१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बुटवलको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण थिएन

मृत्युको कारण अज्ञात, कोरोनाको त्रासमा सही उपचार नपाएको श्रीमतीको आरोप
घनश्याम गौतम

(रूपन्देही) — बुटवलको कोरोना अस्थायी अस्पतालमा आइतबार मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरहेको पुष्टि भएको छ । चैत ६ गते दुबईबाट आएपछि उच्च ज्वरो र खोकी देखिएका ३४ वर्षीय बाबुराम थापाको थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार दुईपटक परीक्षण गरेर हेर्दा दुवै रिपोर्ट नेगेटिभ देखिएको कोरोना अस्थायी अस्पताल बुटवलका डा. विष्णु गौतमले बताए ।

बुटवलको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण थिएन
रिपोर्टमा संक्रमण नदेखिएपछि उनका मृत्युको कारण अझै खुलेको छैन । पहिलो रिपोर्ट नै नेगेटिभ देखिएपछि प्रयोगशालाले दोस्रोपटक परीक्षण गरेर पनि हेरेको उनले बताए ।

थापा प्रदेश ५ सरकार र बुटवल उपमहानगरपालिकाले सञ्‍चालन गरेको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा चैत १३ गते भर्ना भएका थिए । सामान्य अवस्था रहेको उनमा आइतबार एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं पठाउने तयारी गर्दागर्दै मृत्यु भएको उपचारमा खटिएका अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–५ घर भएका उनी रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडामा डेरामा बस्दै आएका थिए । दुबईमा ट्याक्सी ड्राइभरको काम गर्दै आएका उनी सामान्य बिरामी भएपनि कोरोनाको त्रासले उपचार नपाएरै मृत्यु भएको आरोप श्रीमती रिता थापा क्षेत्रीले लगाएकी छन् ।

उनका ७ र १० वर्षका दुई छोरा छन् । आइतवार मृत्यु भएपनि सोमबारसम्म उनका आफन्त पनि शब बुझ्न अस्पताल आएका छैनन् ।

दुबईबाट फर्के लगत्तै मुर्गियास्थित आचार्य मेडिकलमा स्वास्थ्य परिक्षण गराएका थापाले टाइफाइडको औषधि सेवन गरेका थिए । निरन्तर ज्वरो र खोकी देखिएपछि स्थानीयको दबाबमा कोरोना परिक्षण गराउन बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा गएका थिए । त्यहाँबाट कोरोना संक्रमणको आशंकामा बुटवलकै कोरोना अस्थायी अस्पतालमा पठाइएपछि उनको आइसोलेसनमा राखेकै अवस्थामा मृत्यु भएको थियो ।

प्रकाशित : चैत्र १७, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?