँपालिकालाई जानकारी गराउने काम गरिरहेको छ,’ गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘तत्काल कार्यपालिका बैठक बसी कोरोना नियन्त्रणका लागि छुट्टै बजेट विनियोजनको तयारी गरिएको छ ।’
लेकबेंसी नगरपालिकाले पनि विपद् कोषको बजेटबाट नै कोरोना संक्रमण रोक्नका लागि आवश्यक काम गरिरहेको जनाएको छ । नगरप्रमुख गगनसिंह सुनारलेतीन ठाउँमा क्वारेन्टाइन बनाइएको बताए । उनका अनुसार वडा नम्बर १, ४ र ९का विद्यालयमा क्वारेन्टाइन कक्ष तयारी अवस्थामा राखिएको छ ।
पञ्चपुरी नगरपालिकाले पनि चार वटा विद्यालयमा अस्थायी क्वारेन्टाइन तयार गरेको प्रमुख प्रशासकीय अधिकृत चुँडामणि कँडेलले जनाए । उनका अनुसार स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ भने ११ वटै वडामा समन्वय समिति गठन गरी स्वयंसेवक परिचालन गरिएको छ ।
बराहताल गाउँपालिकाले कोरोना प्रतिकार्यका लागि १० लाख र चिंगाड गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छन् । दुवै गाउँपालिकामा क्वारेन्टाइन निर्माण भइसकेका छन् भने स्वास्थ्यकर्मीलाई पीपीई वितरण गरिएको छ ।
सचेतना र तथ्यांक संकलन सँगसँगै
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सचेतनामूलक कार्यक्रम गर्दै आएका सल्यानका १० वटै स्थानीय तहले विदेशबाट फर्किएकाको तथ्यांक संकलन जारी राखेका छन् । सुरक्षाकर्मीसँगै घरदैलो गरिरहेका जनप्रतिनिधिले भारत तथा अन्य मुलुकबाट फर्किएकाको लगत संकलन कार्यलाई तीव्रता दिएका हुन् ।
शारदा नगरपालिकामा एक साताको अवधिमा एक सय ४ जना भारत तथा अन्य देशबाट फर्किएका छन् । ‘लकडाउनले जिल्ला भित्रिने नाका बन्द भए पनि पैदल हिँडेर विभिन्न बाटो हुँदै स्थानीयबासी भित्रिएको पाइयो,’ नगरप्रमुख सुरेश अधिकारीले भने, ‘बाहिरबाट आउनेको संख्या अझैं बढ्ने अनुमान छ, सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।’
उनका अनुसार नगरपालिकाले स्थानीय मजदुरलाई दैनिक जीवनयापनमा सहयोग गर्नप्रतिव्यक्ति दुई हजार रुपैयाँउपलब्ध गराउने निर्णय गरेको छ । लुहापिङस्थित त्रिजमाविमा २० बेडको क्वारेन्टाइन निर्माण गरिएको उनले जानकारी दिए ।
बन्गाडकुपिण्डे नगरपालिकामा भारत र अन्य तेस्रो मुलुकबाट एक सय ६२ जना भित्रिएका छन् । नगरप्रमुख गोविन्दकुमार पुनले बाहिरबाट फर्किएका सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा ‘सेल्फ’ क्वारेन्टाइनमा राखिएको बताए । ‘बाहिरबाट आएका व्यक्तिका कारण गाउँमा संक्रमणको जोखिम बढी देखियो,’ उनले भने, ‘उनीहरुको नियमित स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छौं ।’
स्थानीय तहले संकलन गरेको तथ्यांकअनुसार दार्मामा दुई सय ७७, बाग्चौरमा ८१ र त्रिवेणीमा १५ जना भारत र अन्य मुलुकबाट फर्किएका छन् । दार्माले मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ भने छत्रेश्वरीमा बिरामीलाई बाहिर लैजान तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । छत्रेश्वरीमा २३ बेडको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।
त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन गरी नि:शुल्क रुपमा वितरण गरिरहेको अध्यक्ष मानबहादुर डाँगी बताउँछन् । ‘भारतबाट मजदुरी गरी फर्किएकाहरु विशेष निगरानीमा छन्,’ उनले भने, ‘सबैलाई संक्रमणबाट बच्ने उपायबारे सचेत बनाइएको छ, स्थानीयको स्वास्थ्य जाँचका लागि टोलटोलमा स्वास्थ्यकर्मी खटाएका छौं ।’
