‘आफ्नोभन्दा पनि नेपालकै छ चिन्ता’
नयाँदिल्ली — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको त्रासले सवा अर्बभन्दा बढी जनसंख्या भएको भारत पनि आक्रान्त छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले संक्रमण फैलन नदिन लकडाउनलगायतका कडा कदम चाले पनि संक्रमितको ग्राफ हरेक दिन उकालो लाग्दै गइरहेको छ ।
शनिबार साझँसम्ममा भारतमा नौ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने यसको संक्रमणबाट ३३ जनाले ज्यान गुमाइसकेका छन् । केन्द्र र प्रदेश सरकारहरुले पनि संक्रमण फैलन नदिन विभिन्न कदमहरु चालिरहेका छन् । शंकास्पद र पुष्टि भएका संक्रमितहरुको परीक्षण र उपचारका लागि सार्वजनिक तथा निजी अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ । कोरोनाविरुद्धको यो लडाइँको मोर्चामा अग्रभागमा छन् भारतीय चिकित्सकदेखि स्वास्थ्यकर्मीहरु । र, उनीहरुसँगै खटिएका छन् यहाँका तीन वटा मेडिकल कलेजमा उच्च शिक्षा अध्ययनरत् डेढ सयभन्दा बढी नेपाली चिकित्सकहरु पनि ।
त्यसरी खटिनेमा दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स), चण्डीगढको पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआईएमईआर) र पुण्डुचेरीको जवाहरलाल इन्स्टिच्युट अफ पोस्टग्राजुएट मेडिकल एजुकेसन एण्ड रिचर्स (जेआईपीएमईआर)मा उच्च शिक्षा अध्ययरनत १५० भन्दा बढी डाक्टरहरु छन् । त्यसरी खटिनेमध्येमा पर्छन् दिल्लीस्थित एम्स्मा कम्युनिटी मेडिसिनमा एमडी गरिरहेका अर्घाखाँचीका डा. सागर पौडेल । नियमित ओपीडी र अपरेसन थियटर बन्द भएकाले नेपालीलगायतका सबै सिनियर रेजिडेन्ट र जुनियर रेजिडेन्ट चिकित्सकहरुलाई कोरोनाको विबरामीकै परीक्षण र उपचारमा खटाइएको पौडेलले बताए । ‘करिब एक सातादेखि सबै चिकित्सकलाई कोरोनाकै लागि तयारी अवस्थामा राखिएको छ । र, पालैपालो गरेर कहिले क्वोरन्टाइन, आइसोलेसन, वार्ड र आपत्कालीन कक्षमा खटाइएको छ,’ उनले भने ।
नेपालमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले भोगेको जस्तो सुरक्षासामग्री अभाव भने उनीहरुलाई छैन । एम्स् आफैमा सुविधासम्पन्न अस्पताल भएकाले उपचारमा लगाउने सुरक्षित स्वास्थ्य सामग्रीको अभाव नभएको पौडेलले बताए। ‘पीपीईलगायतका सामान छैन कि भनेर चिन्तित हुनुपर्ने अवस्था छैन,’ सागरले भने । एम्स्मा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरत ६५ भन्दा बढी नेपाली चिकित्सकहरु आफू जसरी नै खटिइएको उनले बताए ।
उता चण्डीगढको पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआईएमईआर) मा पनि सत्तरी नेपाली चिकित्सकहरु पनि विगत केही दिनदेखि कोरोना उपचारमा खटिएका छन् । सबैलाई चार/चार दिनमा पालो आउने गरी ड्युटी निर्धारण गरिएको छ । बीचमा तीन दिन बिदा हुन्छ । हालसम्म चण्डीगढ सहरमा सातजनामा कोरोना पुष्टि भएको छ । तीमध्ये दुईजना यस अस्पतालमा आएका थिए । जसमध्ये एक जना उपचारपछि निको भएर घर गइसकेका छन् । बिरामी धेरै नभए पनि चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पुरै तयारी अवस्थामा राखिएको छ । दिनहुँ जसो कोरोनाको परीक्षणका सन्दर्भमा नमुना अभ्यास गर्ने गरिएको छ । उपचारका बेला सुरक्षा सामग्रीको प्रयोग गर्ने सम्बन्धमा पनि दिनहुँजसो तालिम भइरहेको छ । मेडिसिन र एनेस्थिसिया विभागका चिकित्सकहरुलाई बढी संलग्न गराइएको छ । उनीहरुको बेग्लै टिम नै बनाइएको पीजीआईमा एनेस्थेसियामा एमडी अध्ययरनत् नेपाली चिकित्सक डा. प्रतिक चौधरीले बताए ।
राजविराज घर भएका चौधरीका अनुसार नेपाली चिकित्सकहरु ज्वरो नाप्नेदेखि, आइसोलेसन र आईसीयू सबैतिर खटिएका छन् । सुरक्षाका हिसाबले चिन्ता गर्नु पर्ने अवस्था नरहेको चौधरीको भनाइ छ । तर, चौधरीले पनि आफ्नै देशमा गर्न सेवा गर्न नपाएकोमा भने केही खल्लो भने लागेको चौधरीले बताए । ‘आफूले हासिल गरेको सीपलाई आफ्नै देशमा सेवा गरेर प्रयोग गर्न पाउँदा झन् राम्रो हुन्थ्यो,’ चौधरीले भने ।
पुण्डुचेरीको जवाहरलाल इन्स्टिच्युट अफ पोस्टग्राजुएट मेडिकल एजुकेसन एण्ड रिचर्स (जेआईपीएमईआर) मा एनेस्थेसिया र क्रिटिकल केयरमा एमडी अध्ययरनत छन् जनकपुरका डा. ललित झा । कोरोनाले गर्दा सामान्य ओटी र ओपीडी बन्द गरिएको हुँदा उनको ड्युटी पनि कोरोनाको बिरामी उपचारमै छ । पुण्डुचेरीमा पच्चीस जना नेपाली विद्यार्थीहरु अर्थो, एनेस्थेसिया, सर्जरी, इमर्जेन्सी मेडिसिन, गाइनो र हेमाटोलोजीलगायतका विषयमा पोस्टग्राजुएट अध्ययन गरिरहेका छन् । सबैलाई विषयअनुसार विभिन्न समूहमा बाँडेर तयारीमा अवस्थामा राखिएको छ । त्यसमा पनि आईसीयू, वार्ड र इमर्जेन्सी वार्डमा खटिने धेरै छन् । झाले आफूहरुले अन्य भारतीय चिकित्सकसरह नै ड्युटी गरिरहेको कान्तिपुरलाई बताए ।
सोही कलेजमा इम्युनो हेमाटोलोजी एण्ड ब्लड ट्रान्सफ्यूजनमा एमडी अध्ययनरत डा. प्रज्ञा सिलवालको पनि ड्युटीमा पनि पछिल्ला केही दिनमा यता कोरोनाकै विभागमै छ । अस्पतालमा कोरोनाको उपचारका लागि गरिएको पूर्वतयारीका कारण आफ्नो सुरक्षाको सवालमा उनी ढुक्क छिन् । साथै चिकित्सक र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका व्यवस्थाप्रति पनि उनी सन्तुष्ट छिन् । ‘सुरक्षा सामग्री त पर्याप्त छ नै त्यसका अतिरिक्त हरेक दिन सुरक्षाको विधि अवलम्बन गर्नका लागि बेग्लै भिडियोसमेत पठाउने गरिएको छ,’ उनले बताइन् । त्यसैगरी बिरामी आएको खण्डमा कतिजनालाई टेस्ट गर्न सकिन्छ ? कस्तो मानिसको हिस्ट्री कसरी लिने ? कहाँ राख्ने ? कसरी सुरु गर्ने ? भन्ने अन्यौल नहोस् भनेर पहिले नै प्रोटोकल तयार पारेर निकै प्रभावकारी ढंगले पूर्व तयारी गरिएकोसमेत उनले बताइन् । अहिलेसम्म कोही संक्रमित नआए पनि चिकित्सक र स्वास्थ्यकर्मीदेखि सबै तयारी अवस्थामा राखिएको उनले कान्तिपुरसँग भनिन् । ‘हामी सबै तयारीमा अवस्थामा छौं । कसैलाई पनि बिदा लिन दिइएको छैन।’ उनले बताइन् ।
यसरी निकै जोखिमपूर्ण मानिएको कोरोनाको उपचारमा संलग्न यी नेपाली चिकित्सकहरुलाई अहिले आफ्नो सुरक्षाभन्दा पनि नेपालको अवस्थाले बढी चिन्तित बनाएको छ । त्यसमाथि भारतमा कोरोनाको संक्रमण बढ्दै गएकाले घरका सदस्यहरुबाट आउने दबाब बेग्लै । ‘घरबाट चिन्ता देखाउनुहुन्छ । पेसा नै यस्तै हो भनेर सम्झाउँछौं । तर, नेपालमा के हो हुने भन्ने चाहिँ बढी चिन्ता लाग्न थालेको छ,’ एम्स्का डा. पौडेलले भने ।
विशेषगरी नेपालमा कोरोना परीक्षण र उपचार प्रबन्ध गर्न भइरहेको ढिलाइले स्थिति भयावह हुने हो कि भन्ने पीर लाग्ने गरेको डा. पौडेलले बताए । त्यसबाहेक नेपालीहरुले कोरोनालाई गम्भीरतापूर्वक नलिएको सुन्दा पनि यी नेपाली चिकित्सकहरुको मनमा चिसो पस्ने गरेको छ । ‘बाहिरबाट आएको हो भने आफै क्वारेन्टाइनमा बस्नुपर्छ । लकडाउनको पालना गरेर बाहिर भीडभाडमा नगएर घरमै सुरक्षित बस्नु नै कोरोनाबाट बच्ने एकमात्र उपाय हो’ उनले भने । डा. पौडेलले सामान्य रुघाखोकी लाग्दै अस्पताल जानु बढी जोखिम हुने भएकाले स्वास फेर्नै गाह्रो र ज्वरो बढ्दै गयो भने मात्र अस्पताल जानु उचित हुने सुझाव दिए ।
घरबाट आउने म्यासेज र फोनले भने मनोवैज्ञानिक दबाब सिर्जना गर्ने गरेको जेआईपीएमईआरका डा. झाको भनाइ छ । तर, पेसागत कर्तव्यका हिसाबले पनि ड्युटी जानुको विकल्प नभएको उनले बताए । ‘घरमा निकै डराउनु भएको छ, ड्युटीमा नजाउ भन्नुहुन्छ । तर, आफूलाई रोगका बारेमा थाहा भएको होला डर लागेको छ । मनोवैज्ञानिक दबाबचाहिँ पर्दोरहेछ,’ उनले भने ।
परिवारले आफ्नो बारेमा चिन्ता गर्ने गरे पनि आफूलाई भने नेपालको अवस्थाका बारेमा सुन्दा पनि बढी चिन्ता लाग्ने गरेको पीजीआईआर डा. चौधरीले बताए । कोरोनाको उपचारका लागि चाहिने न्यूनतम सुविधा पनि स्वास्थ्यकर्मीहरुलाई उपलब्ध नहुनु दुःखद भएको डा.चौधरीको भनाइ छ । ‘परिवारले चाहिँ मेरो चिन्ता गर्नुहुन्छ । यहाँको काम गर्ने वातावरण पुरै सुरक्षित छ । तर, जति सुन्दिन भने पनि पीपीई नपाएको, परीक्षण नभएको सुन्दा त्यसै पनि चिन्ता लाग्ने रहेछ,’ उनले भने । डा. झालाई पनि आफ्नो सुरक्षाभन्दा पनि नेपालकै चिन्ताले बढी पिरोलिरहेको छ । उनले नेपालमा स्वास्थ्यकर्मीहरुको सुरक्षाको विषयमा लापर्बाही भइरहेको भन्दै असन्तोष व्यक्त गरे । उनले नेपालमा कोरोना संक्रमण फैलन नदिनका लागि भइरहेका कमकारबाहीमा कमजोरी देखिनुका पछाडि पूर्वतयारी नहुनु र स्वास्थ्य क्षेत्रका सम्बन्धमा प्रस्ट नीति नहुनु रहेको बताए । ‘हामीहरु खुद्रे काममा मात्र अल्झिँदै आएका थियौं । कोरोना महामारी सुरु भएको तीन महिना भयो । तर, अहिले पनि प्रस्ट योजनासाथ अघि बढ्न सकिएको छैन । जहिल्यै पनि समस्या परेको बेलामा मात्र तात्ने अवस्था देखियो र अहिलेको हडबडी पूर्वतयारी नहुँदाको नतिजा हो,’ उनले भने । साथै झाले यस्तै अवस्था कायम रहिरहृयो भने कोरोना संक्रमण फैलिएको खण्डमा स्थिति भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।
त्यसैगरी डा. सिलवाललाई पनि बढी चिन्ता आफ्नो मातृभूमिकै छ । ‘सरकारको तयारी र जनचेतनामा पनि कमी भएको देख्दा चिन्ता लाग्दो रहेछ । यस्तो बेलामा घरमै गएर टोलछिमेकमा जनचेतना फैलाउन पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले भनिन् । जनचेतना बढाएर हुन्छ वा अन्य कुनै तरिकाले नेपालमा लकडाउनलाई थप कडाइका साथ लागू पर्ने उनको सुझाव छ ।
